ओली–प्रचण्डबीच टुट्यो संवाद

गत शनिबारयता नेकपाका दुई अध्यक्षका बीचमा कुनै संवाद समेत हुन सकेको छैन

सफल खबर संवाददाता

बुधबार, ११ असार २०७६, ०७ : १६
ओली–प्रचण्डबीच टुट्यो संवाद

काठमाडौं । नेकपाका जोर पाइलट प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच शनिवार यता संवाद टुटेको छ । दुई अध्यक्षका बीचमा दैनिकजसो भेटघाट र टेलिफोन वार्ता हुने गरिएको भएपनि चार दिन यता भने न भेटघाट , न टेलिफोन संवाद नै हुन सकेको छ ।

‘गत शनिबार सचिवालय बैठकवाट निस्केयता दुई अध्यक्षका बीचमा भेटघाट त भएको छैन, टेलिफोन संवाद पनि हुन सके जस्तो लाग्दैन,’ प्रधानमन्त्रीका नीजि सचिवालयका एक सदस्यले बताए ।

हुन त शनिबारको सचिवालय बैठक सकेर निवास फर्केपछि प्रचण्ड वालुवाटार छिर्न समेत भ्याएका छैनन । आइतबार उनी गृहजिल्ला चितवन लागेका थिए । चितवनको ब्यस्त कार्यतालिकाका बीच तीन दिन चितवनमा बिताएर उनी हिजो मंगलवार मात्र काठमाडौं फर्किएका छन् ।

‘अध्यक्ष चितवनको कार्यक्रममा ब्यस्त रहनु भएकोले संवाद नभएको हो, टुटेको नै भन्ने छैन, सम्भवत आज भेटघाट हुन सक्छ,’ दाहालको सचिवालयले भन्यो । दुई नेताबीच राजनीतिक प्रतिवेदन प्रकाशनका सन्र्दभमा कार्यदिशाको विवाद देखिएको थियो । अध्यक्ष प्रचण्ड पार्टी एकताका क्रममा भएको समझदारी, सचिवालयले पारित गरेको दस्तावेज र गत मंसिरको स्थायी समिति बैठकले समेत पारित गरिसकेको जनताको जनवादको कार्यदिशामा तलमाथी नगरी इमान्दारितापूर्वक सहमति सम्झौता कार्यान्वयन गरेर जानुपर्ने पक्षमा छन् ।

तर प्रधानमन्त्री ओली पछिल्ला दिनमा पार्टीभित्रकै उनका खेमाहरुको दबाबमा प्रतिवेदन प्रकाशन अगाडी पूनः प्रतिवेदन पूनलेखन गर्नुपर्ने पक्षमा उभिएका छन् । प्रतिवेदन पूर्नलेखन गर्ने भनेपनि ओलीले के के विषयमा पूर्नलेखनको आवश्यकता ठानेका हुन्, त्यो भने प्रष्टाएका छैनन । कतिपयले कार्यदिशामै पूर्नलेखन ओलीको चाहना भएको बताएपनि केहीले दस्तावेजको अन्तराष्टिय खण्डमा गरिएको विश्लेषणका विषयमा पूर्नलेखन चाहेको पनि बताउन थालेका छन् ।

गत शनिवार दस्तावेज सामान्य भाषा मात्र सच्चाएर प्रकाशनमा लैजाने या पूर्नलेखन नै गर्ने भन्ने विवादका बीच अनिर्णित बन्यो । अब प्रतिवेदनका विषयमा कुनै निक्यौल नभएसम्म केन्द्रीय सदस्यहरुको कार्यविभाजन लगायत अन्य एकताका लागि बाकी रहेको संगठनात्मक प्रस्तावका विषयमा नेकपाको सचिवालय बैठकले प्रवेश नपाउने नेताहरुले नै बताउन थालेका छन् । यही बीच १३ असार सम्मका लागि पार्टी महासचिव दक्षिण कोरियामा रहने भएकोले सचिवालय बैठक अझै कहिले बस्छ टुंगो छैन ।

सचिवालय बैठक कहिले बस्ने भन्नेमा दुई अध्यक्षले कुनै तयारी समेत गरेका छैनन । ओली–प्रचण्डबीच राजनीतिक प्रतिवेदन, पार्टीको कार्यदिशा लगायतका विषयमा देखिएको विवाद मिलाउने एउटा सहमतिको बिन्दुमा नपुगेसम्म सचिवालय बैठक अनिश्चित नै हुने एक सचिवालय सदस्यले नै बताए ।

शनिवारको बैठकमा देखिएको मतभेदमा ओलीलाई महासचिव विष्णु पौडेल र सचिवालय सदस्य इश्वर पोखरेलले मात्र साथ दिएका थिए । नौँ सदस्यीय सचिवालयमै ओली अल्पमतमा पर्न थालेपछि उनले वैठक अनिर्णित बनाएका हुन् ।त्यसयता दुई अध्यक्षको संवाद टुटेको हो । दुबै अध्यक्षले त्यसयता आफु निकट नेताहरुसँग संवाद बढाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस