चितवनको पहाड र समथर भू–भागमा बस्नेबीच अन्तरघुलन गरिँदै

आइतबार, १२ साउन २०७६, १३ : ३७
चितवनको पहाड र समथर भू–भागमा बस्नेबीच अन्तरघुलन गरिँदै

चितवन । राप्ती नगरपालिकाले आफ्नो नगरको पहाड र समथर भू–भागमा बसोबास गर्ने बासिन्दाबीचमा अन्तरघुलन गर्ने भएको छ । नगरपालिकाका चार वटा वडा पहाडमा पर्दछ भने नौ वटा वडा समथर भू–भागमा पर्दछ । 

तराईका जनताको तुलनामा पहाडमा बस्ने निकै पछाडि परेका छन् । नगरप्रमुख प्रभा बरालका अनुसार पहाडमा बसोबास गर्ने पछाडि परेकाले उनीहरुलाई तराईको संस्कृति, रहनसहनसँग निकट बनाउन र तराईकालाई पहाडको वस्तुस्थिति बुझाउन अभियानका रुपमा अन्तरघुलन कार्यक्रम गर्न लागिएको हो । 

तीज पर्वमा दुवै क्षेत्रका महिलालाई एकै स्थानमा जम्मा गरेर एकआपसमा परिचयसँगै संस्कृति आदानप्रदान गर्ने कार्यक्रम गरिँदैछ । अन्य पर्वमा पनि मिलेसम्म दुवै क्षेत्रका मानिसलाई एकआपसमा परिचित गर्ने गरी कार्यक्रम गरिँदैछ । बरालका अनुसार विद्यार्थीलाई एक स्थानबाट अर्को स्थानमा भ्रमण गराउने, शिक्षक शिक्षिकालाई एक ठाउँबाट अर्को ठाउँमा लगेर पठनपाठनको सीप आदानप्रदान गर्ने, महिला समूहलाई एक ठाउँबाट अर्को ठाउँमा भ्रमणका रूपमा लगेर जानेका सीप आदानप्रदान गर्ने जस्ता कार्यक्रम गरिँदैछ । 

पहाडी क्षेत्रका जनता निकै पछाडि परेको उहाँको भनाइ छ । कतिपय ठाउँमा तराईबाट पुग्ने सुकिलामुकिला मानिस देखेपछि त्यहाँका जनता भाग्नेसमेत गरेको स्थानीय बताउँछन् । बरालले ती जनतालाई तराईका जनतासँग घुलमिल गराएर जीवनस्तर उकास्न सहयोग पु¥याउने उद्देश्यका साथ तराई र पहाडका जनतालाई जोड्न लागेको बताउनुभयो ।

नहरको खाली जग्गामा उद्यानसहितको हरितमार्ग 
भरतपुर महानगरपालिका–११ मा नमूना उद्यानसहितको हरित मार्ग निर्माण गरिने भएको छ । नारायणी लिफ्टको पानी बग्न छाडेर चौरका रूपमा परिणत भएको ठाउँलाई उपयोग गरी हरित मार्ग निर्माण गर्न लागिएको हो । 

महानगरपालिका–११ का अध्यक्ष बाबुराम अधिकारीका अनुसार बसेनीबाट नहरचोकसम्म बाइपास सडकको समानान्तर हुने गरी हरितमार्ग निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । 

जसअनुसार एक दशमलव ४३ किलोमिटर लामो र नौ मिटरदेखि १८ मिटर चौडा स्थललाई पैदल मार्गसहितको हरियाली उद्यान बनाइनेछ । सडकको बीचमा बगैँचा र दुवै छेउमा तीन मिटर चौडाको पैदल हिँड्नका लागि बाटो बनाइनेछ । 

पार्कसहितको हरितमार्ग निर्माणका लागि रु चार करोड ८५ लाख खर्च हुनेछ । यसका लागि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग बजेट माग गरिएको छ । सो क्षेत्रका प्रदेशसभा सदस्य विजय सुवेदीले नहर मासेर सामान्य सडक बनाइने गरेकामा सो क्षेत्रमा नमूना प्रकृतिको उद्यान बनाउन लागिएको बताउनुभयो । बिहान र बेलुका सुरक्षित हिँडाइका लागि सहयोग पुग्ने गरी हरियाली मार्ग पनि उद्यानभित्र रहने उहाँको भनाइ छ । 

सो स्थानमा वृद्धवृद्धालाई हिँड्डुल गर्न र बस्ने ठाउँ व्यवस्था गरिनेछ । वातावरण संरक्षणका लागि तीनवटै सरकारसँग कार्यक्रम रहेकाले बजेट अभाव नहुने उहाँको भनाइ छ । महानगरभित्रकै नमूना उद्यानका रूपमा यसलाई विकास गर्नुपर्ने सुवेदीको तर्क छ । पार्कभित्र कुनै पनि सवारी साधन लान नहुने गरी बनाउनुपर्ने उहाँले बताउनुभयो । 

भरतपुरको शहरी क्षेत्रमा जनघनत्व बढिरहेको समयमा यस्ता उद्यानले महत्वपूर्ण अर्थ राख्ने सुवेदीको भनाइ छ ।  (रासस)  
 

प्रतिक्रिया दिनुहोस