कुन नेताका श्रीमती कहाँ के गरिरहेका छन् ?

श्रीमानलाई राजनीतिमा सघाउनेदेखि घरब्यवहार आफै हाँक्नेसम्म

सफल खबर संवाददाता

सोमबार, २३ असार २०७६, १३ : ५९
कुन नेताका श्रीमती कहाँ के गरिरहेका छन् ?

काठमाडौं । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले आफ्नो परिवारलाई कत्तिको समय देलान् ? अनि उनीहरुका परिवार सदस्यहरु कसले के गर्लान् ? दिनरात नेता कार्यकर्तासँग भेटघाट, कार्यक्रममा ब्यस्त दैनिकी नेताहरुका दिनचर्या हुन् ।
उनीहरुको सफलता/असफलतामा श्रीमतीको पनि योगदान हुन्छ । खासमा कुन नेताका श्रीमती कहाँ के गरिरहेका छन् ? सफल खबरले केही नेताहरुका श्रीमती के गरिरहेका छन् भन्ने पत्ता लगाएको छ ।

प्रधानमन्त्री केपी ओली र राधिका शाक्य
नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली पत्नी राधिका गृहिणी हुन् । राष्ट्र बैंककी पूर्वकर्मचारी उनी पछिल्ला ८ वर्षदेखि पूर्णरुपमा गृहिणीको भूमिकामा छिन् । ओली बिरामी रहेका कारण पनि उनको स्वास्थ्यको ख्याल गर्नेदेखि घरमा आएका पाहुनाको स्वागत गर्नमै उनको दिन बित्छ ।
बिरामी श्रीमान ओलीलाई समयमा औषधि, खाना÷खाजा खुवाउने, पानीको मात्रा मिलाएर खान दिने तथा सकभर मानिसहरुसँग कम भेटघाट र कम बोलुन् भन्नेमा उनको ध्यान हुन्छ । तर उनको त्यो चाहना सम्भव हुने देखिँदैन । प्रधानमन्त्री समेत रहेका कारण प्रधानमन्त्री दिनको झण्डै १६ घण्टा कुनै न कुनै रुपमा ब्यस्त देखिएका हुन्छन् ।

पूर्वप्रधानमन्त्री प्रचण्ड र सीता दाहाल
पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल बिरामी छिन् । उनी तत्कालीन माओवादी केन्द्रमा केन्द्रीय सल्लाहकार पनि थिइन् । प्रचण्डको सफलतामा उनै पत्नी सीताको महत्वपूर्ण भूमिका रहँदै आएको छ । सीता बेलाबेलामा पार्टी कामकै सिलसिलामा श्रीमान प्रचण्डसँगै पहिला सँगसँगै पनि हुन्थिन् । तर पछिल्लो समय अस्वस्थ्य भएपछि उनले पार्टी काममा श्रीमानलाई सहयोग पु¥याउन सकिरहेकी छैनन् । स्वस्थ्य रहँदासम्म सीता घरकी असल गृहिणी पनि थिइन् । आफैले काम गर्न सकेको बेला उनी आफै तरकारी बारीमा रमाउने, आफै खाना बनाउने र श्रीमानको स्वास्थ्यमा पनि निक्कै ख्याल गर्ने गर्थिन् ।

काँग्रेस सभापति शेरबहादुर देउवा र आरजु राणा
पूर्वप्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणा राजनीतिमै छिन् । देउवाको निवास बुढानिलकण्ठमा अहिले सप्ताह महापुराण कार्यक्रम चलिरहेको छ । घरमा चलेको सप्ताह कार्यक्रममा पनि देउवाले समय दिन भ्याइरहेका छैनन् । तर पत्नी आरजुले भने पूरै समय दिइरहेकी छिन् ।  
राणा राजनीति र सामाजिक कार्यमा सक्रिय छिन् । तर उनी बिहान घरबाट निस्किइन भने बेलुकीमात्र घर फर्किन्छिन् । मानिसहरुसँग भेट गर्ने, विभिन्न कार्यक्रममा जाने, कार्यक्रमका योजना बनाउनेमा राणाको बढी समय बितिरहेको हुन्छ । घरायसी काम भने उनी गर्दिनन् । घरमा काम गर्न राखिएका सहयोगीले नै देउवाको घर चलिरहेको छ ।

पूर्वप्रधानमन्त्री माधव नेपाल र गायत्री नेपाल
पूर्वप्रधानमन्त्री माधव नेपाल नेकपाका वरिष्ठ नेता पनि हुन् । उनकी पत्नी गायत्री राष्ट्रिय बाणिज्य बैंकको दशौं तहकी कर्मचारी हुन् । बिदाको दिनबाहेक उनी सधैं कार्यालय जान्छिन् । नेपाल प्रधानमन्त्री हुँदा भने उनले काज मिलाएर कार्यालय जानु नपर्ने बनाएकी थिइन् । अहिले गायत्रीले घर र कार्यालय दुवै काम सम्हालिरहेकी छिन् ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र रविलक्ष्मी चित्रकार
पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेकपाका वरिष्ठ नेता पनि हुन् । उनकी पत्नी रविलक्ष्मी चित्रकार प्राध्यापक हुन् । उनी अमृत साइन्स क्याम्पसका पढाउँछिन् । त्यसबाहेक उनको दिन घरमै बित्छ । खाना बनाउने, घर रेखदेख, आफन्तसँग भेटघाट लगायतका काममा उनी ब्यस्त हुन्छिन् ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र हिसिला यमी
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई अहिले समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष छन् । सांसद समेत रहेका उनकी पत्नी हिसिला यमी पनि सक्रिय राजीतिमा छिन् । राजनीतिमा सक्रिय रहेकाले हिसिलाको अधिकांश समय राजनीतिक कार्यक्रममै बित्ने गरेको छ । उनी पार्टीको केन्द्रीय उपाध्यक्ष पनि छिन् ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र सविता पौडेल
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलकी पत्नी सविता पूर्ण रुपमा गृहिणी हुन् । उनी घरमै बसेर नातिहरुको हेरचाह गर्ने, घरमा रहेका सहयोगीहरुलाई खाना बनाउन सहयोग गर्ने गर्छिन् ।  घरका सहयोगीलाई अराईपराई गर्ने, घरमा आउने फोन उठाउने र घरमा आउनेहरुसँग भेटघाट गर्ने, चियानास्ता गराउनेमा दिन बिताउँछिन् उनी ।

नेकपा (क्रान्तिकारी माओवादी) महासचिव मोहन वैद्य र सुष्मा
नेकपा (क्रान्तिकारी माओवादी) महासचिव मोहन वैद्यकी पत्नी सुष्मा गृहिणी हुन् । गत वर्ष उनले एसईई परीक्षा दिएकी थिइन् ।  वैद्य बिरामी समेत रहेकाले बिरामी श्रीमानको स्वास्थ्य र राजनीतिमा सुष्माले साथ दिँदै आइरहेकी छिन् ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र शोभा प्रधान
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छकी श्रीमती शोभा प्रधान शिक्षिका हुन् । भक्तपुरकै बागेश्वरी उच्च माध्यमिक विद्यालयमा उनी पढाउँछिन् । उनले बिहान बेलुकी घरको काम गर्ने र दिउँसो स्कुल पढाउने गर्छिन् ।

प्रतिक्रिया दिनुहोस