इन्द्रजात्राको लिंगो ठड्याइयो

मंगलबार, २४ भदौ २०७६, १२ : २१
इन्द्रजात्राको लिंगो ठड्याइयो

काठमाडौँ । इन्द्रजात्रा महोत्सव मनाउन हनुमानढोका दरबार परिसरमा कालभैरवको विशाल मूर्तिअगाडि मंगलबार इन्द्रध्वजासहितको लिंगो ठड्याइएको छ । अब राजधानीमा विभिन्न कार्यक्रमसहित एक सातासम्म इन्द्रजात्रा महोत्सव मनाइन्छ ।

करिब ३२ हातको लिंगोमा इन्द्रध्वजा राखी सांस्कृतिक बाजागाजा, बैन्डबाजा र पञ्चैबाजा बजाएर मंगलबार बिहान ९ बजेर १७ मिनेटको शुभ साइतमा लिंगो ठड्याइएको थियो । नेपालभाषामा ुयोसीुं भनिने उक्त लिंगोमा विभिन्न प्रकारका मंगल सूचक चिह्नहरू अंकित पताकाहरू झुन्ड्याइएको थियो । लिंगोको फेदीमा हात्ती चढेको इन्द्रको सानो प्रतिमा राखी पूजाअर्चना गरिएको थियो । लिंगो ठड्याएपछि सैनिकहरूले बन्दुक पड्काएर बढाइँ गरेका थिए । त्यसपछि गुरुजुको पल्टन, पञ्चैबाजा, बैन्डबाजा, मानन्धरहरूका क्वँचाः खीं बाजा मा मालश्रीको धुन बजाउँदै लिंगो परिक्रमा गरेका थिए ।

समारोहस्थलमा किलाघः टोलका ज्यापू समुदायले परम्परागत देवीनाच प्रस्तुत गरेको थियो । साथै, राजप्रतिनिधिका रूपमा राजखड्ग ल्याइएको थियो । लिंगो ठड्याएको हेर्न निकै संख्यामा विदेशी पर्यटकसमेत भेला भएका थिए ।राजधानीदेखि पूर्वमा पर्ने नाला भन्ज्याङको सल्लेरी वनबाट तानेर ल्याइएको उक्त लिंगोलाई बाजागाजासाथ तानेर त्यहाँ पुर्‍याइएको थियो । इन्द्रजात्राको अवसरमा लिंगो ठड्याउने परम्परा राजा सिंहप्रताप शाहलेचलाएका थिए ।


लिंगो ठड्याएको ठाउँसँगै रहेको इन्द्रपुरको मन्दिरको माथिल्लो तलामा सुनको इन्द्रेश्वर महादेवको मूर्ति र हनुमानढोका दरबारसँगै सुनको मोलम्मा लगाइएको श्वेत भैरव ‘सरभ मुख’को विशाल प्रतिमा पनि प्रदर्शनका लागि राखिएका थियो । साथै काष्ठमण्डप ‘मरुसत्तल’अगाडि अग्लो डबली बनाई त्यसमाथि खटमा इन्द्रको मूर्तिलाई डोरीले बाँधेर प्रदर्शनका लागि राखिएको थियो ।

इन्द्रजात्रा मनाउन कुमारीघर, मरुसत्तल, सिंल्यँ सत्तल, हनुमानढोका दरबार लगायत मन्दिरमा रङरोगन लगाई नयाँ झल्लर राखी सिंगारिएको छ ।इन्द्रचोकमा रहेको आकाश भैरवको मूर्तिलाई राति बाहिर खट बनाएर विभिन्न प्रकारका रंगीचंगी फूलले सिंगारेर राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस