सरकारले गरेका सबै निर्णय वैधानिक : मन्त्री विश्वकर्मा

मंगलबार, १६ माघ २०७४, १९ : ३५
सरकारले गरेका सबै निर्णय वैधानिक : मन्त्री विश्वकर्मा

फलेवास । वाणिज्य मन्त्री मीन विश्वकर्माले सरकारमा बसेर गरेका सबै निर्णय वैधानिक भएको दाबी गर्नुभएको छ । 

पर्वतको कुस्माबजारमा सञ्चालित शहीद स्मारक आवासीय माविले शहीद दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले अन्य दल सरकारमा हुँदा गरेका निर्णय वैधानिक हुने तर नेपाली काँग्रेसको सरकारले गरेका निर्णय अवैधानिक हुने भन्ने तर्क हास्यास्पद हुने दाबी गर्नुभयो । 

प्रतिनिधिसभा निर्वाचनमा बहुमत हासिल गरेको एमालेलगायतका दलले सरकारले पछिल्लो समय गरेका निर्णय अवैधानिक भएको र खारेज गर्ने बताइरहेका बेला मन्त्री विश्वकर्माले सरकारको निर्णयको बचाउसमेत गर्नुभएको थियो । 

वाणिज्य मन्त्री विश्वकर्माले भन्नुभयो, “सिंहदरबारमा बसेर सरकारले गरेका सबै निर्णय वैधानिक हुन् ।” उहाँले सरकार छाडेर हिँडेपछि निर्णय गरेको भए मात्रै अवैधानिक हुने जिकिर गर्नुभयो । 


पछिल्लो चुनावमा पनि नेपाली काँग्रेसले लोकप्रिय मत पाएको दाबी गर्दै उहाँले आफू मन्त्री भएपछि वाणिज्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने खालका धेरै दूरगामी निर्णयसमेत गरेको दाबी गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस