रवि लामिछाने समर्थकले उखेलेको खम्बा अब कस्ले गाड्ने ?

सडकको बार भत्काएर बहादुरी देखाउनेहरु हराए

उर्गेन तामाङ

आइतबार, २९ भदौ २०७६, १७ : ४०
रवि लामिछाने समर्थकले उखेलेको खम्बा अब कस्ले गाड्ने ?

चितवन । सञ्चारकर्मी रवि लामिछाने चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएको आज २० दिन पूरा भएको छ । 

पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा नाम मुछिएपछि रवि, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई गएको साउन ३० गते काठमाडौँबाट पक्राउ गरी अनुसन्धानका लागि चितवन ल्याइएको थियो । उनीहरुमध्ये रविलाई ५ लाख, युवराजलाई ३ लाख धरौटी र अस्मितालाई सादा तारेखमा भदौ ९ गते सोमबार छाडिएको थियो ।

जिल्ला अदालत चितवनबाट म्याद थप गर्दै प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा भरतपुरमा रविका समर्थकहरुले दैनिकजसो नाराबाजीसहित प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच दर्जनौँ पटक झडप समेत भएको थियो । 

ती झडपमा दर्जनौँ सेल अश्रुग्यास प्रहार भए भने प्रहरी र प्रदर्शनकारी गरी दर्जनौँ व्यक्ति घाइते पनि भए । रविसहितका ३ जनालाई अदालतले धरौटिमा रिहा गरेसँगै झडपका क्रममा पक्राउ परेका ३ दर्जनभन्दा बढी प्रदर्शनकारीलाई पनि प्रक्रिया पूरा गरी प्रहरीले छाडिसकेको छ । 

रविलाई चितवन ल्याएको भोलिपल्टबाट अस्तव्यस्त जस्तै बनेको भरतपुर रवि रिहा भएपछि शान्त बन्यो । तर त्यो बेला आक्रोशित प्रदर्शनकारीले गरेका तोडफोडको नतिजा भने भरतपुर आसपासका क्षेत्रमा अझै पनि देख्न सकिन्छ । 

भरतपुरबाट पश्चिमचितवनतर्फ जाने सडकको छेउमा सडक सुरक्षाका लागि गाडिएको सिमेन्टको खम्बा अहिले यत्रतत्र छरपस्ट देख्न सकिन्छ । चौबीसकोठीबाट सय मिटरको दुरीमा दर्जनौँ खम्बा कुनै छेउमा त कुनै भित्तामा लडेका छन् । सडकको छेउमा लस्करै रहेका उक्त खम्बा रवि समर्थकहरुले बाटो अवरोध गर्नलाई उखेलेर सडकमा तेस्र्याएका थिए ।

सडक सञ्चालन गर्ने क्रममा बाटोको बिचमा लडेको खम्बा छेउतिर पन्छाए पनि अहिलेसम्म कसैले गाड्ने चासो देखाएको छैन । छिनभरमा उखालेका ती संरचना अब कसले गाड्ला ? यो प्रश्न उक्त बाटोमा हिँड्ने हजारौँ यात्रुहरुको मनमा आउने गरेको छ । 

भरतपुर महानगरपालिका २२ का सुवास शर्माले जिज्ञासासहितको प्रश्न गर्दै भने, ‘रविका समर्थकले उखेलेका खम्बा अब कसले गाड्ने ?’ माडीका निमेश चौधरीले पनि एकैछिनको आक्रोसले देखाएको नराम्रो परिणामबारे दुःख व्यक्त गरे । उनले भने ‘जुनसुकै बहानामा जोसुकैले होस् यस्तो अराजकता कसैले गर्नु हुँदैन । लस्करै रहेका नयाँ खम्बा अहिले दाँत झरेको मुखजस्तो देखिन्छ । खै अब कसले कहिले गाड्ने हुन् ?’

प्रतिक्रिया दिनुहोस