के छ  नेपाल टेलिकमको वित्तीय सूचकाङ्क र व्यवसायिक कार्यक्रम ?

सफल खबर संवाददाता

विहीबार, १२ भदौ २०७६, २१ : १४
के छ  नेपाल टेलिकमको वित्तीय सूचकाङ्क र व्यवसायिक कार्यक्रम ?

काठमाडौं । नेपाल टेलिकमले विभिन्न सेवाहरूमा गरी कम्पनीको हाल २ करोड २६ लाख हाराहारीमा ग्राहक रहेको जनाएको छ । 
कम्पनीले दूरसञ्चार क्षेत्रका लगभग सबै सेवाहरू प्रदान गरिरहेको जनाउँदै उक्त सेवाहरूको आधुनिकिकरण तथा अल्पकालीन एवम् दीर्घकालीन विकास र विस्तारमा उल्लेख्य रूपमा काम गर्दै आएको जनाएको छ । मोबाइल तर्फ फोरजी सेवा तथा तारसहित सेवातर्फ एफटिटिएच सेवाको विस्तारमा पनि कम्पनी प्राथमिकताका साथ काम गरिरहेको जनाइएको छ ।

यसै सन्दर्भमा कम्पनीले आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमासिक अवधिको अपरिस्कृत वित्तीय विवरणहरूमा कम्पनीका प्रमुख वित्तीय सूचकाङ्कहरूको अवस्थाबारे पनि जानकारी दिएको छ । 

कम्पनीको स्थानीय टेलिफोन सेवाको राजस्वमा कमी आउनुमा उक्त सेवाबाट वायरलेस सेवामा ग्राहक रुपान्तरण हुने क्रम बढेकोले तारसहित सेवाको प्रयोगमा कमी आउनु प्रमुख कारण रहेको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । 

तारसहितको ब्रोडव्याण्ड सेवा तर्फ एडिएसएल सेवाको रूपान्तरण गरी एफटिटिएच सेवा विस्तार गर्ने कार्यले हाल गति लिएकोले आगामी दिनहरूमा तारसहित सेवाको समष्टिगत राजस्व सुधार हुने अपेक्षा गरिएको छ । 

साथै नयाँ विस्तार हुने एफटिटिएच सेवामा परम्परागत टेलिफोन सेवाको साथसाथै इन्टरनेट एवम् टेलिभिजन सेवा पनि आइपि प्रविधि मार्फत प्रदान गरिने योजना रहेको हुँदा सोको विस्तारसँगै तारसहित सेवाको आम्दानी विविधिकरण तथा वृद्धि हुँदै जाने अपेक्षा गरिएको टेलिकमले जनाएको छ । 

उक्त अवधिमा कम्पनीको मुनाफा घट्नुमा मोबाइल सेवाको अनुमतिपत्र नविकरण बापत दोस्रो अवधि (२०७१–२०७६ सम्म) को दस्तुर रकम रू २० अर्ब मध्ये पहिलो किस्ताको रू ४ अर्बको खर्च तथा दूरसञ्चार सेवा प्रदायक कम्पनीको आयमा लाग्ने करको दर २५ प्रतिशतबाट ३० प्रतिशतमा वृद्धि हुनुको पनि अहम् भूमिका रहेको छ । 

त्यसैगरि इन्टरनेट प्रविधिमा आधारित ओटीटी सेवाहरूको व्यापक प्रयोगको कारण संसारभरका दुरसञ्चार सेवा प्रदायकहरूको अन्तर्राष्ट्रिय सेवाको भ्वाइस तर्फको आम्दानीमा नकारात्मक असर परेको छ । संसारभर देखिएको यस्तो परिस्थितिबाट नेपाल टेलिकमलाई पनि असर पर्नु स्वाभाविक भएको टेलिकमको भनाइ छ । 

यस परिप्रेक्ष्यमा संसारका अन्य सेवा प्रदायकहरुले जस्तै डाटा सेवा, भ्यालू एडेड सेवा तथा अन्य नवीन सेवाहरुको विकास र विस्तार मार्फत आय वृद्धि गरी अन्तर्राष्ट्रिय सेवाको आयमा आएको कमी पूर्ति गर्ने तर्फ कम्पनी निरन्तर प्रयासरत रहेको आगामी दिनहरूमा सो प्रयासलाई अझ तीब्र बनाउने टेलिकमको लक्ष्य छ । 
उक्त प्रयासहरूको फलस्वरूप भविष्यमा सो कमीलाई पूर्ति गर्दै परम्परागत अन्तर्राष्ट्रिय कलको भ्वाइस तर्फको राजस्वमा निर्भरता कम गर्दै लगिने बताइएको छ । 

