कोपा अमेरिकाकपको सेमिफाइनल : अर्जेन्टिना र ब्राजिलको खेल जारी

ब्राजिल एक गोलले अगाडी

सफल खबर संवाददाता

बुधबार, १८ असार २०७६, ०७ : ०५
कोपा अमेरिकाकपको सेमिफाइनल : अर्जेन्टिना र ब्राजिलको खेल जारी

काठमाडौं । फुटबलका महाहस्ती अर्जेन्टिना र ब्राजिलको बहुप्रतिक्षित खेल अहिले जारी छ । कोपा अमेरिका कपको सेमिफाइनल खेलका लागि यी दुई महारथीहरु भिडिरहेका छन् ।

आयोजक ब्राजिलको खेल मैदानमा जारी खेलमा अहिले पहिलो हाफको खेल भईरहेको छ । खेलको १८ मिनेटमा ब्राजिलका ९ नम्बरका खेलाडी ग्रावियल जेसिसले गोल गरेका हुन् ।

अधिकांश अर्जेन्टनी मिडियाहरुले यो खेलमा  लिओनल मेसीलाई खेल अवधिभर बिना दबाब खेल्न दिइनुपर्ने सुझाव दिएका छन् । ब्युनस आयर्स टाइम्समा खेल पत्रकार ड्यान इडवार्डस् लेख्छन, ‘अर्जेन्टिनाको मौजुदा टिमले ब्राजिलको सामना गर्न सजिलो छैन तर यसअघिका खेलहरुबाट टिम मेसीले सिक्न जरुरी छ ।’


रणनीतिक र सन्तुलित मात्र नभएर बिना दबाब मेसीलाई मैदानमा उतार्न सकियो भने अर्जेन्टिनाले अपेक्षाकृत परिणाम दिन सक्ने विश्लेषण उनको छ । तर उता, अधिकांश ब्राजिलियन अखबारहरुले अर्जेन्टिनासँगको अबको खेल अर्को ऐतिहासिक हुने तर्क गरिरहेका छन् । उनीहरुले ब्राजिलका लागि यो खेल सहज हुने तर लिओनल मेसीलाई भने खेलाडीहरुले दबाबमा राख्नुपर्ने बताइरहेका छन् ।

‘आत्मविश्वास गुमाउनुभएन, खेल जित्न त्यति गाह्रो छैन,’ द रियो टाइम्स लेख्छ, ‘अर्जेन्टिनाले कोपा अमेरिकामा खेलेका खेलहरु हेर्दा उसको खेल स्तरमा सुधार आएको देखिँदैन । तर ब्राजिलसँगले शक्ति सञ्चय गरेको हुन सक्छ । त्यसकारण ब्राजिल पनि रणनीतिक हुन जरुरी छ ।’

कोपा अमेरिकाका लागि मात्र होइन विश्व फुटबलकै लागि ब्राजिल र अर्जेन्टिना दुबै देश ‘पावर हाउस’ हुन् । फुटबल विश्वकपको इतिहासदेखि नै यी देशका खेल र खेलाडीका किस्सा प्रसंशकका लागि आकर्षण बन्दै आइरहेका हुन् । त्यसैले पनि कोपा अमेरिकाको यो खेललाई सबैले महत्वका साथ हेरिरहेका छन् । यसबाहेक यी दुई देशबीच हुने खेल किन पनि महत्वपूर्ण छ भने, यो खेलमा जसले जित्नेछ ऊ जारी कोपा अमेरिकाको फाइनलमा पुग्नेछ । त्यसैले पनि दुबै टिम आफ्नो रणनीतिमा सजग देखिन्छन् । 

प्रतिक्रिया दिनुहोस