राप्तीमा पोखरी खनेपछि खैरहनीमा सिँचाइ प्रभावित

बुधबार, ०४ असार २०७६, १३ : ०५
राप्तीमा पोखरी खनेपछि खैरहनीमा सिँचाइ प्रभावित

चितवन । राप्ती नगरपालिकामा निर्माण गरिएको पोखरीका कारण खैरहनी नगरपालिकाका कृषक प्रभावित बनेका छन् । राप्ती नगरपालिका–६ को राप्ती एकता मध्यवर्ती सामुदायिक वनभित्र निर्माण गरिएको भस्माडी तालका कारण खैरहनी नगरपालिका–१० का कृषक सिँचाइ गर्नबाट वञ्चित भएका हुन् । राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार २०५० सालअघि सो स्थानमा पोखरी रहेको थियो । उहाँले भन्नुभयो, ‘‘त्यतिबेला आएको ठूलो बाढीका कारण पुरिएको पोखरीलाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले व्यवस्थित गरिएको हो ।

बरालका अनुसार रु एक करोड ६८ लाख लागतमा ४६ बिघा क्षेत्रफलमा पानीको मुहान क्षेत्रलाई व्यवस्थापन गरी ताल बनाइएको छ । यसको निर्माणमा प्रदेश सरकारको ५०, समुदायको ३० र राप्ती नगरपालिकाको २० प्रतिशत लगानी रहेको छ । पोखरीले नभएर पानीको मूल फुटी नसकेकाले समस्या भएको बरालको भनाइ छ । पर्यटन प्रवद्र्धन गर्न पोखरी र खेती गर्न कुलो दुवै हुने गरी व्यवस्थापन गरिने उहाँले बताउनुभयो । 

पोखरी निर्माण हुँदा कतिपय मूल पनि पुरिएको स्थानीयवासीको भनाइ छ । बाँध बनाएर पोखरी बनाइएको छ । बाँधबाट चलनचल्तीको कुलोमा पानी जान बन्द भएको छ । 

पोखरीको दक्षिणतर्फ हाल बनाइएको वैकल्पिक कुलो प्रयोगका हिसाबले अनुपयुक्त रहेको स्थानीय किसान बताउँछन् । बूढी राप्ती जल उपभोक्ता समितिका अध्यक्ष बामन महतोले ताल निर्माणले मूल पुरिएको र कुलो थुनिएको कारण सिँचाइमा समस्या परेको बताउनुभयो । महतोका अनुसार त्यस कुलोको पानीबाट १०५ हेक्टर जमीन सिञ्चित हुने गरेको छ । पानी बन्द हुँदा कृषकलाई मर्का परेको उहाँले बताउनुभयो । 

खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले पोखरीको बाँधले कुलो थुनिएकाले किसानलाई समस्या परेको विषयमा आफू जानकार रहेको बताउनुभयो । पोखरी पनि बन्ने, किसानको सिँचाइको समस्या पनि टर्ने गरी उपायको खोजी गर्ने काम भइरहेको चौधरीको भनाइ छ । –रासस

प्रतिक्रिया दिनुहोस