रवि लामिछानेविरुद्ध आत्महत्या दुरुत्साहनमा अभियोगपत्र दर्ता

आइतबार, ०८ भदौ २०७६, १४ : ३३
रवि लामिछानेविरुद्ध आत्महत्या दुरुत्साहनमा अभियोगपत्र दर्ता

चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई आत्महत्या दुरुत्साहनमा जिल्ला अदालतमा आज अभियोग पत्र दर्ता गरिएको छ ।  

जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरेपछि उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा सरकारी वकिलको कार्यालयले अभियोग पत्र दर्ता गरेको हो । 

अभियोग पत्रमा मुलुकी अपराध संहिता २०७४ को दफा १८५ अनुसार सजाय माग दाबी गरिएको छ । उक्त दफामा आत्महत्या गर्न दुरुत्साहन दिन नहुने भनी दुई वटा उपदफा रहेका छन् । पहिलो उपदफामा भनिएको छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन ।’

मुलुकी अपराध संहिताको दफा १८५ उपदफा २ मा भनिएको छ, ‘उपदफा १ बमोजिमको कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’

साउन २० गते चितवनको एक होटलमा आत्महत्या गरेका पुडासैनीको मृत्युअघि रेकर्ड भएको भिडियोमा उनले आफूलाई न्युज २४ टेलिभिजनको सीधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता लामिछाने, उक्त कार्यक्रमका उत्पादक युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो । उनीहरुलाई १० दिनसम्म थुनामा राखेर अनुसन्धान गरेपछि प्रहरीले आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउन राय दिएको उक्त घटना अनुसन्धानमा जिल्ला प्रहरी कार्यालयलाई सहयोग गरेको केन्द्रीय अनुसन्धान व्यूरो ‘सीआईबी’का डीएसपी दीपक रेग्मीले जानकारी दिए ।

दस दिनअघि काठमाडौँबाट पक्राउ परेका लामिछाने, कँडेल र कार्कीलाई चितवन जिल्ला अदालतले सुरुमा पाँच दिन र त्यसपछि गत मंगलबार पुनः पाँच दिनको म्याद थप गरेको थियो । गत मंगलबार रवि लामिछाने र गत सोमबार युवराज कँडेल एवं अस्मिता कार्की रुकुको बयान लिइएको थियो । 

गएको साउन २० गते नारायणगढमा रहेको होटल कंगारुमा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । पत्रकार पुुडासैनीले मर्नुअघि आफ्नै आवाजमा रेकर्ड गरेको सुसाइट भिडियो नोटमा रवि, युवराज र अस्मिताको नाम लिएपछि उनीहरु पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस