कमसल निर्माण सामग्रीको प्रयोगले सुरक्षित छैनन् हाउजिङहरु

सफल खबर संवाददाता

बुधबार, २५ भदौ २०७६, १२ : ५१
कमसल निर्माण सामग्रीको प्रयोगले सुरक्षित छैनन् हाउजिङहरु

काठमाडौं । नाफाखोर मानसिकताको कारण कमसल निर्माण सामग्री प्रयोग गरेकै कारण काठमाडौँका केही हाउजिङ कम्पनीले निर्माण गरेका घर असुरक्षित रहेको पाइएको छ ।

सरकारी निकायको लापरवाही कारण काठमाडौं उपत्यकाभित्र निर्माण भएका केही हाउजिङहरु पूर्णरुपमा असुरक्षित रहेका हुन् । 

समस्याग्रस्त घोषणा मात्रै हुन बाँकी रहेको सिभिल होम्सका घरहरु समेत कमजोर निर्माण सामग्री प्रयोग भएका कारण असुरक्षित भएको रिपोर्ट आएको छ । उक्त रिपोर्ट आएको केही दिन बित्न नपाउँदै ग्रीनहिल सिटी मूलपानीमा निर्माणाधीन घर भत्कियो ।

सिभिल होम्सका प्रमुख समेत रहेका इच्छाराज तामाङले निर्माण गरेका अधिकांश हाउजिङमा कमजोर निर्माण सामग्री प्रयोग भएको र माटो परीक्षण समेत नगरेको पाइएको छ । 

सुधिर बस्नेतको हाउजिङ विगत लामो समयदेखि अलपत्र अवस्थामा रहेको छ । हजारौँ नागरिकको रकम लुटपाट गरेका बस्नेतले पुनः पैसा उठाएर घर बनाउने भन्दै षडयन्त्र शुरु गरेका छन् । 

काठमाडौं उपत्यकाभित्र एकाध तलामात्रै अग्ला भवन बनाउन मिल्ने भूधरातल रहेको छ । त्यसको मान्यता विपरीत गएर ठूला र अग्ला भवन बनाउने स्वीकृति दिइएको छ । शहरी विकास मन्त्रालयको कमजोर नियमन तथा पैसा लिएर जे जस्तो गर्न पनि दिइएको स्वीकृतिले हाउजिङको बसाई असुरक्षित बन्दै गएको छ । 

गत हप्ता वर्षाका कारण ग्रीनहिल सिटी भित्रको घर भत्किएको छ । घरपछाडि लगाइएको सियर वालमाथिको भागमा स्थानीयले बाटो बनाइदिनका लागि हाउजिङ कम्पनीलाई दबाब दिँदै आएको दाबी गरिएको छ । सोही बाटो निर्माणका लागि कम्पनीले केही दिनदेखि माटो खसाल्ने काम गरेको थियो । घरसँगै बनाइएको सियर वालपछाडिको भागमा थुपारेर राखिएको माटोको थुप्रो हुँदै पानीको भेल घरको जगभित्रैसम्म छिर्दा घरमा क्षति पुगेको बताइएको छ । सो हाउजिङले १०० वटा घर बनाइरहेको छ । ती सबै घर कमजोर रहेको जानकारहरुको भनाइ छ ।

पानीको भेल पसेर लडेको भनिएको घर ढल्दा पनि एक ढिक्का जस्तै नै रहेकाले यसमा प्रयोग भएको निर्माण सामग्री वा निर्माण गुणस्तरमा त्रुटिको सम्भावना देखिएको छ । घरले चर्चेको केही जमीन भिरालो रहेकाले जमीनको संरचना र माटोको स्तर नै घर लड्नुको कारण हुन सक्ने अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस