नारायणगढ मुग्लिन सडक

स्तरोन्नति गरेको पिच एक वर्षमै टाल्न सुरु किन ?

उर्गेन तामाङ

सोमबार, ०६ साउन २०७६, १५ : ४१
स्तरोन्नति गरेको पिच एक वर्षमै टाल्न सुरु किन ?

चितवन । नारायणगढ मुग्लिन सडकलाई स्तरोन्नति गरिएको १ वर्षमै टाल्न थालिएको छ । केही प्राविधिक कमी कमजोरी र भौगोलिक जटिलताको कारण भन्दै सडक टालटुल पार्न थालिएको हो । 
राजधानी जोड्ने यस सडकखण्ड स्तरोन्नति गरिएको एक वर्षमै विभिन्न स्थानमा टालटुल पारिएको छ । सडकको आँपटारी–रामनगर खण्डको करिब ३ किलोमिटर क्षेत्रमा मात्रै ४ ठाउँमा टालिएको छ । आँपटारी र रामनगरको बीचतिर पर्ने कुनै ठाउँमा ८ मिटर नै एक लेन टालिएको छ भने कुनै ठाँउमा ५ मिटर र कुनै स्थानमा ४ मिटर टालिएको छ । एक ठाउँमा छेउछेउमा करिब ५ मिटरभन्दा बढी टालिएको छ । 
यस सडकमा यात्रा गर्ने यात्रुहरुले फराकिलो नयाँ पिच यति चाँडै टालिनु दुःखद भएको बताएका छन् । पोखराका जीवन शर्माले १ वर्षमै यसरी पिच टाल्न थालियो भने अबको केही वर्षमा पुरै नारायणगढ मुग्लिन सडक नै सबै टालटुल पारेको मात्रै देख्न सकिने भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ‘यति धेरै खर्च गरेर स्तरोन्नति गरिएको सडक २० औँ वर्षसम्म केही नहुने गरी बनाउनु पर्ने थियो । १ वर्षमै टाल्न थालियो, यो दुःखद हो ।’ भरतपुर महानगरपालिका ११ का महेश लामाले  तातो घामले पिच पग्लिएपछि टालिएको आशंका गरेका छन् । 


नारायणगढ मुग्लिन सडक बिस्तार आयोजनाले भने भौगोलिक जटिलताका कारण यो अवस्था आएको बताएको छ । आयोजनाका सूचना अधिकारी ईञ्जिनियर शिव खनालले सडकको छेउमा अग्ला पर्खाल भएको स्थानमा सडक भासिने, ट्रयाक भासिने लगायतका समस्या देखिएको बताए । उनले कुनै प्राविधिक कमजोरी नभई भौगोलिक जटिलता र ठुला पर्खाल बनाँउदा केही स्थानमा यो समस्या देखिएकाले सडक टाल्नु पर्ने अवस्था आएको बताए । 
उनका अनुसार निर्माण कम्पनीले अग्लो पर्खाल बनाएपछि राम्रोसँग फिनिसिङ नगरी छाड्दा पानी पसेर सडकको छेउतर्फको ट्रयाक दविएकाले टालिएको हो । खनालले भनेजस्तो अग्लो पर्खालमा मात्रै नभई सामान्य स्थानमा पनि टालिएको देख्दा भने पिच पग्लिएर हुन सक्ने सर्वसाधारणको आशंकालाई बल पुग्छ । खनालले भने, ‘सडक बिग्रियो भने बनाउने निर्माण कम्पनीले नै एक वर्षसम्म बनाई दिनु पर्ने नियम अनुसार समय अवधिभित्रै मर्मत गरेको छ । सडक टालिएको आँपटारी रामनगर खण्डमा डीएलएएससिसि जेभी निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको थियो । ३६ दशमलव २ किलोमिटर लामो यस सडक गएको २०७५ साल जेठमा सम्पूर्ण स्तरोन्नतिको काम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस