भरतपुर महानगर प्रमुख दाहालबाट पटिहानी पर्यटन सूचना केन्द्रको उद्घाटन

शनिबार, १३ माघ २०७४, १३ : ३५
भरतपुर महानगर प्रमुख दाहालबाट पटिहानी पर्यटन सूचना केन्द्रको उद्घाटन

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २२, पटिहानीको धनौजीमा शनिबार एक समारोहबीच महानगर प्रमुख रेनु दाहालले पटिहानी पर्यटन सूचना केन्द्रको उद्घाटन गर्नु भएको छ ।
महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिका वडा नम्बर २२, धनौजीको कमलपोखरी परिसरमा रहेको पर्यटन सूचना केन्द्रको उद्घाटन गर्दै चितवन देशकै प्रमुख पर्यटकीय केन्द्र बन्ने सम्भावना भएको बताउनु भयो । उहाँले महानगर क्षेत्रको पर्यटकीय विकासको लागि महानगरले योजनाहरू तर्जुमा गर्दै प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
विशाल दुई वटा नदी नारायणी र रापतीको बीचमा पर्नु, चितवन राष्ट्रिय निकुञ्ज, एकसिंगे गैंडा, पाटेबाघ, जलचर र जंगली जनावर, प्रसिद्ध धार्मिक क्षेत्र देवघाटधाम, साँस्कृतिक विविधता लगायतका विशेषता र देशकै मध्यभागमा पर्नु नै चितवनको पर्यटन विकासको आधार भएको उहाँको भनाइ थियो ।


भरतपुर महानगर क्षेत्र र समग्र चितवनको पर्यटन विकासका लागि हातेमालो गर्न उहाँले सबैसँग आग्रह गर्नुभयो । उहाँले पर्यटन सूचना केन्द्र महानगरको पर्यटन विकासमा सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । महानगर प्रमुख दाहालले महानगरले भर्खरै महत्वकांक्षी योजनासहित प्रथम नगर सभा सम्पन्न गरेको बताउँदै अब रफ्तारमा देखिने गरी काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस