खानेपानी मन्त्रीद्वारा बिजुली र इन्धन बिना पानी तान्ने पम्पको निरीक्षण

सफल खबर संवाददाता

विहीबार, १६ साउन २०७६, १७ : ४०
खानेपानी मन्त्रीद्वारा बिजुली र इन्धन बिना पानी तान्ने पम्पको निरीक्षण

ललितपुर । खानेपानी मन्त्री बिना मगरले बिजुली र डिजेलको प्रयोग नगरी खोलानाला नदीको पानी तानेर सिंचाई तथा खानेपानीका लागि प्रयोग गर्न सकिने प्रविधिको निरीक्षण गर्नुभएको छ । 

ललितपुरको गोदावरी नगरपालिका अन्तर्गत ठैब र गोदावरीस्थित उक्त प्रविधिको अवलोकन मन्त्री मगरले बिहीबार गर्नुभयो । नेशनल एग्रिकल्चर एण्ड फरेष्ट्री प्रा.लि.ले पम्पको माध्यमबाट विना बिजुली र इन्धन पानी तान्ने पम्प प्रविधि नेपालमा भित्र्याएको हो । 

कम्पनीका प्रबन्ध निर्देशक गौतम महर्जनले यस्तो प्रविधि नेदरल्याण्डबाट आयात गरिएको जानकारी दिनुभयो । नेपालका विभिन्न पहाडी इलाकामा यस प्रविधिको माध्यमबाट पानी तानेर गाउँबस्तीमा सिंचाइ र पिउनका लागि सहज बनाइएको प्रबन्ध निर्देशक महर्जनले बताउनुभयो । कम्पनीले वर्षा र पापा पम्प नामाकरण गरी प्रविधिको प्रयोग गरिरहेको छ । 

‘यो पम्पबाट पानी तान्न बिजुली र डिजेल चाहिंदैन । यो पानीको प्रेसरबाट नै चल्ने पम्प हो ।’, महर्जनले भन्नुभयो, ‘विशेष गरी पहाडी एरियामा तल खोलाबाट पानी तानेर माथि गाउँबस्तीमा पु-याउन यो प्रविधि निकै सहयोगी हुने गर्दछ । वर्षा पम्पले विना बिजुली र इन्धन बगेको पानीको प्रवाहबाट पम्पलाई घुमाइ नदी, खोला वा नहरको पानीलाई २० मिटर ठाडो र २ किलोमिटर दूरीमा फाल्ने काम गर्छ ।’

पम्पबाट पहाडतिर घट्ट चलाएजस्तो पम्प चलाएर ५० मिटर देखि १ सय ५० मिटर ठाडो उचाइमा पानी तान्न सकिने महर्जनले जानकारी दिनुभयो । यस पम्पबाट पानी तानेर सिंचाई र माछा पालन गर्न सकिने उहाँको भनाई छ । महर्जनले यो सबैभन्दा सस्तो प्रविधि भएको दाबी गर्नुभयो । 
अवलोकन पछि खानेपानी मन्त्री मगरले यस किसिमको प्रविधि नेपालको हरेक गाउँ बस्तीमा निकै उपयोगी हुने बताउनुभयो । यस किसिमको नयाँ नयाँ प्रविधिको प्रबद्र्धनमा सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो । निरीक्षणमा खानेपानी मन्त्री मगरसँगै खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दास र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिका कार्यकारी निर्देशक लिलाप्रसाद ढकाल पनि सहभागी हुनुहुन्थ्यो ।      

प्रतिक्रिया दिनुहोस