रोनाल्डोको गोलले जिदानलाई राहत

एजेन्सी

आइतबार, १४ माघ २०७४, १२ : ३४
रोनाल्डोको गोलले जिदानलाई राहत

भ्यालेन्सिया । क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत दुई गोल गर्दै भ्यालेन्सियालाई पराजित गरेपछि दबाबमा रहेका रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई केही राहत मिलेको छ ।

तेस्रो स्थानमा रहेको भ्यालेन्सियालाई ४–१ गोल अन्तरले पराजित गर्दै चौथो स्थानमा रहेको रियलले एक खेल कम खेल्दै दुरी २ अंकमा झारेको छ । तर, अझै पनि शीर्ष स्थानमा रहेको बार्सिलोनासँग भने १६ अंकले पछि रहेको छ ।

रोनाल्डोले खेलको १६ औँ मिनेटमा पेनाल्टीमार्फत रियललाई अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफ सकिन लाग्दा करिम बेन्जेमालाई लडाएपछि पाएको दोस्रो पेनाल्टीलाई पनि गोलमा परिणत गरेका थिए ।
खेलको दोस्रो हाफमा सान्टी मिनाले गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काउने प्रयास गरे पनि खेलको अन्त्यतिर मार्सेलो र टोनी क्रुसले गोल गर्दै रियललाई सहज जित दिलाए ।

गत बुधबार लेगानेससँग पराजित हुँदै कोपा डेल रेबाट बाहिरिएपछि जिदानले रियलको प्रशिक्षकको रुपमा सबैभन्दा खराब दौरबाट गुज्रिरहेको बताएका थिए । उनले पेरिस सेन्ट जर्मेनविरुद्धको च्याम्पियन्स लिगको खेलले आफ्नो भविष्य निर्धारण गर्ने समेत संकेत दिएका थिए ।

घरेलु मैदानबाहिर अक्टोबर १४ पछि रियलको यो पहिलो जित थियो । जितपछि जिदानले टोली अझै संघर्ष गर्न तयार रहेको प्रतिक्रिया दिएका थिए ।

शनिबार नै भएका अन्य खेलमा भिल्लेरियालले रियल सोसिडाडलाई ४–२ गोलअन्तरले पराजित गर्यो भने डिर्पोटिभो ला कोरुना र लेभान्ते तथा मालागा र जिरोनाले बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस