बामदेवले कास्कीमा किन चुनाव नलड्ने घोषणा गरे ?

वर्दियामा जस्तै कास्कीमा पनि पार्टीभित्रै अन्र्तरघात गरी चुनाव हराउने योजना बनेको वुझेपछि पछि हटे वामदेव गौतम

सफल खबर संवाददाता

आइतबार, ०५ असोज २०७६, ०८ : २२
बामदेवले कास्कीमा किन चुनाव नलड्ने घोषणा गरे ?

काठमाडौं । कहिले निर्वाचित सांसदलाई राजीनामा गराएर उपचुनाव लड्ने योजना त कहिले पार्टी अध्यक्षद्वयले नै चुनाव लड्न गरेको आग्रहलाई समेत अस्वीकार । नेकपाका प्रस्तावित पार्टी उपाध्यक्ष तथा संगठन विभाग प्रमुख वामदेव गौतमको पछिल्लो समय वनेको परिचय हो यो । कहिले प्यूठान त कहिले बर्दिया गरेर नेता गौतमले आफ्नो खास निर्वाचन क्षेत्र पहिल्याउन नसकेको भन्दै गत प्रतिनिधिसभा चुनावमै स्थानीयले गौतमको चर्को आलोचना गरेका थिए ।

वाम गठनवन्धन (तत्कालीन समयमा एमाले र माओवादी केन्द्रको चुनावी गठवन्धन) ले देशभर चुनाव जितिरहँदा नेकपाका दुई शीर्ष नेता गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ भने चुनाव हारे । श्रेष्ठ पूर्वप्रधानमन्त्री डा बाबुराम भटटराईसँग चुनावमा पराजित हुनु स्वभाविक जस्तै देखिएपनि गौतम कँग्रेसका सन्जयकुमार गौतमसँग पराजित हुनु अस्वभाविक नै थियो ।

काग्रेससँग भन्दा बर्दिया १ मा वाम गठवन्धनसँग ३२ हजार वढी मत थियो । तर पनि गौतम चुनावमा झण्डै ६ सय मतले पराजित हुन पुगे ।

२०७४ को प्रतिनिधिसभा चुनावमा गौतम पराजित भए । यसलाई उनले पार्टीभित्रको अन्तर्घात ठानेका छन् । अन्तर्घातको शिकार आफू भएको भन्दै उनले तत्कालीन एमालेमा छानविनको माग समेत गरे । छानविनका लागि पार्टीले एउटा कार्यदल पनि बनायो । तर त्यसको ठोस नतिजा नआउँदै पार्टी एकता भयो । त्यसपछि यो विषय त्यत्तिकै सेलायो ।

यो बीच संसदमा आफ्नो उपस्थिति अनिवार्य भएको भन्दै कहिले डोल्पा, कहिले रुकुम पूर्व, कहिले प्यूठान त कहिले कताका सांसदलाई फकाएर राजीनामा गराउने र त्यसमा उपचुनाव गराएर आफू प्रतिनिधिसभा छिर्ने अनेक च्याखे दाउ खोजे बामदेवले ।

तर पनि उनी सफल भएनन् । डोल्पामा चुनाव लड्नका लागि उनले त्यहाँका निर्वाचित सांसद धनबहादुर बूढालाई पर्यटन राज्यमन्त्री बनाउने देखि जिल्लाका सुरक्षा प्रमुखसम्म आफ्नो नजिकका मान्छेलाई परिचालनको योजनासम्म बनाए । तर कतै उनी सफल देखिएनन् अर्थात जनस्तरबाटै उनको चर्को विरोध भयो ।

अन्ततः गौतमका लागि अस्वभाविक रुपमा काठमाडौं ७ का निर्वाचित सांसद रामवीर मानन्धरले ठाउँ खाली दिने गरी पार्टीमा राजीनामा नै बुझाई दिए । त्यसपछि गौतमको थप आलोचना पार्टीभित्र वाहिर दुवैतिर भयो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसम्मले उनको त्यो योजना भारतीय डिजाइनमा भएको भन्दै आलोचना गरे ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल ले त झन् गौतमको योजनाको सचिवालय वैठकदेखि वाहिर आफनो निकट मान्छे परिचालन नै गरेर धुवाँधार विरोध गर्न लगाए । त्यसपछि उनका लागि काठमाडौं ७ प्रत्युत्पादक वन्न पुग्यो । उनी चुनाव नलड्ने निर्णयमा पुगे ।

पार्टीभित्र वनेको नयाँ समीकरण पछि भने गौतमलाई पार्टी सांसद रवीन्द्र अधिकारीको रिक्त रहेको निर्वाचन क्षेत्र कास्की २ मा चुनाव लड्न स्वयम् प्रधानमन्त्री केपी ओलीले नै प्रस्ताव गरे । तर गौतम केही बोलेका थिएनन् ।

वरु उनले आफनो टीम परिचालन गरेर कास्की २ को वस्तुस्थिति वुझ्न पठाए । तर त्यस क्षेत्रमा पनि गौतमलाई पार्टीभित्रै अन्तर्घात हुने र चुनावमा पराजित गराउन सक्ने सम्भावना नै वढी देखिएपछि भने गौतम झस्किएका छन् । कास्कीमा चुनाव हानु भनेको नेकपाले एक सिट गुमाउने मात्र होइन, उनको राजनीतिक करिअरमै ठूलो धक्का लाग्ने थियो ।

त्यही वुझेर उनले कास्कीमा चुनाव लडनवाट पछि हट्ने योजना वनाए । शनिवारको सचिवालय बैठकमा उनले घोषणा नै गरिदिए , ‘म चुनाव लडिदिनँ, स्थानीय उम्मेदवारलाई नै टिकट दिऔं ।’ उपचुनावमा मरिहत्ते गर्ने गौतम आफै किन पछि हटे ? उनी निकट एक नेताले सफल खबरसँग भने, ‘वामदेवलाई कास्की लगेर पार्टीभित्रै पछार्ने योजना वनेको थियो, त्यो बुझेपछि उहाँ पछि हट्नुभयो ।

प्रतिक्रिया दिनुहोस