अनुमतिपत्र नविकरण दस्तुर र कर समायोजनले गर्दा बढेको खर्च तथा प्रविधिगत रूपमा आएका चुनौतीका कारण आम्दानीमा कमी देखिएको भन्दै कम्पनीले अनुमतिपत्र दस्तुर सहित सरकारी कोषमा बुझाउने राजस्व अघिल्लो आर्थिक वर्षभन्दा करीव रू ४ अर्बले बढेको जनाएको छ । यसका अतिरिक्त मोबाइल सेवाको फोरजी प्रविधिमा स्तरोन्नति तथा स्थानीय टेलिफोन सेवाको एफटिटिएच प्रविधिमा रुपान्तरणको कामले पनि यसै वर्षदेखि मात्र गति लिएकोले कम्पनीको आम्दानीमा सोको असर चालू आर्थिक वर्षदेखि मात्र देखिन थाल्ने जनाइएको छ । 

फोरजी सेवाको देशैभर विस्तार गर्ने कार्यक्रम अनुसार सञ्चालित परियोजनामध्ये हालसम्म कोर उपकरणको जडान तथा परीक्षण सम्पन्न भैसकेको र रेडियो नेटवर्क तर्फको काम देशभरि नै द्रुत गतिमा अगाडि बढिरहेको टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । 

उनका अनुसार निकट भविष्यमा देशभर फोरजी सेवाको व्यावसायिक सञ्चालन गर्ने योजना अनुरुप कार्यहरू अगाडि बढिरहेका छन् । 

त्यसैगरि विद्यमान परिस्थितिमा पनि टेलिकमले आम्दानी र मुनाफा अभिवृद्धि गर्ने भन्दा आफ्ना देशभरका सेवाग्राहीलाई सुपथ मुल्यमा सेवा दिने जिम्मेवारीलाई बढी महत्व दिएको अधिकारीले बताए । विगतदेखि नै कम्पनीले आफ्ना सेवाहरू देशका अति विकट क्षेत्रहरूमा पनि समान दररेटमा उपलब्ध गराउँदै आएको छ । दुर्गम स्थानमा सेवा बिस्तार गर्दा लगानी अत्यन्त बढी हुने तर आम्दानी न्यूनतम हुने गर्दछ । तथापि कम्पनीले सार्वजनिक र उत्तरदायी संस्थाको हैसियतले देशका अति दुर्गम र विकट स्थानमा पनि सेवा पु¥याउन निरन्तर लगानी गर्दै आएको छ । यस्तो कार्यमा कम्पनीले आम्दानी र मुनाफा वृद्धिलाई मात्र सेवा विस्तारको आधार बनाएको छैन । 

कम्पनीको मोबाइल डाटा सेवाको महसुल देशमै न्यूनतम रहेको प्रवक्ता वैद्यको भनाई छ  । उनका अनुसार ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै कम्पनीले गत आर्थिक वर्षको शुरुदेखि नेपाल सरकारले लागू गरेको डाटा सेवाको नयाँ कर पद्धति अनुसार स्वाभाविक रूपमा डाटा सेवाको बजार मूल्य बढ्ने भए तापनि सेवाको विक्री मूल्य नबढाई साबिककै महसुल दर कायम गरेको छ । सोबाट पनि समग्र राजस्वमा 

केही असर परेको उनले बताइन्  । कर बढ्दा पनि विक्री मूल्य नबढाई कम्पनीले सुपथ मूल्यमा सेवा दिएको हो । 

कम्पनीको वित्तीय स्वास्थ्यलाई थप सुधार गर्न ताररहित तथा तारसहित सेवाहरुको आमूल रूपान्तरण सहितको विस्तार, नवीन भ्यालु एडेड सेवाहरू, रोमिङ्ग लगायत अन्तर्राष्ट्रिय सेवाहरुको आम्दानीमा सुधार, सेवाहरूको गुणस्तरमा सुधार लगायतका कार्यक्रमहरू मार्फत प्रति ग्राहक राजस्व वृद्धि समेतका प्रयासहरू शुरू भैसकेका छन् । 

सोही प्रयास स्वरूप गत आर्थिक वर्षभित्र कम्पनीको डाटा खपत १२१ प्रतिशतले, भ्वाइस सेवाको प्रयोग ४४ प्रतिशतले तथा सक्रिय प्रयोगकर्ता संख्या १० प्रतिशतले वृद्धि भएको छ । यसबाट कम्पनीले अवलम्बन गरेको व्यापार प्रवद्र्धन र सेवाको विविधिकरण योजनाहरू मार्फत आम्दानी वृद्धि गर्ने आधार तयार भएको छ ।

सो अनुरुप कम्पनीले चालू आर्थिक वर्षभित्र करीब १० प्रतिशतको आम्दानी तथा मुनाफा वृद्धिको लक्ष्य लिएको छ । आम्दानी वृद्धिका अतिरिक्त कम्पनीले हरेक वर्ष आफ्नो गैरसञ्चालन खर्च कटौति गर्दै लैजानको लागि पनि विभिन्न उपायहरू अवलम्बन गरेको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस