एटिएमजस्तै सेनेटरी प्याड मेशिन

बुधबार, ०४ असार २०७६, १७ : २६
एटिएमजस्तै सेनेटरी प्याड मेशिन

स्याङ्जा । फेदीखोला गाउँपालिकास्थित सिद्धार्थ माध्यमिक  विद्यालयमा एटिएमबाट पैसा झिकेजस्तै गरी सेनेटरी प्याड झिक्न सकिन्छ । विद्यालयका छात्राले आफूलाई आवश्यकता परेका समयमा विद्यालयमा जडान गरिएको सेनेटरी प्याड मेशिनमा एटिएमबाट कार्ड छिराएर पैसा झिके जसैगरी स्मार्ट कार्ड छिराएर  प्याड निकालेर प्रयोग गर्न पाएपछि छात्रामा खुशीयाली छाएको छ  । 

कक्षा १० की अङ्किता खड्काले विद्यालयमा भेन्डिङ मेशिन राखेपछि धेरै सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेशिन हुनुभन्दा पहिले कक्षाकोठामा पढ्दापढ्दै रजस्वला भएमा पढाइ नै छाडेर घर जानुपर्ने बाध्यता थियो । अहिले त्यो समस्या छैन ।”सोही विद्यालयकी कक्षा ९ की प्रतीक्षा शर्माले रजस्वला हँुदा विद्यालयमा डराइडराइ आउनुपर्ने र बिदा मागेर कक्षा बीचमै छाडेर घर जानुपर्ने बाध्यता  मेशिन आएपछि अन्त्य भएको बताउनुभयो । विद्यालयकी शिक्षिका जमुना काफ्लेले मेशिन प्रयोगमा आएसँगै छात्राको सिकाइमा धेरै सहजता पाइएको अनुभव सुनाउनुभयो । पहिले पहिले छात्राले लुकाउने गरेका कुरा यन्त्रको प्रयोगसँगै खुलेर राख्न थालिएको र  यसले नतिजामा समेत राम्रो प्रभाव पारेकोे शिक्षिकाको भनाइ थियो । 

कक्षा ६ देखि माथिका छात्रालाई लक्ष्य गरी गाउँपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको संयुक्त सहकार्यमा रु ८८ हजारको लागतमा महिनावारी स्वच्छता व्यवस्थापनका लागि विद्यालयलाई भेन्डिङ मेशिन उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । रजस्वला भएकै कारण कक्षा छाड्ने विद्यार्थीले अब यो समस्याबाट छुट्कारा पाउने गाउँपालिका उपाध्यक्ष देवी थापाले विश्वास व्यक्त गर्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस