पैँतीस करोड रुपैयाँ खर्चमा रिभर क्रुज शिप

सफल खबर संवाददाता

शनिबार, ०४ साउन २०७६, १२ : ५५
पैँतीस करोड रुपैयाँ खर्चमा रिभर क्रुज शिप

चितवन । राईनो वाटर ईन्टरटेन्मेन्ट प्रालिले भरतपुर महानगरपालिका १६ काभ्रेघाटमा पैँतीस करोड रुपैयाँ लागत अनुमान गरेर क्रुज शिप निर्माण गरिरहेको छ । प्रालिले आज भरतपुरमा पत्रकार सम्मेलन गरी निर्माणको प्रक्रिया, तयारी, लागत लगायत विभिन्न विषयमा जानकारी गराएको हो । 
प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार, क्रुज शिप अबको २ महिनामा निर्माण सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ । यो क्रुज शिपमा एक पटकमा २ सय जनालाई सेवा दिन सकिने प्रालिले जनाएको छ । काभ्रेघाटबाट शुरु भई देवघाट पुगेर गोलाघाटसम्म लैजाने गरी संचालन तयारी गरिरहेको छ । क्रुज शिप २ तल्ला, करिब १०० फिट लम्बाई र २५ फिट चौडाईको हुने जनाइएको छ । क्रुजलाई ३ सिप्mटमा सञ्चालन गर्ने योजना रहेको छ । 
पर्यटन वर्ष २०२० लाई सफल बनाउन पनि यो आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास निर्माण पक्षको रहेको छ । नेपाल सरकारको विद्यमान कानुनी व्यवस्था अनुसार पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० बमोजिम संचालन अनुमति लिएर निर्माण कार्य अघि बढाइएको प्रालिले जनाएको छ । 
क्रुजको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा विशेष सावधानी अपनाउँदै निर्माण योजना र आवश्यक पूर्वतयारी गरिरहेको प्रबन्धक कँडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस