चिनियाँ प्राध्यापकद्वारा दासढुंगादेखि गाँजीपुरसम्मको अवलोकन

सफल खबर संवाददाता

बुधबार, ०८ साउन २०७६, १७ : ३२
चिनियाँ प्राध्यापकद्वारा दासढुंगादेखि गाँजीपुरसम्मको अवलोकन

चितवन । चिनिया प्राध्यापक झाङ सुविन, राष्ट्रपति कार्यालयका विज्ञ समूह सदस्य माधव शर्मासहितको टोलीले जिल्लाको दासढुंगादेखि गाँजीपुरसम्मको क्षेत्रको अध्ययन अवलोकन गरेको छ । मदन भण्डारी फाउण्डेशन चितवनको संयोजनमा मंगलबार उक्त क्षेत्रको अवलोकन गरिएको हो । 

तत्कालिन नेकपा (एमाले) का महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय जीप दुर्घटनामा निधन भएको स्थल दासढुंगा हुँदै मदन भण्डारीको शव प्राप्त भएको स्थान गाँजीपुरसम्मको अवलोकन गरिएको हो । 
सो अवसरमा टोलीले काभ्रेघाटमा निर्माण भईरहेको क्रुजको पनि अवलोकन गरेको थियो । अवलोकनका क्रममा आयोजित छलफल कार्यक्रममा फाउण्डेशनका जिल्ला अध्यक्ष डा.तिलचन्द्र भट्टराईले यस क्षेत्रको विकासका लागि गरिएका कामहरुको बारेमा प्रकाश पार्नुभएको थियो । 
डा. भट्टराईले दासढुंगादेखि गोलाघाटसम्मको एकीकृत विकास गर्न नारायणी एकीकृत विकास परियोजनाको अवधारणा ल्याईएको जानकारी दिनुभयो । सोही अवधारणा अनुसार विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम भईरहेको जानकारी दिनुभयो । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य देवी ज्ञवालीले नेपालको कम्युनिष्ट आन्दोलन र मदन भण्डारीका बारेमा जानकारी दिनुभएको थियो । 
चीनको हेवेई विश्वविद्यालयको नेपाल स्टडी सेन्टरका प्राध्यापक सुविनले डिपिआर तयार भएपछि फाउण्डेशनले दासढुंगा र गाँजीपुरमा निर्माण गर्ने अध्ययन केन्द्रका लागि आवश्यक सहयोग उपलब्ध गराउन पहल गर्ने बताउनुभयो । उहाँले सम्पूर्ण कोरिडोरलाई मदन भण्डारीको नामसँग जोडेर आर्थिक विकास गर्नुपर्ने बताउनुभयो । 

अवलोकन तथा छलफल कार्यक्रममा सुविनसहित राष्ट्रपति कार्यालयका विज्ञ समूह सदस्य माधव शर्मा, राष्ट्रपति कार्यालयका सचिवालय सदस्य  खेमचन्द्र ढकाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य देवी ज्ञवाली, प्रदेश सांसद कृष्णप्रसाद भूर्तेल, फाउण्डेशनका जिल्ला अध्यक्ष डा. तिलचन्द्र भट्टराई, फाउण्डेशन प्रदेश सदस्य केशव रेग्मी, फाउण्डेशन चितवनका सचिवालय सदस्य राजु पौडेललगायतको सहभागी थियो । 

प्रतिक्रिया दिनुहोस