घरबाटै हराएको दुई दिनपछि मृत फेला परेकी बालिकाको हत्या भएको परिवारको दाबी

उर्गेन तामाङ

शनिबार, २१ भदौ २०७६, १२ : ४७
घरबाटै हराएको दुई दिनपछि मृत फेला परेकी बालिकाको हत्या भएको परिवारको दाबी

चितवन । घरबाटै हराएको दुई दिनपछि मृत फेला परेकी ६ वर्षीया स्मृति कार्कीको हत्या भएको हुन सक्ने परिवारको दाबी रहेको छ । 

भरतपुर महानगरपालिका ५ कैलासनगरकी बालिका स्मृति कार्की घर छेउको नहरमा शनिबार बिहान मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

परिवारले बालिकाको हत्या भएको दाबी गर्दै शंका लागेका व्यक्तिविरुद्ध प्रहरीमा उजुरी दिएको बालिकाका काका निसान कार्कीले बताए । बालिकाको शव अहिले पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । ती बालिका कैलाशनगर माविको कक्षा १ मा अध्ययनरत थिइन् । बुबा बैदेशिक रोजगारीमा रहेको बताइएको छ । 

घटना रहस्यमय 
स्मृति भदौ १९ गते राति साढे ९ बजे घरबाटै हराएकी थिइन् । उक्त दिन घरमा ढलाईको काम भएकाले परिवारका केहि सदस्यहरु आँगनमा त केहि अर्को कोठामा सुत्नुपर्ने अवस्था थियो । रातिको खाना खाएर बाहिर निस्किएकी स्मिृति एकाएक सम्पर्कविहिन भएकी उनका काका निसानको भनाई छ । 
‘१९ गते राति पनि खोजियो, भोलिपल्ट २० गते पनि दिनभर घर वरपर, घर नजिकै रहेको नहरमा पानी सुकाएर खोजतलास गरे पनि फेला पार्न सकिएन’ उनले भने, ‘सोहि दिन राति बालिका हराएकै समय साढे नौ बजेतिर नयाँ नम्बरबाट बालिकाको ठुलोबुबाको मोबाइलमा फोन आयो । फोन गर्ने व्यक्तिले भन्दै थिए ‘तपाईहरुले फेसबुकमा हराएको भनेर राखेको फोटोको बालिका मैले मोरङमा देखेँ, एक जना वृद्धासँग हिँडिरहेकी थिइन्, ठेगाना, बुबाको नाम सबै सोधेँ, सबै मिल्यो ।’ 
त्यसपछि परिवारले प्रहरीलाई सम्पूर्ण जानकारी गराएको निसानले बताए । ‘आज बिहान जिल्ला प्रहरी कार्यालय चितवनलाई बुझ्दा मोरङबाट केहि जानकारी आएको छैन, आएपछि खबर गरौँला भने । त्यसपछि परिवारका सदस्यहरु केहि समयमा सम्पर्कमा नआए खोज्नलाई जाने सल्लाह भइरहेको समयमा बालिका नहरमा मृत फेला परेको अर्को खबर आयो’ उनले सुनाए । 
घट्नाक्रम हेर्दा कुनै पनि हालतमा आफै नडुबेको परिवारको दाबी छ । उनीहरुले हत्या भएको दाबी गर्दै शंकास्पद व्यक्तिविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । बालिकाको शव भरतपुर अस्पतालमा राखिएको छ ।

शंकास्पद व्यक्ति को हुन् ?
बालिकाका काका निसानका अनुसार घर वरपर एक अपरिचित व्यक्ति शंकास्पद अवस्थामा हिँडडुल गर्ने गरेका थिए । ‘उनी कहिले पसलमा सामान किन्न आउँथे, कहिले डिसकस गर्थे, शंकास्पद गतिविधि गर्थे’ उनले भने, ‘पसलमा उधारो सामान माग्दा नदिएपछि निक्कै रिसाएर गएका थिए । पछि फेरि पैसा दिएर सामान लिएर गए ।’ 
पछि बालिका हराएपछि पनि सो स्थानमा १ पटक देखा परेका थिए । उनले बालिका चाँडै भेटिने समेत बताएको परिवारको भनाई छ । ती व्यक्तिको वास्तविक परिचय थाहा नभए पनि फोटो भने खिचेर राखेको काका निसानले बताए । परिवारले ती व्यक्तिको फोटोसहित प्रहरीमा जाहेरी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस