देवघाट स्वर्ग रहेछ : उपराष्ट्रपति नन्दबहादुर पुन

प्रकाश सिग्देल

शुक्रबार, ०६ असार २०७६, १६ : २५
देवघाट स्वर्ग रहेछ : उपराष्ट्रपति नन्दबहादुर पुन

चितवन । उपराष्ट्रपति नन्दबहादुर पुनले देवघाटधामको निरीक्षण गर्नु भएको छ । आज बिहान अन्तर्राष्ट्रिय योग दिवस उद्घाटनपछि केही समय योग गरी उहाँ देवघाट पुग्नु भएको हो । 
उहाँलाई देवघाटमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलसहितको टोलीले देवघाटका सबै धार्मिक केन्द्र तथा मठ मन्दिरहरुको भ्रमण गराएको थियो । देवघाट बसपार्कमा सवारी रोकी पुल तरेर पैदल हिँड्नु भएका उपराष्ट्रपति पुनले देवघाटका आश्रमहरुको अवलोकन गर्दै देवघाट बेणी संगममा गई जलसेचन गर्नु भएको थियो । 
उहाँले देवाघाटको मणिमुकुन्दसेन पार्क, सीता गुफा लगायतका महत्वपूर्ण स्थान र मठ मन्दिरको करिब ३ घण्टा समय लगाएर अवलोकन गर्नु भएको थियो । उहाँलाई देवघाटका महन्तहरुले स्वागतसहित खादा ओढाएर आशीर्वाद दिएका थिए । उपराष्ट्रपति पुनलाई देवघाट क्षेत्र विकास समितिका अध्यक्ष पौडेलले देवघाटको महत्व र सरकारका तर्फबाट भएका कामहरुको बारेमा जानकारी गराउनु भएको थियो । 
साधुसन्तहरुलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले देवघाटको दर्शन गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो । मानव सभ्यताको विकासको इतिहास बोकेको सनातनदेखि चल्दै आएको संस्कार, संस्कृति, रीतिरिवाजको संगमस्थल देवघाट भएको बताउँदै उहाँले यसको संरक्षणमा लाग्न सबैलाई आग्रह गर्नुभयो । 
देवताहरुको संगमस्थल, भेटघाटस्थल, तपस्यास्थल यो स्वर्ग भएको उहाँको भनाई थियो । जहाँ देवताहरुको बास हुन्छ, जहाँ ऋषिहरुले तपस्या गर्छन् त्यही भूमि स्वर्ग हुने भन्दै उहाँले देवघाट स्वर्ग भएको बताउनु भयो । देवघाटकोे संरक्षण र विकासमा सबैले ध्यान दिनु पर्ने उहाँको भनाई थियो । राष्ट्रिय विभूति माता सीता लोप भएको स्थान दर्शन गर्न पाउँदा खुसी लागेको बताउँदै उहाँले इतिहास, मानव सभ्यताको विकासको आधार र धर्मसंस्कृतिको संरक्षणका लागि सबैले प्रयास गर्नु पर्ने बताउनु भयो । 
पूर्वीय सभ्यताको इतिहासको उद्गमस्थल देवघाटको संरक्षण र संवद्र्धनमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकाले उचित बजेट विनियोजन गर्नु पर्ने उहाँको भनाई थियो । उपराष्ट्रपति पुनको साथमा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्ल लगायत सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस