बेमौसमी तरकारी लगाएर मनग्य आम्दानी

रासस

शुक्रबार, २० भदौ २०७६, १७ : ३२
बेमौसमी तरकारी लगाएर मनग्य आम्दानी

– मिमबहादुर रावल
मान्म ।
कर्णाली राजमार्ग आसपासमा बेमौसमी तरकारी लगाएर किसानहरुले मनग्य आम्दानी गर्ने गरेका छन् । कालिकोटको खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिका अन्तर्गतका कर्णाली राजमार्ग छेउछाउका ताडी, बद्रीगाउँ, दाँहा, पीलि, गाल्जे, खल्नागाड, धनेडा, भिग्म गाउँका किसानहरु बैमोसमी तरकारी खेती गर्न थालेका छन् । विगतमा परम्परागत खेतीबाट सामान्य आम्दानी लिने गरेका ती किसान अहिले तरकारी खेतीबाट चौगुना आम्दानी गर्छन् । 
बेमौसमी तरकारी खेती गरेर अहिले वर्षमा चार वटा बालीसम्म तरकारी खेती गर्ने गरेको तिलागुफा नगरपालिका वडा नं ६ जुबिथाका रिशमा शाहीले बताउनुभयो । उहाँका अनुसार त्यसबाट वर्षमा १ लाखदेखि २ लाखसम्म आम्दानी हुन्छ । “विगतमा परम्परागत बाली लगाउँदा आम्दानी सामान्य मात्रै हुन्थे,” उहाँले भन्नुभयो – “अहिले विगतमा भन्दा अहिले चौगुना आम्दानी लिन थालेका छौं ।”
कर्णाली राजमार्ग बनेपछि गाउँमा उत्पादन गरिएको तरकारी बजारीकरण गर्न सजिलो भएको छ । यद्यपि माग अनुसारको तरकारी उत्पादन गर्न नसकिएको सोही वडौ ६ का परेकबहादुर शाहीले बताउनुभयो । “कर्णाली राजमार्ग बनेपछि गाउँमा उत्पादन गरिएको तरकारीको बजारीकरणमा सहज भएको छ,” उहाँले भन्नुभयो – “मागअनुसारको तरकारी उत्पादन गर्न सकिएको छैन ।”
सामूहिक तरकारी खेतीमा किसानहरु
कर्णाली राजमार्ग बनेपछि किसानहरुले सामूहिक तरकारी खेती शुरु गरेका छन् । गाउँमा रहेको जग्गा भाडामा लिएर उनीहरुले समूह बनाई तरकारी गर्न थालेका हुन् । 
तिलागुफा नगरपालिकाका ठाउँ ठाउँमा स्थानीय गाउँलेहरु मिलेर कृषि समूह गठन गरेका छन् । कर्णाली राजमार्गमा पर्ने खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकाका विभिन्न गाउँहरुमा अहिले सामूहिक तरकारी खेती हुने गरेको छ ।
गाउँमा उत्पादन हुने तरकारीको बजारीकरण गर्न र गाउँका सबैको आम्दानी वृद्धि गर्न १३ जनाको समूह बनाई ५ लाखमा जग्गा भाडामा लिइएको तिलागुफा नगरपालिका वडा नं ५ खल्लाका सामूहिक तरकारी खेती समूहका अगुवा किसान विष्णुलाल रेग्मीले बताउनुभयो । “सबै गाउँलेको आम्दानी वृद्धि गर्न सामूहिक तरकारी खेतीको अभ्यास शुरु भएको छ,” उहाँले भन्नुभयो – “यसबाट सामूहिकताको भावना पनि विकास हुन्छ । सबैको आम्दानी पनि बढ्छ ।”
एउटै वडाबाट करोडौंको कारोबार 
तिलागुफा नगरपालिका वडा नं ६ जुबिथाका किसानहरुले एक वर्षमा तरकारी बेचेरै एक करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् । मार्सी धान फल्ने खेतहरुमा धान खेतीभन्दा तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि केही वर्ष अघिदेखि नै मार्सी धान लगाउने खेतहरुमा बैमौसमी तरकारी खेती गर्न थालिएको छ । 
विगतमा धानको खेती गर्दा एउटा खेतमा तीन बोरा मात्र धान फलाउन सकिन्थ्यो । अहिले तरकारी खेती गर्दा त्योभन्दा बढी नै आम्दानी हुन थालेको स्थानीय तरकारी किसान जनकबहादुर शाहीले बताउनुभयो । “विगतमा खेतमा धान रोप्दा दुई–तीन बोरा फल्थ्यो,” उहाँले भन्नुभयो – “अहिले त्यही खेतमा तरकारी खेती गर्दा एक लाखभन्दा बढी कमाइ हुन्छ ।”
तिलागुफा नगरपालिका वडा नं ६ को जुबिथा गाउँमा तरकारी खेती गरेर किसानहरुले १ करोडभन्दा बढी आम्दानी लिएको वडाध्यक्ष नेत्रबहादुर शाहीले बताउनुभयो । “यो आर्थिक वर्षमा किसानहरुले तरकारी खेतीबाट १ करोडभन्दा बढी आम्दानी लिएका छन्,” उहाँले भन्नुभयो – “यहाँका मानिसहरुको आम्दानीको पहिलो आधार तरकारी बनेको छ ।”
कर्णाली राजमार्ग आसपासका किसानहरुले तरकारी खेती गर्न थालेपछि उनीहरुलाई सहयोग गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरु पनि बढेका छन् । ती मध्ये प्रधानमन्त्री कृषि परियोजना, सेडा नेपालले विकास परियोजना केही संस्था हुन् । यी कार्यक्रमले किसानलाई प्राविधिक ज्ञान र विभिन्न प्रकार तालीम उपलब्ध गराउँछन् ।  सेडा नेपालका विकास परियोजना संयोजक प्रेमबहादुर फडेराले भन्नुभयो – “किसानहरुले तरकारी खेती गर्न थालेपछि अहिले सरकारी तथा गैरसरकारी संस्थाहरुले किसानका लागि प्राविधिक तथा बजारीकरणमा काम गरिहेका छन् । यसले किसानहरुलाई तरकारी खेती गर्न सहज बनाइदिएको छ ।”
तरकारी खेती गर्न थालेपछि सहयोगीहरु पनि बढेकाले  किसानहरु अहिले तरकारी खेतीप्रति आक्रर्षित हुँदै गएको स्थानीयस्तरमा काम गर्दै आउनुभएका कृषि प्रविधिज्ञ लोकजंग शाहीले बताउनुभयो । 
नगरपालिकालाई कृषि क्षेत्रमा अब्बल बनाउने तिलागुफा नगरपालिकाले अठोट लिएको छ । 
जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर नगरपालिकाले काम गर्दै आएको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताउनुभयो । “त्यही अनुसार नगर परिषद्बाट योजना तर्जुमा गरेका छौं,” उहाँले भन्नुभयो – “कृषि क्षेत्रलाई अगाडि बढाउने काम गरेका छौं ।”
खडेरी पर्ने क्षेत्रमा सिँचाइका लागि कुलो र खानेपानीका धाराको प्रबन्ध गर्ने कामलाई अगाडि बढाएको नगर प्रमुख शाहीले बताउनुभयो । उहाँले भन्नुभयो – “कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर खानेपानी, सडक लगायतका क्षेत्रमा तीव्र रुपमा काम अगाडि बढाइएको छ । त्यसका लागि साझेदार संस्थासँग मिलेर पनि काम गरिरहेका छौं ।”
उहाँका अनुसार अहिले नगरपालिकाले स्याउ जोन बनाउने  पनि कामलाई अगाडि बढाएको छ । “नगरपालिकाभित्रका सबैको बारीमा एक स्याउ बारी बनाउने नीति नगरपालिका छ,” उहाँले भन्नुभयो – “त्यसका लागि नगरपालिकाले नीतिगत निर्णय समेत गरिसकेको छ ।”
कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको किसानहरुलाई खाँडाचक्र नगरपालिकाले सहुलियतमा बीउ र बिरुवाका वितरण कार्यक्रमलाई अगाडि बढाएको नगरपालिका प्रमुख विजया बिष्टले बताउनुभयो । उहाँले भन्नुभयो – “हाम्रो पहिलो प्राथमिकता कृषि क्षेत्र नै हो । कृषिलाई आधुनिकीकरण गर्ने र किसानहरुलाई अर्गानिक खेतीतर्फ आकर्षित गर्ने विषयमा छलफल भइरहेको छ ।”

प्रतिक्रिया दिनुहोस