भरतपुर महानगरपालिकामा सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम

रोजगारी आमनागरिकको संवैधानिक अधिकार : भरतपुर महानगर प्रमुख रेनु दाहाल

सफल खबर संवाददाता

शुक्रबार, ०६ असार २०७६, १२ : २२
भरतपुर महानगरपालिकामा सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम

चितवन । भरतपुर महानगरपालिकाले शुक्रबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ । रोजगार कार्यक्रमको उद्घाटन एक समारोहबीच महानगरपालिका प्रमुख रेनु दाहालले गर्नुभयो । 
रोजगारी आमनागरिकको संवैधानिक अधिकार भएको बताउँदै महानगर प्रमुख दाहालले नागरिकको अधिकार र आवश्यकता पूरा गर्न आफू प्रतिबद्ध रहेको बताउनु भयो । पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र सुशासनलाई रोजगारीसँग जोडेर समृद्धिको यात्रालाई अगाडि बढाउन भरतपुर महानगरपालिका योजनाबद्ध ढंगले अगाडि बढिरहेको उहाँले बताउनु भयो । 
महानगरपालिका प्रमुख दाहालले सरकारी, निजी र सहकारीसंग सहकार्य गरी बेरोजगार श्रम शक्तिको ज्ञान, सीप र क्षमताको आधारमा नयाँ नयाँ श्रम क्षेत्रको खोजी गर्दै अगाडि बढ्ने बताउनु भयो । भरतपुर महानगरपालिकाले महानगरपालिकाका २९ वटै वडामा कार्यक्रम गर्ने र वडामा परेका बेरोजगार निवेदन, वडाको अबस्था, बेरोजगारको चाहना बमोजिम पहिलो चरणमा तीन सय ८४ जनालाई रोजगारी दिने र यसको सुरूवात वडा नं. २१ र २२ वडामा आजबाट सुरु भएको बताउनु भयो । उहाँले ४ हजारको हाराहारीमा बेरोजगार निवेदन महानगरपालिकामा परेको बताउँदै आगामी दिनहरूमा यसको ब्यवस्थापन गर्दै लैजाने बताउनु भयो ।
प्रमुख दाहालले योग्य श्रमशक्ति विदेश पलायन हुने देशकै ठूलो समस्याको रूपमा रहेको बताउँदै यसलाई रोकी देशमै रोजगारी सिर्जना गरेर अगाडि बढ्न प्रधानमन्त्री रोजगार कार्यक्रम सहयोगी हुने बिश्वास लिएको बताउनु भयो । दाहालले श्रम ठूलोसानो नहुने भन्दै गर्बकासाथ यो कार्यक्रममा सहभागी हुन आग्रह गर्दै परिवर्तन आफैबाट सुरू गर्न सहभागी सबैलाई आग्रह गर्नुभयो । उहाँले रोजगार कार्यक्रम उत्पादन र विकासको पक्षमा केन्द्रित हुनुपर्ने बताउनु भयो ।


महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिकाले पूर्बाधार विकासका कामलाई तीब्र गतिमा अगाडि बढाइरहेको बताउँदै आगामी नगर परिषदबाट कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सहकारी र सुशासनबाट उत्पादनलाई जोड दिने नीति तथा कार्यक्रम तय गरी दिगो र आत्मनिर्भर विकासको लक्ष्यसहित यसलाई प्रभावकारी ढंगले अगाडि बढाउने बताउनु भयो । प्रमुख दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिचमा केही अवरोध सृजना भएर काम रोकिएको बताउँदै सबै अवरोधहरूको समाधान भैसकेको भन्दै कुनै पनि मूल्यमा रंगशाला बनाइछाड्ने बताउनु भयो ।
कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले राष्ट्रले लिएको रोजगार कार्यक्रमलाई सार्थक बनाउने दायित्व स्थानीय तहलाई आएको बताउँदै यसबाट लाभ लिन सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका सामाजिक महाशाखा प्रमुख प्रद्युम्न उपाध्यायले रोजगारी मानवीय जीवनको अभिन्न पाटो भएको बताउँदै सबै नागरिकलाई रोजगार बनाउने सरकारको कार्यक्रम सम्पन्न गर्नु सबैको सामुहिक दायित्व रहेको बताउनु भयो ।
भरतपुर महानगरपालिकाका रोजगार अधिकृत बिनोद खरालले कार्यक्रमको बारेमा जानकारी दिनु भएको थियो । उहाँका अनुसार रोजगारी पाउनेहरुले पारिश्रमिकमा आधारित रहेर २० दिनसम्म दैनिक ८ सय रूपैयाँका दरले पारिश्रमिक पाउने छन् ।
वडा नं. २२ का अध्यक्ष बिष्णुराज महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रामहरी सेढाइ, नेपाली काँग्रेसका कुमारप्रसाद थपलिया लगायतले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो । 
यसैगरी वडा नं. २१ मा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर २१ मा २२ जनाले २० दिनका लागि रोजगार प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस