सार्वजनिक स्थानका बोर्ड हटाउन भरतपुर महानगरको अल्टिमेटम

उर्गेन तामाङ

सोमबार, ३० भदौ २०७६, १५ : ४२
सार्वजनिक स्थानका बोर्ड हटाउन भरतपुर महानगरको अल्टिमेटम

चितवन । भरतपुर महानगरपालिकाले सार्वजनिक स्थानमा राखिएको बोर्ड हटाउन एकहप्ते अल्टिमेटम दिएको छ । 

महानगरलाई स्मार्ट सिटी बनाउने अवधारणा अन्तर्गत सार्वजनिक स्थलमा रहेका विभिन्न संघसंस्थाका फ्लेक्स तथा होर्डिङ बोर्ड हटाउन सम्बन्धित पक्षलाई अल्टिमेटम दिएको महानगरका प्रवक्ता अरुणपीडित भण्डारीले बताए । 

विद्युतका पोल, टेलिकमको पोल, सरकारी कार्यालयको भित्ता, सडकका छेउ, रुख तथा सार्वजनिक स्थानका वालमा विभिन्न विज्ञापन बोर्डहरु रहेका छन् । विषेशगरी विभिन्न मेडिकल कलेज तथा अस्पताल, मेडिकल, कन्सलटेन्सी, मेनपावर, विद्यालय, कलेज तथा सामाजिक संघसंस्थाले सार्वजनिक स्थानमा आफूखुसी ठुला, साना विज्ञापनका बोर्डहरु जथाभावी राखेका छन् । 

महानगरको बोर्ड बैठकको निर्णय अनुसार साउनबाट यो अभियान सञ्चालन भए पनि अब भने कडाईका साथ कार्यान्वयनमा लगिएको प्रवक्ता भण्डारीले बताए । अहिले नगर प्रहरीलाई खटाउने, दैनिक विभिन्न समयमा माईकिङ गर्ने, सम्बन्धित पक्षलाई जानकारी गराउने, हटाउन लगाउने लगायतका विभिन्न कार्यहरु भइरहेको महानगरले जनाएको छ । 

आफूखुसी जथाभावी विभिन्न साईजका विज्ञापनका बोर्डहरु राखेर महानगरलाई कुरुप पारिएकोले अब सुन्दर रुप दिनको लागि यो कदम चालिएको महानगरको भनाइ छ । विज्ञापन गर्न चाहने व्यक्ति तथा संघसंस्थाले अब महानगरसँग अनुमति लिएर मात्रै सार्वजनिक स्थानमा बोर्ड राख्न पाउने भएका छन् । प्रकृया पूरा गरेर निश्चित साईज, स्थान र समयका लागि महानगरको अनुमति लिएर मात्रै विज्ञापनका बोर्डहरु राख्न महानगरले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

पछिल्लो सूचनालाई बेवास्ता गरी बोर्ड नहटाई अटेर गर्नेलाई कारबाही गरिने चेतावनी पनि दिइएको छ । बोर्ड नहटाउने तथा महानगरलाई विभिन्न बहानामा फोहोर गर्नेलाई न्युनतम ५ हजार रुपैयाँ र कसुर हेरी त्योभन्दा बढी जरिबानासहितको कार्बाही हुने महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदिले बताए । 

चौबीसकोठी, लायन्सचोक, पुलचोक लगायत महानगरका बढी चहलपहल हुने व्यस्त क्षेत्र विज्ञापनका बोर्डले भरिँदा बजारको सौन्दर्य बिग्रेको छ । सार्वजनिक स्थानहरु विज्ञापन गर्ने स्थानका रुपमा परिणत हुँदा कसले ठुलो, आकर्षक बोर्ड राख्ने भन्ने प्रतिस्पर्धा नै चल्ने गरेको छ । यसअघि महानगरले कुनै पनि बहानामा फोहोर गर्नेलाई कडा कारबाही गर्ने निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस