गोर्खा ब्रुअरीले दुर्गन्ध फैलाएको भन्दैै स्थानीय आक्रोशित, कम्पनी क्षेत्रमा दुर्घटनाको उच्च जोखिम

प्रकाश सिग्देल

विहीबार, ०२ साउन २०७६, १८ : २८
गोर्खा ब्रुअरीले दुर्गन्ध फैलाएको भन्दैै स्थानीय आक्रोशित, कम्पनी क्षेत्रमा दुर्घटनाको उच्च जोखिम

– प्रकाश सिग्देल
चितवन । गोर्खा ब्रुअरी प्रालिले गैंडाकोट १० कोटिहोम चोकदेखि कारखानासम्म जाने सडक निर्माणमा चासो नदिएको भन्दै स्थानीयहरुले आक्रोश व्यक्त गरेका छन् । टुर्वोग, गोरखा लगायतका वियर उत्पादन गर्ने सो कारखानाका दैनिक ५ दर्जनभन्दा बढी दश चक्के मालबाहक ट्रक सो बाटो हुँदै आवतजावत गर्छन । स्थानीयले त्यही सवारीले बिगारेको बाटो मर्मतमा कारखाना पक्षले चासो नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

साँघुरो भत्किएको बाटो त्यसैमाथि ठूलाठूला ट्रकहरु सो बाटो हिँड्दा त्यसको धुँवाधुलो र ध्वनि प्रदुषणले घरै बस्न नसकिने अवस्था सृजना भएको स्थानीयहरु बताउँछन् ।
आफूहरुले पटक पटक बाटोको समस्याका बारेमा अवगत गराउँदा पनि बाटो मर्मतमा कुनै चासो नै नदिने र स्थानीयको कुरालाई सुनुवाइ नै नगरी कारखाना पक्षले मनलाग्दी गरेको पीडितहरुको भनाइ छ ।
कारखाना वरिपरि गन्हाएर दुर्गन्ध फैली बस्नै नसकिने र त्यहाँको सवारी साधनको आवत जावतले गर्दा त्यहाको वातावरण नै कोलाहाल बनेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरे ।

स्थानीय महिला नन्दकला जिसीले सडक मर्मतमा कारखाना पक्षले ध्यान नदिँदा दुर्घटनाको जोखिम अत्याधिक रहेको बताउनुभयो । रात बिरातमा त्यही कारखानामा काम गरेर आउने कति कर्मचारी त बाटोमा लडेर घाइते भएको बताउँदै उहाँले आफ्ना सानासाना वालवालिका समेत त्यही सडक र सवारीको तीव्र आवगमनले जोगाउनै समस्या भएको भन्दै आक्रोश व्यक्त गर्नु भयो ।  

पाँच वर्षदेखि कर छल्दै गोर्खा ब्रुअरी, डेढ अर्ब रुपैयाँ तिर्न बाँकी

त्यस्तै स्थानीय युवा विनोद लामिछानेले बाटो निर्माणका लागि निर्माण समिति बने पनि वियर कारखानासँग स्पष्ट रुपमा कुरा राख्न नसक्दा निर्माण कार्य थप अन्योलमा परेको बताउनुभयो । उहाँले स्थानीय अगुवाहरु नै कारखानाका कर्मचारी भएको र उनीहरुले स्थानीय क्षेत्रमा परेको समस्या उठान गर्नेभन्दा पनि आफ्नै जागिर बचाउने खेलमा लागेकाले बाटो निर्माण हुन नसकेको गुनासो गर्नुभयो ।   

कुहेको चोक्कर र जागिर पाउने आशले कारखानाले गरेका गलत कामको विरुद्ध कोही बोल्न नसकेको स्थानीय युवाहरु बताउँछन । कारखानाले बाटो भत्काएपछि वर्षाद्को बेला त झन पिच सडकमा परेको ठूलाठूला खाडलमा पानी जमेर थप दुर्घटनाको जोखिम बढेको देख्न सकिन्छ । कारखानाले स्थानीय वासिन्दाको समस्या समाधान गरी मानव स्वास्थयको ख्याल गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस