संकटमा बाढीपीडितको प्राण, देउवा निवासमा भागवत पुराण ?

घर झगडामा अल्झिएको नेपाली काँग्रेस राजनीतिक दायित्व निर्वाह गर्नमा असफल

सफल खबर संवाददाता

सोमबार, ०६ साउन २०७६, १२ : ३९
संकटमा बाढीपीडितको प्राण, देउवा निवासमा भागवत पुराण ?

काठमाडौं । देशमा बाढी पहिरो, प्राकृतिक विपद, तरकारीमा विषादीको प्रयोग तथा भारतबाट आयात हुने तरकारीमा नराम्ररी राष्ट्रियता मक्किएकै बेला काँग्रेस सभापति शेरबहादुर देउवा भने निजी हवेली बुढानीलकण्ठमा भागवत पुराण लगाएर बसेका थिए । उनलाई लिनु दिनु केही छैन भने जसरी हवेलीमा पुराण लगाएर बसेको भन्दै चर्को आलोचना भएको छ । 
अविरल वर्षाका कारण विशेष गरी प्रदेश नं १ र २ मा जनजीवन नराम्ररी प्रभावित भएपनि प्रमुख प्रतिपक्ष संसद चलाउने कि नचलाउने भन्ने बारेमा विवाद गरेर बसेको छ । संसद चल्दा जनताका दुःख र पीडा मुखरित हुने अवसर पाउँथे । तर प्रमुख प्रतिपक्ष भागवत पुराणकै शैलीमा प्रस्तुत भएको छ । सामान्य मानवीय संवेदना समेत नदेखाएर काँग्रेस प्राकृतिक विपदलाई राजनीतिको रोटी सेकाउन लागिपरेको छ ।
घर झगडामा अल्झिएको काँग्रेसले आफ्नो राजनीतिक दायित्व निर्वाह गर्न असफल भएको छ । राहत तथा उद्धारमा खट्नुपर्ने, आफूलाई पूरानो र लोकतान्त्रिक बताउने काँग्रेसले देखाएको चरित्रले उसैलाई क्रमशः ओरालोको यात्रामा धकेलिइरहेको छ । पछिल्लो पटक उसको नेपाली काँग्रेसको हालै पारित भएको नियमावलीलाई लिएर संस्थापन पक्ष र विपक्षीहरु एक आपसमा लडन थालेका छन् । 
सभापति देउवा नियमावलीलाई जसरी पनि कार्यान्वयन गराउने दाउमा छन् भने रामचन्द्र पौडेल, कृष्ण सिटौला र महामन्त्री सशांक कोइराला भने एकलौटी रुपमा ल्याइएको नियमावली लागू हुन नसक्ने भन्दै विरोधमा उत्रिएका छन् । संस्थापन इतरका नेताहरु कहिले जगदिश्वरनरसिंह केसीको निवास त प्रकाशमान सिंहको निवासमा गोग्य भेला गर्दै देउवा विरोधी रणनीति तयार पारिरहेका छन् । तर उनीहरुले गरेको छलफलमा के कस्तो रणनीति तय भयो र गरियो भन्ने बारेमा हालसम्म कुनै विषय सार्वजनिक जानकारीमा आएको छैन । 
नियमावलीले पार्टीको संगठन नै ध्वस्त हुन सक्ने भन्दै नेताहरुले चिन्ता व्यक्त गरेका छन् । परिमार्जन गर्ने गरी काँग्रेस केन्द्रीय कार्यसमिति बैठकबाट पारित पार्टी नियमावलीको धारा ५१ को उपधारा ८ मा जिल्ला समिति भन्दा तल्लो तह र भ्रातृ तथा शुभेच्छुकका सम्पर्क समिति गठन गर्न नपाइने व्यवस्था गरिएकोमा उनीहरुले आपत्ति जनाएका छन् ।  ‘कुनै पनि जिल्लामा जिल्ला कार्यसमिति बाहेक प्रतिनिधिसभा, प्रदेशसभा, नगर, गाउँ, वडा, टोल वा पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाको कुनै पनि समिति रहने छैन’ भन्ने व्यवस्था गरिएको छ । सो व्यवस्थालाई संस्थापन इतरले चर्को विरोध गरेका छन् । 
केन्द्रीय कार्यसमितिमा नियमावली नियन्त्रणमुखी भएको भन्दै चर्को आलोचना भएको थियो । यस प्रावधानप्रति भ्रातृ संस्थाले समेत विरोध जनाएका छन् भने जिल्ला तहका  नेताहरुले पनि वडादेखि प्रतिनिधिसभा निर्वाचन क्षेत्रले सम्पर्क समिति गठन गर्न पाउने अधिकार कटौती गरेको र सभापति देउवाले ज्यादती गरेको संस्थापन इतरको भनाइ छ । 
त्यसो त एक अर्कालाई देख्नै नसक्ने स्वभावका कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहलाई समेत सोही नियमावलीले एकै ठाँउमा ल्याउने बनाइदिएको छ । त्यसो त पार्टी सभापति रहेका देउवाले आनो कार्यकाल लम्ब्याउने साजिस सुरु गरेको भन्दै संस्थापन विरोधीले यो प्रयास सफल हुन नदिने र त्यसका लागि जस्तोसुकै कदम चाल्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस