Safal Khabar - हेटौँडाको त्यो पिकनिक : जहाँबाट जन्मियो सडक मानवमुक्त समाजको अभियान
सोमबार, २७ असोज २०७६ (Monday, 14 October, 2019)
हेटौँडाको त्यो पिकनिक : जहाँबाट जन्मियो सडक मानवमुक्त समाजको अभियान
आइतबार, २२ असार २०७६, १६ : १०
हेटौँडाको त्यो पिकनिक : जहाँबाट जन्मियो सडक मानवमुक्त समाजको अभियान

चितवन । पहिलेको वनभात अहिले पिकनिकले समातेको छ । पिकनिकले जोकोहीलाई फुरुङ्ग पार्छ । रमाइलो गर्दै मीठोमसिनो खान जो पनि लालायित हुन्छन् । पिकनिक भन्नसाथ जोकोहीको एकपटक मुख रसाउँछ, नरसाऊन् पनि किन ? मीठोमसिनो खान पाइन्छ । 

रामजी अधिकारी ३३, आफू खानभन्दा पनि अरुलाई खुवाउन पिकनिकको आयोजना गर्दै थिए । उनको मन खुसी र चन्चलताले भरिएको थियो, तर पनि उनको लागि अरुलाई खुवाएर खुसी बनाउनु ठूलो कुरो थियो । पिकनिकमा कुनै भद्रभलादमीलाई खुवाउने कार्यक्रम थिएन, कुनै साथीभाइको खुसीको उत्सवको पनि पिकनिक थिएन, थियो त केवल सडकमा आश्रयस्थल बनाएका फिरेन्तहरुलाई खुवाउने पिकनिक ।

२०६९ साल जेठ २३ गते । हेटौंडाको वनस्खन्डी मन्दिरमा पिकनिक कार्यक्रमको आयोजना गरियो । सडकमै खाने, बस्ने र सुत्नेलाई पिकनिक खुवाउने त भनियो तर लाने कसरी ? बोकेर लैजान सकिने कुरै भएन, जाऔँ भनेर पनि जाँदैनन् क्या फसाद !

साविक हेटौँडा नगरपालिकाले पिकनिक स्थलसम्म लैजान एउटा ट्रिपर उपलव्ध गरायो । अनि रामजी अधिकारी ट्रिपरमा बसेर सडकका फिरन्तेहरुलाई खोज्न थाले । जहाँ भेटिन्छ, त्यहीँबाट उचाल्दै ट्रिपरमा हाले । ती दिनहरु सम्झदै लामो सास ताने रामजीले । 

उनी गुनासिए, ‘त्यतिबेला कतिले मलाई हिर्काए, कतिले थुके, कति कराए, कति त फेरि चुप लागेर ट्रिपरमा बसे, कति बसेनन् । जम्माजम्मी १८ जना जम्मा गर्न सफल भयौँ ।’ सडकमा बसेका उनीहरु डुङडुङ गनाएका थिए । लाज छोपिनेमात्र कपडा थियो, त्यही पनि झुत्रे च्यातिएको । कपाल झगल्टा थियो ।
‘मसहित केही अभियन्ताहरुले पहिला उनीहरुलाई नुहाइदियौँ, अनि नङ काटिदियौँ, कपाल कोरिदियौँ । शरीरभरि घाउ थियो, ड्रेसिङ गरिदियौँ । नयाँ कपडा लगाइदियौँ’ ती दिन सम्झदै भट्टराईले भने ‘नुहाएर नयाँ कपडा लगाएपछि कुनै घरमा आएका पाहुनाजस्ता देखिए, चिटिक्कका भए, अनि त ऐना पो माग्न थाले’ फिस्स हाँस्दै रामजीले भने, ‘ऐना हेर्दै नाच्न पो थाले, मलगायत मेरा साथीहरु सबै दङदास भयौँ । त्यतिबेला मेरो मनमा लाग्यो कहिल्यै अघाएर खान नपाएकाले खान पाए, नयाँ नाना नपाएकाहरुले लाउन पाए, मेरो मन त दसैँको चङ्गा सरी भयो ।’ 

पिकनिकले जन्माएको अभियान 
रामजी जतिबेला शंकरदेव क्याम्पसमा व्याचलर पढ्दै थिए, त्यतिबेला उनी सर्वोत्कृष्ट जीवन : शास्वस्त चिन्तनद्वारा सञ्चालित सेवामा आबद्ध थिए । सोही सेवाअन्तर्गत विभिन्न जिल्लामा सकारात्मक सोचको विकास गर्दै हिँडेका थिए रामजी । त्यही क्रममा उनी २०६८ साल जेठ ३ गते हेटौँडा आइपुगे । हेटौँडाको स्कुल कलेजमा पुगेर उनी युवाहरुलाई असल चरित्र निर्माण गर्ने र सकारात्मक सोचको विकास गर्न दौडिए । 

हेटौँडाको सडकसडकमा सकारात्मक सोच र बलिप्रथा रोक्ने अभियान चलाए रामजीले । सोही क्रममा सडकमा आश्रयस्थल बनाएका थुप्रै बुबाआमालाई भेटे उनले । खान नपाएकाहरुले उनकै सामु आएर हात पसारेर खानेकुरा माग्दा उनको मन भक्कानियो । अनि सडकमा आश्रयस्थल बनाएकाहरुलाई एक छाक भए पनि खुवाउनको लागि पिकनिकको आयोजना गरिएको रामजी बताउँछन् । जुन विद्यमान परिभाषाभन्दा निकै पृथक थियो । 

पिकनिक खुवाइसकेपछि सडकमा रमाउने वृद्धवृद्धाहरुलाई फेरि रामजीले भ्यानमै राखेर सडकमै ल्याई छोडे । उनी भन्छन्, ‘हामीसँग सधैँ उनीहरुलाई खुवाउने स्रोत थिएन, त्यसैले जहाँबाट उठायौँ, त्यहीँ ल्याएर छोड्ने हाम्रो बाध्यता थियो । ट्रिपरबाट सडकमा झार्न खोज्दा कोही रोए, कोहीले मेरो हात समातेँ ।’

यो दृष्यले रामजीलाई त्यो रात निद्रा नै परेन । रातभर उनलाई छटपटी भयो । ती सडकमा ल्याएर छोडेका वृद्धवृद्धाको सम्झनाले उनलाई बेसरी पिरल्यो । ‘रातभर निद्रा नपरेपछि अर्को दिन बिहान मैले निर्णय गरे, जसै गरेर भए पनि सडकपेटीमा बिताउनेहरुको उद्धार गर्नुपर्छ’ उनले भने, ‘त्यही दिन म, रुपा केसी, सुमन वर्तौलालगायत केही अभियन्ता मिलेर फेरि सडकमा छोडिएका वृद्धवृद्धाहरुको खोज्ने काम भयो ।’

अनि जन्मियो मानव सेवा आश्रम 
रामजीलगायतका अभियन्ताहरुले सडकमा आश्रयस्थल बनाउनेहरुको लागि मानव सेवा आश्रम खोल्ने निर्णय गरे । मुठीदानबाट उनीहरुलाई पाल्ने निर्णय पनि भयो । २०६९ साल साउन २१ गते हेटौँडामा पहिलो मानव सेवा आश्रम खोलिएको रामजी बताउँछन् । 
उनी भन्छन्, ‘पिकनिक खाएका १८ जनामध्ये भोलिपल्ट हेटौँडाको सडकमा खोज्दा पाँच जनालाई मात्र भेट्यौँ, उनै पाँच जनालाई पहिलो पटक मानव सेवा आश्रममा सामेल गरेका थियौँ ।’

सुरुमा आश्रम खोल्दा रामजीले कति झमेला र समस्याको चाङहरु मिल्काउनुपरेको थियो, त्यो उनैलाई मात्र थाहा छ । घर भाडा नपाउने समस्यादेखि मुठी माग्दा मुक्कासमेत खाएका स्मरणहरु उनको मानसपटलमा अहिले पनि ताजा छन् । रामजी भन्छन्, ‘खुशी, शान्ति र आत्मसन्तुष्टिका लागि सबै पहाडजत्रा समस्यालाई पन्छाउँदै अघि बढेँ ।’
‘हामीसँग मात्र भावना थियो, अरु केही थिएनँ’, रामजी भन्छन् ‘घरघरमा गएर थाल, चम्चा माग्यौँ, चामल माग्यौँ, तरकारी माग्यौँ, अरु कुनै उपाय हामीसँग थिएन । कतिले सहयोग गर्नुभयो, कतिले शंका गर्नुभयो, कतिले गोद्नुभयो । कतिले कुकुर लगाइदिनुभयो । राम्रो गर्नेलाई पनि सलाम, नराम्रो गर्नेलाई पनि सलाम गर्दै अघि बढ्यौँ ।’ 

यहाँसम्म मानव सेवा आश्रम
मानव सेवा आश्रमका संस्थापक अध्यक्ष हुन् रामजी । यतिबेला सात वटा प्रदेशमा मानव सेवा आश्रम ठडिएको छ । मुख्य कार्यालय हेटौँडा नै हो । जहाँबाट आश्रमको परिकल्पना भएको थियो । आश्रमका कार्यालयहरु अहिले १५ स्थानमा छन् । मानव सेवा आश्रम खोलिएको सात वर्ष भयो । सात वर्षमा आश्रममा ७०० जना सहयोगापेक्षी बेसहारा सडक मानवहरुले आश्रय पाइरहेका छन् । 

‘यहाँसम्म आइपुग्दा धेरै खुसी भएको छु, धेरै सडकमा बस्नेहरुले न्यानो माया पाउनुभएको छ, हिजोको हामी केही अभियन्ताहरुको अभियान आज राष्ट्रको अभियान बनेको छ, सरकारले अभियान बनाएको छ, स्थानीय सरकारको साथ सहयोग भइरहेको छ’ रामजीले भने । मानव सेवा आश्रममा आएपछि बुबाआमाहरु लक्ष्मीनारायण हुन्छन् । बाबुनानीहरु बालगोपाल हुन्छन् । 

चितवनको भरतपुरमा मानव सेवा आश्रम छ । जहाँ ५० जना लक्ष्मीनारायण र बालगोपालहरु रहेका छन् । काठमाडौँमा दुई ठाउँमा सामाखुसी र बूढानिलकण्ठमा आश्रम छ । यसबाहेक ललितपुर, वीरगञ्ज, गोर्खा, लमजुङ, बागलुङ, पोखरा, रुपन्देही, सुर्खेत, धनगढी, विराटनगरमा यतिबेला मानव सेवा आश्रम ठडिएको छ । कति ठाउँमा आश्रमको आफ्नै भवन निर्माण भइरहेको छ भने कति ठाउँमा जग्गा प्राप्त भएको छ । 

विदेशी सहयोग लिदैनौँ 
आश्रमले कुनै पनि विदेशी सहयोग लिँदैन । रामजी भन्छन्, ‘एक रुपैयाँ विदेशी सहयोग लिएको छैन, स्वदेशी नेपाली दाजुभाई दिदीबहिनीहरुको सहयोगले आज हामी यहाँसम्म आएका छौँ । सरकारको सहयोग छ, स्थानीय सरकारको सहयोग छ । एनजीओ र आईएनजीओको बजेटभन्दा बाहिर छ आश्रम । रामजीले प्रमाणित गरेका छन् यसरी पनि सेवा सम्भव हन्छ भनेर ।

सात सयका अभिभावक 
आश्रममा लक्ष्मीनारायण र बालगोपाल सात सयको हाराहारीमा छन् । सातसयको अभिभावक बनेका छन् रामजी । सात सय सबैका आफ्नाआफ्नो कथा छ । उनीहरुको कथा न भनिसाध्य छ, न सुनिसाध्य । यतिसम्मकी आश्रमले कहिले कानमा किरा परेकाहरुलाई बोकेर ल्याउँछ, कहिले खातखुट्टा, पेटमा किरा परेकाहरुलाई । र, नयाँ जीवन दिन्छ । कति पूर्ण निको भएर परिवारमा पुनर्मिलन समेत भएका छन् । 

गोरखाका रामजी सेवा निवृत्त सैनिकका सन्तान हुन् । रामजी फिस्स हाँस्दै आश्रमका सबै बालगोपाल र लक्ष्मीनारायणहरुलाई आफ्ना सन्तान मान्छन् । उनी भन्छन्, ‘निःस्वार्थ सेवामा जुन सन्तुष्टि पाइन्छ, त्यो अरु कुनैबाट पाउँदिनँ । मानव सेवा आश्रमको लागि मासिक ५० लाख हाराहारीमा खर्च हुन्छ । त्यो सबै मुठीदानबाट उठिरहेको रामजी बताउँछन् । 

मकवानपुरलाई सडक मानवमुक्त जिल्ला घोषणा गरिएको छ । गोरखा नगरपालिकालाई सडक मानवमुक्त र पशुपति मन्दिर परिसर मगन्तेमुक्त क्षेत्र बनिसकेको छ । भरतपुर महानगरपालिकालाई सडक मानवमुक्त पहिलो महानगरपालिका घोषणा गर्ने अभियान सुरु भएको छ । उनले भने, ‘२०८२ सालसम्म सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त समाज बनाउने लक्ष्यमा हामी हिँडेका छौँ, सबैको साथ र सहयोगले हामी पक्कै सफल हुनछौँ ।’

प्रतिक्रिया दिनुहोस