चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण : नेपालका लागि हात्ती आयो हात्ती आयो फुस्सा

सफल खबर संवाददाता

बुधबार, ०१ असोज २०७६, १६ : २६
चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण : नेपालका लागि हात्ती आयो हात्ती आयो फुस्सा

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमण नेपालका लागि हात्ती आयो हात्ती आयो फुस्सा भनेझैँ भएको छ ।

वाङको भ्रमणलाई लिएर ठूलै सम्झौता हुने र नेपालमा चिनियाँ लगानी थप वृद्धि हुने अर्थमा चर्चा गरिएको थियो । तर, वाङको भ्रमणमा क्रममा असाध्यै साना र न्यून विषयमा सरकारले सम्झौता गरेर लोक हँसाउने काम गरेको भन्दै आलोचना शुरु भएको छ । 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, सचिव शंकरदास बैरागीले भारतीयलाई बढ्ता च्यापेको र उत्तरी छिमेकीलाई खास चासो नदिएका कारण भ्रमण खल्लो भएको बताइन्छ । विदेशमन्त्रीको भ्रमणका क्रममा रु  ३५ करोड को अस्पताल र ५ हजार टेन्ट दिने जस्ता अति सामान्य विषयमा सम्झौता भएको छ ।

सरकारले चिनियाँ राष्ट्रपति सि जिङ पिङले अगाडि सारेको वान बेल्ट वान रोड परियोजना अर्थात बिआई अन्तर्गत विभिन्न ९ आयोजनामा चिनियाँ लगानी खोजेको छ । त्यसमा छलफल भएपनि कुनै विषयमा सहमति हुन सकेन । कारण, नेपालको आफ्नै कमजोर र फितलो तयारीले काम गरेको छ । 

आगामी महिना भारतमा आउन लागेका चिनियाँ राष्ट्रपतिले सोही समयमा नेपालको भ्रमण गर्ने तयारी स्वरुप नै वाङ नेपाल आएको चर्चा पनि गरिएको छ । तर चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्लान नै भन्ने अवस्था भने हालसम्म तयार भएको छैन । 

विदेशमन्त्री वाङले चन्द्रागिरीको भ्रमण र भक्तपुर दरबार स्क्वायरको भ्रमण समेत गरे । नेपालीको मन जित्ने प्रयास पनि गरे । तर सरकारले आफै गर्न सक्ने साना भन्दा सामान विषयमा चीन सरकारसँग हात थापेर  सानो चित्त देखाएको गुनासो पनि उत्तिकै बढेको छ ।

सरकारले चीनसँग कमसे कम केरुङ काठमाडौं रेलमार्ग, रसुवागढी काठमाडौं सडक मार्ग , व्यापार घाटा कम गर्ने उपाय लगायतका विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको थियो । ती विषयमा वाङसँगको द्विपक्षीय छलफलको क्रममा कुराकानी भएपनि कुनै निष्कर्ष भने निस्कन सकेको छैन ।

कोरला नाका खोल्ने र व्यवस्थित बनाउने विषयमा समेत छलफल हुने भनिएपनि सो विषयमा कुनै छलफल नै नभएको बताइन्छ । तातोपानी नाकालाई थप व्यवस्थित बनाएर नियमति गर्ने विषयमा समेत कुनै छलफल नै हुन नसकेको छलफलमा सहभागी नेपाली अधिकारीहरुले बताएका छन् । त्यस्तै नेपालले अगाडि सारेको केरुङ रसुवागढी गल्छी ४०० केभी प्रसारण लाइन निर्माणका विषयमा समेत कुनै छलफल नै नभएको बताइन्छ ।

मदन भण्डारी पोलिटेक्निकल इस्टिच्यूटका बारेमा समेत कुनै छलफल नै नभएको तथ्यहरुले पुष्टि गरेको छ । नेपालको आफ्नै तयारी नभएका कारण वाङको भ्रमणमा ३५ करोड र ५ हजार थान टेन्टमा सिमित भएको बताइन्छ । तर सरकारले भने सोही विषयलाई बढ्ता उपलब्धी भएको भन्दै प्रचार गराउने प्रयास गरेको छ । चिनियाँ राष्ट्रपतिको भ्रमण भएको खण्डमा ती विषयले प्राथमिकतामा पाउने विश्वास लिइएपनि सरकारको तयारी हेर्दा हालत उस्तै हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस