गोरखा । तातोपानी र रसुवा नाकामा कडाइपछि सुन तस्कर गोरखाको ङुइला नाकातिर मोडिएका छन् । तिब्बतको जोङ्गा बजारमा सामान किन्न जाने नेपालीलाई तस्करले आर्थिक प्रलोभनमा सुन बोकाएर पठाउने गरेका छन् । यो रूटमा सुरक्षा उपस्थिति निकै फितलो छ । भएकै लार्के भन्सार कार्यालय पनि डेढ दशकदेखि निष्क्रिय छ । धार्चे–३ खोर्लाबेंसीको ओढारबाट प्रहरीले बिहीबार १६ किलो सुन बरामद गर्यो । बस्तीबाट करिब हजार मिटर माथिको अनकन्टार ओढारमा सुन लुकाइएको थियो ।
प्रारम्भिक अनुसन्धानमा धार्चे–१ यारुबगरका व्यापारी धनकमल गुरुङले छेकम्पारको ङुइला नाका हुँदै तिब्बतबाट सुन ल्याएको खुलेको छ । प्रहरीले शुक्रबार उनलाई राजस्व अनुसन्धान विभागमा बुझाएको छ । ‘यसको अनुसन्धान अब विभागले नै गर्छ,’ एसपी ओम अधिकारीले भने ।
धनकमलको होटल छ । उनी उत्तरी गोरखामा आरूघाट, सोती, माछाखोला बजारबाट खच्चडमा राखेर दैनिक उपभोग्य सामग्री ढुवानी गर्थे । त्यसैले मनास्लु पदमार्गका हरेक रूटबारे जानकार छन् । सुन मालिकले उनैलाई सुन ओसार्न प्रयोग गर्नुको कारण पनि यही हो । धनकमल असार ११ राति नै सुन माछाखोला कटाउने प्रयासमा थिए । यसको सुइँको पाएका केही युवा उनलाई लुट्न बाटो ढुकेर बसे । धनकमलले पहिल्यै थाहा पाइहाले ।
‘खच्चडको भारी फुकाएर उनी राति नै बेपत्ता भए, आक्रमणको योजना बनाउनेले पनि उनलाई भेट्न सकेनन्,’ एक स्थानीयले भने, ‘सुन लुकाएर उनले अपहरणमा परेको नाटक गरेछन् ।’ यही क्रममा धनकमल बेपत्ता भएको भन्दै परिवारले प्रहरीमा जाहेरी दियो । तर केही दिनमै सम्पर्कमा आएको भन्दै उनीहरूले जाहेरी फिर्ता लिएका थिए । धनकमलले अवैध सुन ल्याएको आशंका प्रहरीलाई भइसकेको थियो । त्यसैले उनको खोजी जारी राख्यो । करिब २९ दिनपछि उनी फेला परे । ‘धनकमल भेटिएपछि सुन भएको स्थान आफैंले देखाए,’ एसपी अधिकारीले भने ।
यो घटनासँगै चुमनुब्री–७ को ङुइला नाकालाई सुन तस्करले नयाँ रूट बनाएको खुलेको छ । रसुवागढी र तातोपानी नाकामा कडाइपछि उनीहरू यता मोडिएका हुन सक्छन् । ङुइलामा सुरक्षा व्यवस्था फितलो छ । यो विकट भूगोलमा सुरक्षाकर्मी सीमित छन् । ‘अब त्यो नाकामा निगरानी बढाउँछौं,’ अधिकारीले भने, ‘प्रहरी परिचालन गरेर तस्करी रोकेरै छाड्छौं ।’ उत्तरी क्षेत्रमा प्रहरी उपस्थिति न्यून छ । छेकम्पार, सामागाउँ, सिर्दिबासको फिलिम, जगतमा मात्र प्रहरी बस्छन् ।
तिब्बतीको प्रलोभनमा भरिया
भदौ २३ मा पनि प्रहरीले उक्त नाकाबाट भित्रिएको १० किलो सुन बरामद गरेको थियो । सुनसहित समातिएका छेकम्पारका छिरिङ डुन्डुप लामा र लोप्चन तेन्वे पुर्पक्षका लागि जिल्ला कारागारमा छन् । छडके चेकजाँचमा निस्किएको सिर्दिबास प्रहरीको फन्दामा परेका थिए उनीहरू ।
ङुइलाबाट सिर्दिबास आइपुग्न कम्तीमा ३ दिन लाग्छ । तिब्बतको जोङ्गाबाट सुन ल्याएको उनीहरूले स्विकारे । दैनिक उपभोग्य सामग्री खरिदका लागिजोङ्गा बजार पुगेका लामा र तेन्वे आर्थिक प्रलोभनमा सुन भरिया बनेका रहेछन् । चिनियाँ व्यापारीले तीन हजार घुर्मु ९नेपाली ५० हजार० दिने भन्दै उनीहरूलाई काठमाडौंसम्म लैजान सुन पठाएको अनुसन्धानमा खुल्यो ।
अर्को सामागाउँको रोइला नाका पनि छ । तर उक्त नाका निश्चित अवधिका लागि मात्र खुल्छ । ङुइला नाका बाह्रै मास खुल्ने भएकाले तस्करले यसैलाई रोज्ने गरेको प्रहरी बताउँछ । २०७४ कात्तिकमा रोइलाबाट मनाङ हुँदै लगिएको १७ किलो सुनसहित लमजुङको खुदीबाट पासाङ लामा पक्राउ परेका थिए ।
कस्तो छ नाका ?
छेकम्पार सीमापारि तिब्बतका जोङ्गा र स्या गरी दुई सहर छन् । जोङ्गा ठूलो र स्या सानो बजार हो । धेरैजसो छेकम्पारवासी उपभोग्य सामग्री किन्न जोङ्गा जाने पासाङ लामाले बताए । सबैजसोले तिब्बती भाषा जान्ने भएकाले पनि पारि जाँदा उनीहरूलाई मोलमोलाइ गर्न सहज हुन्छ ।
छेकम्पारबाट एक दिन हिँडेर बाँजेमा बास बसेपछि भोलिपल्ट सबेरै तिब्बती सीमा पुगिन्छ । बीचमा कतै बस्ती नभएकाले स्थानीयले बास बस्न टेन्ट पनि सँगै लगेका हुन्छन् ।
‘घोडामा गए एक दिन, पैदल दुई दिनमा तिब्बती बजार पुगिन्छ,’ लामाले भने, ‘नेपालमा कतै चेक हुँदैन, चाइना भित्रिने बेला बोर्डर पास देखाउनुपर्छ ।’ सुरक्षाकर्मीको उपस्थिति नभएको तथा खुला नाकाकै कारण तस्करी गर्नेलाई सजिलो भएको लामाले तर्क गरे । तिब्बततर्फ कडाइ हुने भए पनि सेटिङमा अवैध सामान नेपाल भित्र्याइएको हुन सक्ने उनको अनुमान छ ।
‘तिब्बतबाट छेकम्पार आउँदा प्रहरी कहीँ भेटिँदैनन्,’ उनले भने । प्रहरीले तिब्बतबाट भित्रिएको सामान खासै निगरानी नगर्ने स्थानीय बताउँछन् । ‘शंका लागे प्रहरीले सोधीखोजी गर्नुपर्ने हो । राति हिँड्नेलाई शंका गर्नु पुलिसको काम नै हो तर चेकिङ हुँदैन,’ एक स्थानीयले भने ।
२०६९ मा छेकम्पारबाट चिरुको रौं पनि भित्रिएको थियो । सीआईबी टोलीले साबिक थुनी गाविसबाट चिरुको १ हजार १ सय ८९ किलो रौं बरामद गरेको थियो । छेकम्पारकै एक स्थानीयलाई पक्राउ गरिएको थियो ।
भन्सार लथालिंग
चीनसँग हुने कारोबारको राजस्व संकलन तथा अवैध सामग्री नियन्त्रणका लागि स्थापित लार्के भन्सार डेढ दशकयता निष्क्रिय छ । सिर्दिबासको जगतमा रहेको कार्यालय कर्मचारीविहीन छ । भवन जीर्ण छ । अहिले भाडाको घरमा छ । उत्तरी क्षेत्रमा उत्पादित ठूलो परिमाणको जडीबुटी यहीँबाट तिब्बत निकासी हुँदै आएको छ ।
वैध–अवैध छुट्ट्याउनु त परै जाओस्, कार्यालयले राजस्व संकलनसमेत गर्न सकेको छैन । रोइला र ङुइला नाकाबाट उत्तरी गोरखावासीले जडीबुटी निकासी तथा उपभोग्य सामग्री पैठारी गर्दै आएका छन् । चार जनाको दरबन्दी रहेको भन्सारमा एक सुब्बा मात्र छन् । उनी पनि कार्यालयमा नबस्ने गरेको स्थानीयले बताए ।
‘भन्सारमा कर्मचारी छैनन्,’ गणेश कार्कीले भने, ‘एक सुब्बा दुई महिनामा आउँछन्, दुई दिन बस्छन्, फर्कन्छन् ।’ भन्सार कार्यालय लथालिंग भएको गुनासो जिल्ला प्रशासन कार्यालयलाई राख्दा बेवास्ता गरेको उनको गुनासो छ । ‘लार्के भन्सारलाई कडा बनाउन सके अवैध कारोबार रोकिन्छ,’ उनले भने, ‘जगत कटेर जाने वैकल्पिक बाटो अरू छैन ।’ सामागाउँ र छेकम्पारबाट आएका स्थानीयको एक मात्र पैदल मार्ग जगत हो । त्यहाँ प्रहरी चौकी छ तर प्रहरी असाध्यै थोरै छन् ।
रोइला र ङुइलाबाट जगत आइपुग्न पैदल तीन दिन लाग्छ । उत्पादित जडीबुटी वैध तबरले कारोबार गर्न खोज्दा पनि राजस्व तिर्न नपाएको स्थानीयको गुनासो छ । उनीहरूले जगत भन्सारमा कर्मचारी थपेर व्यवस्थित गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।
‘सिजनका बेला छेकम्पार र सामागाउँको नाका आसपास गएर कर्मचारी बस्ने, हिउँ पर्दा जगत आएर बस्ने पहिलेको सिस्टम हो,’ कार्कीले भने, ‘अहिले पनि पहिलेजस्तै गर्न सके हुन्थ्यो, सडक खन्दैछ, तस्करले खत्तम बनाइसक्यो, यसतर्फ राज्यले ध्यान दिएन ।’
लार्के भन्सारमा सशस्त्र द्वन्द्वपछि कर्मचारी बस्न छाडेका हुन् । दुई दशकअघिसम्म उत्तरी क्षेत्रमा उत्पादित भेडाको ऊन, छाला, वन लसुन, सतुवा, जडीबुटीलगायत सामग्रीको राजस्व संकलन हुन्थ्यो । केही वर्षअघि अवैध रूपमा ल्याइएको चिरु, सतुवा, वन लसुन, पाँचऔंलेजस्ता जडीबुटी पनि बरामद भएको थियो । सडक सञ्जालले नछोएको उक्त क्षेत्रमा हेलिकप्टरबाट सामग्री ओसारपसार हुने गरे पनि भन्सारलाई पत्तो नरहेको स्थानीय बताउँछन् ।
जगत भन्सारलाई व्यवस्थित बनाउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए । ‘भन्सार व्यवस्थित गर्नुपर्छ भन्नेमा बढी सचेत छौं,’ उनले भने, ‘यस विषयमा भन्सार विभागसँग पनि कुराकानी भइरहेको छ ।’ उत्तरी नाकामा सशस्त्र प्रहरीको पोस्ट स्थापनाका लागि पहल भइरहेको पनि उनले बताए । ‘प्रहरीको आवश्यकता छ, यस विषयमा गृह मन्त्रालयमा पत्र पठाएका छौं,’ उनले भने, ‘स्थानीय सरकार पनि यसमा जिम्मेवार बन्नुपर्छ ।’
आपराधिक क्रियाकलाप बढ्न नदिन सचेतना आवश्यक रहेको धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ बताउँछन् । ‘यो टुरिजम एरिया हो, आपराधिक त्रियाकलाप भए पर्यटन क्षेत्र धराशायी हुन्छ,’ उनले भने । नाका र चेकपोस्टमा कडाइ गरे यस्ता क्रियाकलाप नियन्त्रण हुने उनको भनाइ छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १२ साउन २०७६, ०७ : २३
लेखकबाट थप