काठमाडौं । एकीकृत जनक्रान्तिको अस्पष्ट कार्यदिशाका साथ भूमिगत राजनीति गरिरहेका नेत्रविक्रम चन्दलाई उनकै पार्टीभित्र वार्ताको दबाब पर्न थालेको छ । पार्टी नेताहरुले वार्ताका लागि अनौपचारिक वार्ताको पहल लिएको तर सरकारले वार्ताका नाममा दमन नीति लिएको भन्दै वार्तालाई स्वीकार गर्न नसकिरहेका विप्लवलाई फेरि पार्टीभित्रै वार्ताको दबाब पर्न थालेको छ ।
उनले पार्टी केन्द्रीय समिति सम्मलाई सुद्धिकरण गर्ने नाममा वार्ता पक्षधर नेताहरुलाई पाखा लगाउन खोजेपनि थप केन्द्रीय नेताहरु नै वार्ताका लागि खुल्न थालेका छन् । पार्टीले लिएको राजनीतिक कार्यदिशा नै अस्पष्ट हुदै गएको, कार्यदिशाले सबै पक्षलाई समेटेर जनआन्दोलनमा जोड दिएपनि नेताहरुले नै क्रमशः गतिविधिलाई छापामार युद्धतिर लिएर जान खोजेको भन्दै विप्लव पार्टीभित्र तिव्र बहस सुरु हुन थालेको छ ।
त्यही क्रममा जेलमा रहेका केही नेताहरुले समेत विप्लवलाई पार्टी कार्यादिशामा प्रष्टता ल्याउन र सरकारसँग वार्तामा बस्न दबाब बढाउन थालेका छन् । सरकारले चन्दको पार्टीलाई प्रतिबन्ध लगाएसँगै गत चैत १ गते ललितपुरबाट पक्राउ परेका विप्लवका तत्कालिन अवस्थाका पोलिटब्यूरो सदस्य तथा अहिलेका केन्द्रीय सदस्य मोहन कार्की (जीवन्त) ले वार्तामा बस्न विप्लवलाई आग्रह गरेका छन् ।
महानगरिय प्रहरी परीसर टेकुमा रहेका जीवन्तले सरकार र आफ्नो पार्टीबीच वार्ताको विकल्प नभएको भन्दै दुवै पक्षलाई वार्तामा बस्न आग्रह गरेका छन् । देश द्वन्द्वमा जाँदा कसैलाई फाइदा नपुग्ने भएकाले शान्तिपूर्ण रुपमै समस्याको समाधान खोजिनुपर्नेमा उनले जोड दिँदै वार्ता र सम्वादमार्फत नै समस्या समाधानमा जुट्न पार्टी नेतृत्वलाई पनि आग्रह गरेका छन् ।
जिवन्तले जस्तै पार्टीभित्र दुई महिना अगाडी तत्कालिन पोलिटब्यूरो सदस्य पदम राईले वार्ताका लागि नेतृत्वमाथी दबाब बढाएका थिए । तर त्यसबेला उनलाई प्रतिबन्धित नेकपाले निलम्बन ग¥यो । उनले पनि कार्यदिशा छापामार युद्ध हो की शहरीया आन्दोलन भन्नेमा प्रष्टता खोज्दै वार्तामा जोड गरेका थिए । त्यसपछि राई कारबाहीमा परे । अहिले उनी सरकारको नेतृत्व गरिरहेको नेकपामा प्रवेश गरिसकेका छन् ।
जिवन्तको पनि अहिले राईकै जस्तो गरी धारणा आएको छ । उनले आफू वार्ताको पक्षमा रहेको र वार्ताकै लागि विभिन्न सम्पर्क सूत्रमार्फत प्रयास गर्दैगर्दा पक्राउ परेको बताउँदै भने, –‘वार्ताका लागि राज्य गम्भीर हुनुपर्छ ।’
पार्टीको राजनीतिक कार्यदिशा एकीकृत जनक्रान्ति भएको र छापामार युद्ध नरहेको जिकिर गर्दै उनले भने, –‘एकीकृत जनक्रान्ति भनेको किसान, मजदूर, मध्यमवर्ग र राष्ट्रिय पूँजीपति वर्गलाई एकीकृत ढङ्गले अगाडि बढाउने र जनआन्दोलन सञ्चालन गर्ने हो, कतिपय साथीहरुले त्यसलाई नबुझेर छापामार युद्धतिर लैजाने प्रयत्न गरिराख्नुभएको छ ।’
जिवन्तले आफूले विप्लवलाई समेत पार्टीमा केही कुराहरु सच्याउन र कार्यदिशाअनुसार शहरका मध्यम वर्गको साथ लिएर जनतालाई राहत दिने तथा राष्ट्रिय जागरण फैलाउने अभियान चलाउन सुझाव राखेको बताए ।
विप्लवको पार्टीमा एक पछि अर्काे नेताहरु वार्ताका पक्षमा खुल्न थालेपछि विप्लव थप अप्ठ्यारोमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ साउन २०७६, ०९ : १०
लेखकबाट थप