असी नाघेका वृद्धवृद्धालाई लौरी र कम्बल उपहार

सोमबार, १३ साउन २०७६, ११ : १९
असी नाघेका वृद्धवृद्धालाई लौरी र कम्बल उपहार

पर्वत । पर्वतको कुस्मा नगरपालिका–१४   वडा कार्यालयले ८० वर्षको आसपास उमेर पुगेका वृद्धलाई सम्मान गर्दै लौरी र कम्बल उपहार दिएको छ । वडा कार्यालयले विसं १९९५ देखि १९९९ सम्म जन्मेका वडाका ५५ जना वृद्धवृद्धालाई सम्मान गरेको हो । 
वडा कार्यालयमा आइतबार आयोजित कार्यक्रममा वृद्धवृद्धालाई पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले लौरी र कम्बल उपहारको रुपमा वितरण गर्नुभयो । सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले वृद्धलाई अपमान होइन सम्मान गर्नुपर्छ भन्ने सन्देश यस सम्मान कार्यक्रमले दिएको भन्दै हरेक ज्येष्ठ नागरिक हाम्रो सम्पत्ति भएकाले उनीहरुको सम्मान र संरक्षण गर्नु राज्यका हरेक निकायको कर्तव्य हुनुपर्छ भन्नुभयो ।
बुढेसकालमा परिवारका सदस्यबाट समेत अपहेलित हुनुपर्ने पीडा धेरै वृद्धवृद्धाको छ । वडामा आफूले दिएको मतबाट निर्वाचित जनप्रतिनिधिले कम्मल र लठ्ठीसहित सम्मानित हुँदा खुशी भएको  वृद्ध नरबहादुर क्षेत्रीले बताउनुभयो । “हामीलाई सम्झेर लौरी र कम्मल दिएको छ”, उहाँले भन्नुभयो, “हिँडडुल गर्न र जाडो हुँदा दुवै काम लाग्ने सामान दियो ।”
 वडा कार्यालयले हरेक वर्ष वृद्धवृद्धालाई सम्मान गर्दै आएको छ । यस पटक लौरी र कम्बल दिएर सम्मानित गरिएको वडाध्यक्ष भीमप्रसाद गुरुङले बताउनुभयो । –रासस  
 

प्रतिक्रिया दिनुहोस