नेकपाभित्र उठ्यो ‘आलोपालो’ अध्यक्षताको बहस

सफल खबर संवाददाता

शुक्रबार, १७ साउन २०७६, ०८ : २५
नेकपाभित्र उठ्यो ‘आलोपालो’ अध्यक्षताको बहस

काठमाडौं । सत्तारुढ दल नेकपामा दुई जना अध्यक्ष छन् – प्रधानमन्त्री केपी ओली र पूर्व प्रधानमन्त्री प्रचण्ड । पार्टी एकताका क्रममा दुवै पार्टीलाई अपमानित महसुस नहोस् भन्ने उदेश्यले पार्टीमा दुई जना अध्यक्ष रह्ने विद्यानमै ब्यवस्था गरिएको थियो । एकताका क्रममा पार्टीभित्र जोर पाइलटका रुपमा पार्टी अगाडी बढाउने उद्घोष पनि दुवै अध्यक्षले गरेका थिए । पार्टी विद्यानमा दुवै अध्यक्ष (ओली–प्रचण्ड) को अधिकार समान हैसियतको बनाउँदै बैठकको अध्यक्षता आलोपालो गर्ने उल्लेख थियो ।

तर पार्टी एकताको १५ महिना बित्दासम्म प्रधानमन्त्री समेत रहेका ओलीले प्रचण्डलाई पार्टी बैठकको अध्यक्षता गर्न दिएका छैनन् । अहिले नेकपाभित्र ओलीको यो धुर्तयाईको विरोध हुन थालेको छ । प्रचण्डलाई पनि आफ्नो विधानको ब्यवस्था अनसारको अधिकार लिन नछोड्न नेताहरुको प्रेसर बढ्न थालेको छ ।

प्रचण्ड यतिबेला स–परिवार यूएईमा छन् । प्रधानमन्त्री ओली पनि भोलि वुधबार सिंगापुर जाँदैछन् । यही बीच नेकपाका प्रभावशाली नेताहरुले नै विद्यानको ब्यवस्था अनुसार प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डका बीचमा बैठकको अध्यक्षता आलोपालो गर्ने गरी प्रचण्डलाई बैठकको अध्यक्षता गर्न दिनुपर्ने वहस उठाउन थालेका छन् ।

केही समय अगाडी सचिवालय सदस्य बामदेव गौतमले नै एक टेलिभिजनसँगको अन्र्तवार्तामा आफुहरुले समान अधिकार भएको दुई अध्यक्ष बनाएपनि प्रचण्डले समान हैसियतमा अधिकारको प्रयोग गर्न नपाएको बताएका थिए ।

‘ओली र प्रचण्ड दुवैलाई हामीले एकता गर्दा समान हैसियतका अध्यक्ष बनाएका हौं । तर प्रधानमन्त्री मुख्य नेता र प्रचण्ड सहयोगी जस्तो मात्र देखिनुभयो, यो विद्यानको ब्यवस्था होइन । विद्यानको ब्यवस्था अनुसारको आफ्नो अधिकार प्रचण्डजीले खोज्नुपर्छ,’ नेता गौतमले कान्तिपुर टेलिभिजनको ‘फायरसाइड’ कार्यक्रममा बोलेका थिए ।

त्यसपछि फेरि अहिले स्थायी समितिकै सदस्यहरुले प्रधानमन्त्रीले पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई ओलीले अध्यक्ष नै नस्वीकारेको जस्तो देखिएको भन्दै विद्यानको ब्यवस्था अनुसारको आलोपालो बैठकको अध्यक्षता गर्नुपर्ने बहस अगाडी सार्न थालेका छन् ।

यस्तै बहस चलाउन खोज्ने नेता हुन, –‘नेकपाका स्थायी समिति सदस्य हरिवोल गजुरेल (शित्तलकुमार) । उनले सार्वजनिक सञ्चारमाध्यमबाटै प्रधानमन्त्री ओलीले प्रचण्डलाई अध्यक्ष अझै नस्विकारेको जस्तो देखिएको भन्दै यस्तो अवस्थाले पार्टी एकतामै विश्वासको खडेरी पर्ने बताउन थालेका छन् ।

