संकटमा सरकार

ओली सरकार फेर्नु पर्ने भन्दै राजनीतिक वृत्तमा चर्चा सुरु

सरकार असफल बनाउनेहरुमा उपप्रधानमन्त्री इश्वर पोखरेलदेखि यातायातमन्त्री रघुवीर महासेठसम्म

सफल खबर संवाददाता

बुधबार, १८ असार २०७६, १४ : ०८
ओली सरकार फेर्नु पर्ने भन्दै राजनीतिक वृत्तमा चर्चा सुरु

काठमाडौंँ । जनअपेक्षा अनुसार काम गर्न नसकेका मन्त्रीलाई विदाई गरेर नयाँलाई अवसर दिने विषयमा सत्तारुढ नेकपाभित्र छलफल भएपनि औपचारिकरुपमा नहुँदा त्यो छलफल हल्लामा मात्रै सिमित भएको छ । पछिल्लो पटक नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो विषयलाई पुनः मुखरित गरिदिएपछि राजनीतिक बजारमा त्यसले चर्चा पाएको छ । 
कार्य सम्पादनका आधारमा हेर्ने हो प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका एकाध मन्त्रीबाहेक सबैको कार्यक्षमता र कार्यशैली शतप्रतिशत असफल भएको छ । जनतालाई झुक्याउन जे जस्ता तर्क गरे पनि ओली सरकारका मन्त्रीले जनताको पक्षमा वरको सिन्को पर सार्न सकेका छैनन् । त्यस आधारमा हेर्दा ओली नेतृत्वको सरकारको पूरै टिम फेर्नु पर्ने भन्दै राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ ।
कामभन्दा बढी गफ गर्न सिपालु प्रम ओलीले जनताको पक्षमा एकाध मिनेट पनि ध्यान दिएको पाइँदैन । सार्वजनिक रुपमा भाषण गरेको भरमा उनले जनतालाई साथ दिए, उनको पक्षमा निर्णय गरे, उनका लागि काम गरे भन्ने अवस्था छैन । भाषणले होइन राशनले मात्रै जनताको पेट भरिन्छ, रोजगारीले आर्थिक रुपमा योगदान गर्छ, उद्योगधन्दाको विकास भए आर्थिक विकास र समृद्धि समेत आउँछ भन्नेतर्फ उनले कुनै पनि ध्यान दिएको पाइँदैन । 
प्रधानमन्त्री निवास बालुवाटारमा बसेर षड्यन्त्र र धोकाधडी गर्नुबाहेक उनको अरु कुनै काम नभएको उनकै निकटस्थहरुको दाबी छ । ओलीलाई आफूले के के नै गरेँ भन्ने लाग्छ, तर उनले विगतका प्रधानमन्त्रीले भन्दा कमजोर कार्यसम्पादन गरेका छन् । सोही कारण पनि उनको विकल्प खोज्नु जरुरी देखिएको राजनीतिक क्षेत्रका जानकारहरुको टिप्पणी छ ।
यी हुन् सरकारलाई असफल बनाउनेहरु
उपप्रधानमन्त्री इश्वर पोखरेलको काम रक्षा मन्त्रालयमा बसेर ठेक्का पट्टामा सुँड घुसार्नेबाहेक अरु केही छैन । कुन कर्मचारीलाई कहाँ सरुवा गर्ने, कोबाट के कति मात्रामा रकम झार्ने, गुट कसरी बिस्तार गर्नेभन्दा अरु ध्यान उनको छैन । भान्जी, सालासाली तथा आफन्तलाई कुन स्थानमा कसरी सेट गर्ने कार्यसूची उनको रहेको छ । 
उनका निकटस्थहरुका अनुसार, पूर्वमाओवादीका नेताहरुको खोइरो खन्ने, पार्टी एकताविरुद्ध अभिव्यक्ति दिने र जनताको अपेक्षामाथि तातोपानी खन्याएर स्वार्थसिद्ध गर्ने उनको विशेष क्षमता भएका कारण उनलाई वर्तमान सरकारको विभागीय मन्त्रीबाट हटाउनु पर्ने माग उठेको छ । 
कार्यसम्पादनमा कमजोर रहेका मातृकाप्रसाद यादव, जगतबहादुर विक, खानेपानी मन्त्री बीना मगर, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठलाई पनि तत्काल हटाउनु पर्ने आवाज उठेको छ । पैसामा भन्दा अन्यत्र ध्यान नभएका रघुवीर महासेठका कारण सरकारको इमेज नै खराब भएको छ । 
सडक विभागको ठेक्कापट्टादेखि ठूला आयोजनाको ठेक्कापट्टामा हात हाल्ने, भारतीय लगानीका आयोजनालाई बढ्ता चासो र अन्यका फाइल लुकाएर राख्ने विशेष क्षमता भएका महासेठलाई हटाएर उनको स्थानमा काबिल मन्त्री नियुक्त गर्नु पर्ने आवाज उठेको छ । केरुङ काठमाडौं रेलमार्गको काम अगाडि बढ्न नस्क्नुको खास कारण नै उनी रहेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका उच्च अधिकारी नै बताउँछन् । 
परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रदीपकुमार ज्ञवाली पनि करिब करिब असफल देखिएका छन् । प्रधानमन्त्रीको सवारी मन्त्रीभन्दा बढी उनले अरु कुनै क्षमता देखाउन सकेका छैनन् । गफ गर्न राम्रै जानेका मन्त्री ज्ञवालीले नेपाल र नेपालीको शिर निहुराएको भन्दै चर्को आलोचना भएको छ । 
इन्डोप्यासेफिक रणनीतिमा अमेरिकाको पक्षमा उनले काम गरेका छन् । त्यसबाट छिमेकी चीनलाई घेर्न उनले स्वीकृति दिएका छन् । त्यसबाट नेपालमा पर्ने नकारात्मक प्रभावका बारेमा कुनै छलफल नै नगरी ज्ञवालीले अमेरिकन स्वार्थलाई हावी हुन दिएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडा र सामानय प्रशासनमन्त्री लालबाबु पण्डितको पद पनि धरापमा परेको छ ।
मन्त्रीबाट हट्ने लिस्टमा महिलामन्त्री थममाया थापा, सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा पनि रहेका छन् । कामभन्दा बढी विवाद भएका र केवल कमाऊ धन्दमा मात्रै लागेका उनीहरुलाई नहटाएसम्म सरकारको कामले गति नलिने विश्लेषकहरुको टिप्पणी छ । यस्तै वनमन्त्री शक्ति बस्नेत पनि हट्ने सूचीमा रहेका छन् । बस्नेतलाई हटाउन पूर्वमाओवादी पंक्तिभित्र समेत दबाव बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस