Safal Khabar - ज्वरो रक्त क्यान्सरको पनि लक्षण हो, यो डाक्टरले पनि सिकून्
आइतबार, २२ मङि्सर २०७६ (Sunday, 8 December, 2019)
ज्वरो रक्त क्यान्सरको पनि लक्षण हो, यो डाक्टरले पनि सिकून्
बिहिबार, १९ असार २०७६, १२ : ०१
ज्वरो रक्त क्यान्सरको पनि लक्षण हो, यो डाक्टरले पनि सिकून्

चितवन । भरतपुर क्यान्सर अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ हुनुहुन्छ डा. कृष्णसागर शर्मा । क्यान्सर अस्पतालमा एघारौँ तहको कन्सल्टेण्टका रुपमा कार्यरत रहनुभएको छ । डा. शर्मा बाल क्यान्सर युनिटका प्रमुखसमेत रहनुभएको छ । 

डा. शर्माले २०५८ सालमा एमबीबीएसको पढाई पूरा गरी २०६० सालमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मेडिकल अधिकृतका रुपमा सेवा प्रवेश गरे । 

२०६६ सालमा जापानको नेशनल क्यान्सर इन्स्टिच्युटबाट बाल क्यान्सर, ब्लड क्यान्सर र बोनम्यारो प्रत्यारोपण विषयमा अध्ययन गरेका थिए । उनै डाक्टर शर्मासँग बालबालिकामा हुने रक्त क्यान्सरको विषयमा सफल खबरले भरतपुर क्यान्सर अस्पताल पुगेर गरेको कुराकानी, उहाँकै शव्दमा :

Yeti Diistillery
nic asia

बालबालिकामा देखिने प्रमुख क्यान्सर भनेको नै रक्त क्यान्सर हो । विश्वमा बालबालिकामध्ये एक तिहाइमा एएलएल (एक्युट लिम्फोब्लाष्टिक ल्युकेमिया ) रक्त क्यान्सर देखिन्छ । जुन बालबालिकामा बढी देखिने रक्त क्यान्सर हो । यो क्यान्सर सेतो रक्त कोषमा हुने क्यान्सर हो । 

बोनम्यारोले रगत बनाउँछ । रगत बनाउने कोषहरुमध्ये सेतो रक्तकोषहरु परिपक्व नहुँदा यो क्यान्सर देखिन्छ । यो क्यान्सर भएका बिरामीलाई छदेखि आठमहिना भर्ना गरेर नियमित औषधी उपचार गर्नुपर्छ । यही अवधिमा किमोथेरापी दिइन्छ । 

बालबालिकालाई देखिने अन्य दुई रक्त क्यान्सर सीएमएल र एएमएल  (एक्युट माइलोइड ल्युकेमिया) हुन्छन् । यी दुई क्यान्सर बालबालिकामा अली कम हुन्छन् । सामान्यतया बालबालिकामा देखिने रक्त क्यान्सर एएलएल, सीएमएल र एएमएल गरी तीन प्रकारका हुन्छन् ।

एएलएल रक्त क्यान्सर छोरीमा देखिएको छ भने दुईवर्षसम्म उपचार गरेमा निको हुन्छ तर छोरामा क्यान्सर देखिएको छ भने करिब तीनवर्ष नियमित उपचार गनुपर्छ । छोरामा तीन वर्ष उपचार गनुपर्ने मुख्य कारण अण्डकोषमा क्यान्सर बाँकी रहन सक्छ । जसका कारण छोरालाई लामोसमय उपचार गनुपर्छ, पछि पुनः उक्त क्यान्सर नदोहोरियोस् । 

विकसित देशहरुमा रक्त क्यान्सर ८० देखि ९० प्रतिशत पूर्णरुपमा निको हुन्छ । हामीले पनि भरतपुर क्यान्सर अस्पतालमा रक्त क्यान्सर लागेर आएका ८० प्रतिशत बालबालिकालाई पूर्ण रुपमा निको बनाउन सकेका छौँ । बालबालिकाहरुमा के कारणले रक्त क्यान्सर देखिन्छ भन्ने अहिलेसम्म कुनै प्रमाणित भएको छैन । तर बालबालिका हुकाईको क्रममा जीनमा आएको परिवर्तनले नै बालबालिकामा रक्त क्यान्सर हुने गरेको पाइन्छ । 

जन्मनेबित्तिक्कै क्यान्सर पनि हुन सक्छ
सामान्यतयः २ वर्षदेखि १२ वर्षसम्म उमेरका बालबालिकालाई रक्त क्यान्सर बढी देखिएको छ । भरतपुर क्यान्सर अस्पतालमा यतिबेला २७ जना रक्त क्यान्सर भएका बालबालिका छन् । तीमध्ये धेरै २ देखि १२ वर्षसम्मकै छन् । 
जन्मनेबित्तिक्कै शिशुले क्यान्सर लिएर आएका पनि हुन  सक्छन् । तर त्यतिबेला थाहा हुँदैन, क्यान्सर परीक्षणमा ल्याइहाल्ने कुरा पनि भएन, विस्तारै उसलाई क्यान्सरका जिवाणुले आक्रमण गर्न थालेपछि अनि बल्ल हामीलाई थाहा हुन्छ । कतिको २ वर्ष, ५ वर्ष १० वर्ष, कतिको १५÷१७ वर्षमा देखिन्छ । 

तर केही हदसम्म गर्भवती महिलाले सिटीस्क्यान र भिडियो एक्सरे गरिएन भने जोखिम कम हुन्छ, तर भिडियो एक्सरे नगरी सुख पनि छैन । पछिल्लो समय अस्पतालमा क्यान्सरको उपचार गर्न आउने बालबालिकाको संख्या बढिरहेको छ । विश्वमा बालबालिकालाई हुने क्यान्सरमध्ये ५० प्रतिशत रक्त क्यान्सर देखिने गरेको छ । पहिलाको तुलनामा अहिले कुनै पनि समस्या देखिनेबित्तिकै तुरुन्तै उपचारका लागि ल्याउने गरेका छन् । क्यान्सर पनि निको हुन्छ भन्ने जनचेतना अभिभावकमा बढेको छ ।  

समयमा क्यान्सरका बिरामी उपचारका लागि आएमा कम खर्चमा उपचार हुन्छ । धेरै बालबालिकाले रक्त क्यान्सरलाई जितेका छन्, समयमै क्यान्सरको पहिचान गरी नियमित औषधि सेवन र फलोअप उपचारमा आउने बालबालिकाले सजिलै रक्त क्यान्सरलाई जित्न सक्छन् । 

बालबालिकामा देखिने लक्षण
धरैजसो रगतको क्यान्सरमा रगत जथाभावी बढ्ने हुन्छ । नाक, मुख, गिजा, छाला, पेट वा शरीरको अन्य भागमा अत्यधिक रक्तश्राव हुने गर्दछ । शरीरमा सेतो रक्तकोष डब्लुविसी अत्यन्त बढ्ने वा एकदम कम हुने गर्दछ । शरीरमा संक्रमण भइरहने, निमोनिया हुने, कडा खालको संक्रमण हुनसक्छ, हेमोग्लोविन घटेर बिरामी हिँड्न नसक्ने, स्वाँस्वा हुने, भ¥याङ चढ्दा अप्ठ्यारो हुने, थाकेको महसुस गर्ने, कान कराइरहेको जस्तो हुने, खुट्टा गल्ने हुन्छ । 

प्लेटलेस बढ्ने र रातो रक्तकोष बढ्ने क्यान्सरमा कि पक्षघात हुने कि मस्तिष्कघात हुने, कि हृदयघात पनि हुनसक्छ । रातो रगत अत्यन्त बढेर रगत बाक्लो हुने र जम्ने हुन्छ । रगत मुटु या दिमाग (गिदी) मा जम्दछ । त्यसले गर्दा हृदयघात वा मस्तिष्कघात हुने गरेको छ । यी बाहेक हड्डी भाँचिएर पनि रगतको क्यान्सर भएर आएका हुन्छन् । 

पहिलो लक्षण भनेकै हड्डी भाँचिन्छ । ढाड दुख्यो भनेर चिकित्सककहाँ जान्छन् । त्यो बेला हड्डी भाँचिएको भन्ने थाहा हुन्छ । त्यसको कारण खोज्दै जाँदा रगतको क्यान्सरले पनि हड्डी भाँचिएको हुन्छ । रोगमा हड्डी भाँचिएर वा मिर्गौला बिग्रिएको हुन्छ । मिर्गौला बिग्रियो भनेर डाक्टरकहाँ जाँदा रगतको क्यान्सरले गर्दा मिर्गौला बिग्रिएको भन्ने पत्तो लाग्दछ । 

रगत कमी भएर हुने क्यान्सर, शरीरमा गाँठागुँठी पलाएर हुने क्यान्सर, हड्डी भाँच्चिएर र मिर्गौला बिग्रिएर पनि रक्त क्यान्सर हुने गर्दछ । रगत बाक्लो भएर पनि रक्तक्यान्सर हुने गर्दछ । 
कतिपय बालबालिकामा घाँटीमा र काखीमा गाँठा आउँछ । सबैको एकै प्रकारको लक्षण देखिन्छ भन्ने छैन । यसको सुरुको लक्षण  ज्वरो हो । ज्वरो आउनेबित्तिक्कै हामी क्यान्सर भएकी भन्ने शंका गर्दैनौँ । 

उपचारमा ढिलो आउँछन् 
रक्त क्यान्सरको लक्षण पहिलो ज्वरो हो । ज्वरो आउनेबित्तिक्कै अभिभावक बालबालिकालाई लिएर मेडिकलतिर जान्छन् । क्यान्सरले ज्वरो आएको हो कि भन्ने सोच मानिसमा आउँदैन । अन्य औषधि खान्छन् । सम्बन्धित बाल रोग विशेषज्ञबाहेक अरु डाक्टरले ज्वरो आउँदैमा क्यान्सर पनि हुन सक्छ भन्ने भेउ नै पाउँदैनन् । ज्वरोका अन्य औषधि चलाउँछन्, बिरामीलाई महिना दिनसम्म विभिन्न परीक्षण गराउँदै हस्पिटलमा राखिन्छ, अनि लास्टमा बल्ल क्यान्सर अस्पतालमा आउँछन् । बिरामी आउँदासम्म ढिला भइसकेको हुन्छ । भरतपुर क्यान्सर अस्पतालमा आउने आधा रक्त क्यान्सरका बिरामी उपचारमा ढिला आइरहेका छन् । 

बालबालिकामा ज्वरो आउनेबित्तिक्कै तुरुन्तै रगत परिक्षण गर्नुपर्छ । रगत परीक्षण गर्दा गरेर रगतसँगै बोनम्यारो (हड्डीको रातो मासी) जाँच गर्दा क्यान्सर भए नभएको पत्ता लाग्छ । कोही कोही अभिभावक सुरुको अवस्थामा आफ्नो बालबालिकालाई आएको ज्वरो निकै भएन भनेर लिएर आउनुहुन्छ । पछि चेकजाँच गर्दा रक्त क्यान्सर देखिएको हुन्छ भने कोही आफ्नो बालबालिकालाई गम्भीर र अन्तिम अवस्थामा लिएर आउनुहुन्छ । 

क्यान्सर सुरुको अवस्थामा आफ्नो बालबालिका उपचारका लागि ल्यायौँ भने समयमा निको हुन्छ । तर ढिलो र गरेर उपचारका लागि आफ्ना बालबालिका लिएर आयौँ भने उनीहरुमा औषधी कडा चढाउनु पर्छ । औषधीको असरले गर्दा पनि जोखिम बढ्छ । 

अभिभावक, डाक्टरलाई तालिम आवश्यक
क्यान्सरको उपचारमा दुई वटा कुरा महत्वपूर्ण हुन्छन् । एउटा क्यान्सरलाई  सुधार्नुपर्छ । अर्को क्यान्सरलाई सिध्याउने गरी औषधी चलाउँदा बच्चालाई संरक्षण गनुपर्छ । त्यो औषधीले बच्चामा पनि असर गर्छ । हाम्रोजस्तो अविकसित देशहरुमा संक्रमण नियन्त्रण गर्न समस्या छ । किमोथेरापी दिँदा कतिपय बालबालिकाहरुमा संक्रमण हुने हुन्छ । 
क्यान्सर भएका बालबालिकाको अभिभावकको संक्रमण रोक्न महत्वपूर्ण भूमिका हुन्छ । अभिभावक आफूले पनि नङ् काट्नु पर्छ, साबुनपानीले हात धुनुपर्छ, सरसफाइमा ध्यान दिनुपर्छ, कपडा सफा लगाउनुपर्छ । किमोथेरापी दिएका बालबालिकाहरुलाई पनि धुलोमा लैजानुभएन । धेरै जना मानिससँग भेट्न दिनुभएन । खानेकुरा सफा शुद्ध दिनुपर्छ । यी सबै वातावरणको प्रभाव हुन्छ । अहिले नै विकसित देशहरुको बराबरको उपचारको दरअनुसार सफल गराउन सक्छौँ भन्न सक्दैनौँ । तर हामी जहाँ छौँ, त्यहाँबाट सुधार गर्न सक्छौँ । 

अहिले समस्या भनेको क्यान्सरको शंका नगरी अन्यको उपचार गरेर बस्ने डाक्टरहरु पनि यहाँ छन् । ज्वरो आउँदैमा पहिला त बिरामी क्यान्सर अस्पताल आउँदैन । अन्य अस्पताल जान्छ । त्यहाँका डाक्टरले अन्तिममा क्यान्सर अस्पताल पठाइरहेका हुन्छन् । ती डाक्टरहरुलाई यस्तो लक्षण भएमा क्यान्सर हुन सक्छ, यिनीहरुलाई क्यान्सर अस्पताल रिफर गर्नुपर्छ भन्ने विषयमा डाक्टरहरु समेत टे«निङ दिनुपर्छ । 
क्यान्सर भएका बालबालिकाको अभिभावकलाई कसरी संक्रमणबाट आफ्नो बालबालिकालाई जोगाउन भन्ने विषयमा शिक्षा दिनुपर्छ । स्वास्थ्यकर्मीहरु अन्य काम गर्ने कर्मचारीमा संक्रमण सम्बन्धी तालिम दिन सक्यौँ भने संक्रमण दर घटाउन सकिन्छ । 

उपचार
रगतको क्यान्सरको उपचार किमोथेरापी दिएर गर्ने हो । त्यसपछि बोनम्यारो प्रत्यारोपण गरिन्छ । यो बाहेक अन्य उपचार त्यति प्रभावकारी छैन । भरतपुर क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण छैन । कसैलाई रगतको क्यान्सर भयो भनेर अस्पताल आउनेलाई कस्तो खालको क्यान्सर हो छुुट्याएर उपचार गरिन्छ । जटिल क्यान्सर भएको छ भने ३० देखि ४० प्रतिशत सफल उपचार हुन सक्छ । हड्डी भाँचिएर वा मिर्गौला बिग्रिएर रगतको क्यान्सर (मल्टिपल मायोलोमा) भएको छ भने छुट्टै किसिमको उपचार गर्ने गरिन्छ । 

६५ वर्षमाथिको बिरामी छ भने पहिलो उपचार तीन–चारपटक किमोथेरापी दिएर बोनम्यारो प्रत्यारोपण गर्नुपर्छ । लिम्फोमा बिरामीलाई कतिपयलाई औषधि पनि नदिए हुन्छ । उनीहरूलाई हेरचाह गरे मात्र पनि पुग्छ । धेरैजसोलाई किमोथेरापी दिएर उपचार गर्नुपर्छ । लिम्फोमामा हजकिङ भन्ने बिरामीलाई पनि किमोथेरापी मात्र दिएर ७० देखि ९० प्रतिशत रोग निको पार्न सकिन्छ । किमोथेरापी दिएर पनि रोग बल्झिएर आएको खण्डमा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ । 

रगत बाक्लो हुने रोगमा बिरामीको अवस्था हेरेर उपचार गर्नुपर्छ । कसैलाई रगत फाल्नुपर्छ भने कोहीलाई औषधि दिएर पनि बचाउन सकिन्छ । रातो रगत मात्र बढेको छ भने औषधि खाएर र समयसमयमा रगत झिकेर पनि १५ देखि २० वर्ष बचाउन सकिन्छ ।

रोगको प्रकृति अनुसार उपचार हुने हुँदा रक्त क्यान्सर हुने बित्तिकै मरिहाल्छ भन्न मिल्दैन । १५–२० वर्षपछि अर्को औषधि आइसकेको हुन्छ । क्यान्सरका बिरामीलाई पाँच वर्ष बचाउनु भनेको ठूलो हो । अर्को पाँच वर्षमा अन्य औषधिहरूको विकास भइसकेको हुन्छ । बोनम्यारो प्रत्यारोपण अत्यन्त जटिल हुन्छ । हेर्दा एउटाको बोनम्यारो अर्कोलाई दिएजस्तो देखिन्छ तर धेरै गाह्रो हुन्छ । प्रत्यारोपणको क्षेत्रमा बोनम्यारो प्रत्यारोपण सबैभन्दा अप्ठ््यारो प्रत्यारोपणमध्ये पर्दछ । यो महँगो हुन्छ । 

प्रतिक्रिया दिनुहोस