गजुरेलले एक सञ्चारमाध्यमलाई दिएको अन्र्तवार्तामा भनेका छन्, –‘पार्टी एकतापछि प्रचण्डलाई ह्युमिलेट (अपमानित) महसुस भयो । बैठकको अध्यक्षता आलोपालो गर्ने भन्ने थियो । तर, ओलीले कहिल्यै बैठकको अध्यक्षता गर्न दिनुभएन ।’

गजुरेलले पार्टी एकताको मर्म दुवै अध्यक्ष (ओली, प्रचण्ड) भूमिका बराबरी होस् भनेर दुईजना अध्यक्षको व्यवस्था गरेको बताए । एजेण्डाको हिसाबले पूर्वमाओवादीको नेतृत्व, जनमतका हिसाबले पूर्वएमालेको नेतृत्व हुने गरी दुईजना अध्यक्ष राख्नुको अर्थ लाई परिभाषित गरिएपनि कार्यान्वयनका जाँदा त्यस्तो नदेखिएको र ओलीले प्रचण्डलाई अध्यक्ष नै नस्वीकारेको जस्तो देखिएको गजुरेलको भनाई छ ।

‘प्रचण्डलाई ‘यसपाली अध्यक्ष तपाईंले गर्नुहोस् न’ भनेको सुनेनौँ । लगातार आफैँले गर्दै आउनुभयो । अध्यक्षबीचमा जुन अनौपचारिक सहमति (आलोपालो बैठकको अध्यक्षता गर्ने) भएको थियो, त्यो पालना नहुँदा प्रचण्डलाई बेवास्तामा परेको अनुभूति भयो । एककिसिमले भन्ने हो भने प्रचण्डको भूमिका सह–अध्यक्षकोजस्तो मात्रै देखियो । यो एकताको मर्म विपरित भयो ।’ गजुरेलले भने, –‘ त्यसले प्रचण्डको मनमा चिसो पस्नु स्वभाविकै भयो । सरकारका निर्णय प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले एकल ढङ्गले अघि बढाउने । सरकारका काम–कारबाहीमा सरसल्लाह नगर्ने । यसबीचमा सरकारले कयौँ निर्णय गरेका छन् । नियुक्ति दिएको छ । प्रधानमन्त्रीले सघीयताको, संविधानको भावना प्रतिकूल हुनेगरी अधिकारको केन्द्रीकरण गर्दै जानुभएको छ । धेरै कार्यालय आफूमातहत ल्याउनुभएको छ । पार्टीभित्र विशेषतः अध्यक्ष प्रचण्डसँग कहाँ सल्लाह भएको छ त ? त्यसले विश्वासमाथि सङ्कट पैदा गदै लगेको छ ।’

गजुरेलले यो विषयमा पार्टी बैठकमा छलफलको एजेण्डा नै बन्नुपर्ने धारणा पनि राखे । पार्टीमा ओलीले कुनै न कुनै बाहनाबाजी वनाएर मतभेद देखाएर बार्गेनिङ मात्र गर्दै आएको पनि धारणा राखेका छन् ।

पार्टी विधानको ब्यवस्थालाई स्वीकार गर्ने, एकताका क्रममा दुई अध्यक्षका बीचमा भएका लिखित अलिखित समझदारीहरुको कार्यान्वयन गर्ने र विश्वासको वातावरण बनाएर नजाने हो भने पार्टी एकता अगाडी बढ्न मुश्किल पर्न सक्ने पनि गजुरेलको तर्क छ । एकताको सन्र्दभको गम्भीर समिक्षा गर्नुपर्ने भन्दै उनी भन्छन्,–‘हिजो जे आधारमा एकता भयो, गरियो, त्यो आधार आधार पूर्ववत् अवस्थामा छैन । खलबलिइसकेको छ । खलबलिएको जग बनाउनुपर्ने छ । जग मर्मत गर्न नयाँ शिराबाट छलफल गर्नुपर्छ । अबको आवश्यकता यो हो । नत्र एकता अघि बढ्न मुस्किल हुन्छ ।’ नेताहरु बामदेव गौतम, हरिबोल गजुरेल लगायत नेता मात्र होइन, पार्टीभित्रका अन्य प्रभावशाली नेताहरुले पनि अध्यक्ष ओलीको कार्यशैलीमाथी प्रश्न उठाउन थालेका छन् । पार्टी बैठकको अध्यक्षता आलोपालोमा छोड्न ओलीमाथी प्रचण्डले दबाब बढाउनु पर्ने धारणा राख्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस