मन्त्री योगेश भट्टराईको दिनगन्ती सुरु, केके बनाउँदै छन् योजना ?

सफल खबर संवाददाता

विहीबार, १६ साउन २०७६, १७ : २२
मन्त्री योगेश भट्टराईको दिनगन्ती सुरु, केके बनाउँदै छन् योजना ?

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको दिनगन्ती सुरु भएको छ । मन्त्री भएको दोस्रो दिन भट्टराईले आफ्नो परीक्षा सुरु भएको प्रतिक्रिया दिएका थिए । उनले दोस्रो दिन पेरिस डाँडा पुगेर शहीदहरु प्रति श्रद्धान्जली ब्यक्त गरेका छन्।

मन्त्री नियुक्त भएको दोस्रो दिन भट्टराईले तत्कालीन नेकपा माओवादी केन्द्रको मुख्यालय रहेको पेरिसडाँडा पुगेर जनयुद्ध र जनआन्दोलनका शहीदहरुको सम्झनामा निर्माण गरिएको स्मारकमा माल्यापर्ण गरेका छन् । पेरिस डाँडामा तत्कालीन माओवादीले शहीद तथा बेपत्ता व्यक्तिको स्मरणमा  श्रद्धान्जली ब्यक्त गरेका हुन्।

मन्त्री भट्टराईले पेरिसडाँडा पुग्नुअघि बिहान तत्कालीन नेकपा एमालेको पुरानो पार्टी कार्यालय रहेको मदननगर बल्खु पुगेर मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेका थिए।

यसैबीच नवनियुक्त मन्त्री भट्टराईले आफूले काम गर्न नसके मन्त्री पदमा टाँसिएर नबसी तत्काल राजीनामा दिएर आफू पछि हट्ने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले काम गर्न नसकेको महसुस गर्नासाथ राजिनामा दिने अरुको लागि बाटो खुला गरिदिने बताए । 

उनले भने, ‘मैले प्रधानमन्त्रीज्यूलाई भनेको छु। केही दिनभित्र म गर्छु। सबभन्दा मेरो ठूलो करार सम्झौता यही हुन्छ । जुन दिन मैले काम गर्न सकिन अथवा म असफल भएँ। वा मैले काम अगाडि बढाउन सकिन भन्ने प्रधानमन्त्रीलाई महसुस भयो भने त्यो दिन प्रधानमन्त्रीले मलाई भन्नुहुनेछ, म पछाडि हट्छु ।’

मन्त्री भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अवरोधहरुलाई सबै राजनीतिक दलसँग सहमति जुटाएर सबै सम्बन्धित निकायसँग समन्वय गरी क्यालेण्डर वर्कको रुपमा अगाडि बढाउने बताए। उनले केही दिन भित्र आफुले गर्ने कामहरुको प्रतिवद्धता सार्वजनिक गर्ने बताए । उनले नेपाललाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने आफ्नो लक्ष्य भएको बताए।

उनले आफ्नो निगरानी गर्नसमेत मिडियालाई आग्रह गरेका थिए ।  मन्त्रालयमा भएका विकृति विसंगतीलाई केलाउँदै अगाडि बढ्ने आफ्नो काम भएको उनको भनाइ थियो। नवनियुक्त मन्त्री भट्टराईले हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारीका अधुरा काम पूरा गर्ने प्रतिबद्धता जनाए । 

‘मैले पदभार ग्रहण गर्दा मैले उहाँ रवीन्द्र अधिकारीलाई सम्झेको छु। त्यो मन्त्रालयमा उहाँले त्यहाँका कामहरु अगाडि बढाउनु भयो। त्यसलाई नयाँ उचाइ दिने जिम्मेवारी मेरो काँधमा आएको छ’ उनले भने, ‘प्रधानमन्त्रीले विश्वास गरेर मलाई यो ठाउँ दिनुभएको छ। त्यसलाई कुठाराघात हुन नदिनु मेरो दायित्व हो।’

पाँच महिना मन्त्रालय खाली जस्तो अवस्थामा रहेको भन्दै उनले यसबीचमा रोकिएर रहेका मन्त्रालयका कामहरुलाई द्रुत गतिमा अगाडि बढाउने बताए। भ्रमण वर्ष २०२० लाई सफल बनाउन तथा गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थललाई भ्रमण वर्षलाई नै लक्षित गरी सन्चालन गरिने मन्त्री भट्टराईले बताए।

प्रतिक्रिया दिनुहोस