अख्तियारमा स्थानीय तहका उजुरीको चाङ

मंगलबार, ०३ असार २०७६, १३ : ४७
अख्तियारमा स्थानीय तहका उजुरीको चाङ

– काशीराम शर्मा

बाँके । स्थानीय तहबाट सम्पादन गरिएका कामका सम्बन्धमा अनियमित अख्तियारमा उजुरीको चाङ नै लागेको छ । तीन वटा जिल्ला हेर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जमा मात्रै चालू आव २०७५/७६ मा स्थानीय तहका ११६ वटा उजुरी दर्ता भएका छन् ।

चालू आवमा मात्रै अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जमा दाङ, बाँके र बर्दियाका ३३८ वटा उजुरी परेका छन् । सङ्घीय व्यवस्थापछि स्थानीय तहमा विभिन्न कार्यालय गाभिए । विकास निर्माणसँगै स्वास्थ्य र शिक्षाको जिम्मेवारी पनि स्थानीय तहमा छ । बजेटको उपलब्धतासँगै स्थानीय तहबाट भएका काममा उजुरी पर्ने क्रम पनि बढेको हो । 
अख्तियारमा बाँकेमा मात्रै ७० वटा उजुरी छन् । बर्दियाका २० र दाङका २६ वटा उजुरी चालू आवमा दर्ता भएका छन् । बाँकेमा सबैभन्दा बढी खजुरा गाउँपालिकाको काम कारवाहीमा २१ वटा उजुरी परेको छन् । 

नेपालगञ्ज उपमहानगरपालिका–१६, कोहलपुर नगरपालिका नौ, बजैनाथ गाउँपालिका तीन, जानकी गाउँपालिका दुई, राप्तीसोनारी गाउँपालिका सात, नरैनापुर गाउँपालिका पाँच र डुडुवा गाउँपालिकाको तीन उजुरी परेका छन् । दाङमा तुलसी उपमहानगरपालिका आठ, घोराही उपमहानगरपालिका तीन, लमही नगरपालिका पाँच, बङ्गलाचुली गाउँपालिका एक, राजपुर गाउँपालिका तीन, राप्ती गाउँपालिका एक, शान्ति नगर गाउँपालिका चार र बबई गाउँपालिका तीन वटा उजुरी अख्तियारमा परेको सम्पर्क कार्यालय नेपालगञ्जका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बर्दियाको गुलरिया नगरपालिका सात, मधुवन, बारबर्दिया र राजापुरको एक÷एक, ठाकुरबाबा गाउँपालिका तीन, बढैयाताल र गेरुवा गाउँपालिकाको दुई वटा उजुरी अख्तियारमा परेका छन् । “प्राप्त उजुरीहरुमा आवश्यक कारवाहीहरु गरिरहेका छौँ”, अख्तियारको सूचना अधिकारी पौडेलले भन्नुभयो । तीन जिल्लाको जिम्मेवारी पाएको अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जमा उजुरी हेर्ने प्रमुखसहित तीन जना कर्मचारी मात्रै छन् । 

बाँकेमा स्थानीय तहबाहेक अन्य कार्यालयका १२२ उजुरी दर्ता भएका छन् । बाँकेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धित कार्यालयका २७ उजुरी अख्तियारमा छ भने बर्दियामा १९ र दाङको १२ वटा उजुरी परेका छन् । तीन जिल्लामा वन तथा वातावरण मन्त्रालयअन्तर्गतका कार्यालयहरुका ४३ उजुरी रहेको सूचना अधिकारी पौडेल बताउनुहुन्छ । जसमा बाँकेमा २१, बर्दिया र दाङमा ११÷११ वटा उजुरी छन् । 

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मातहतका कार्यालयहरुको उजुरी बाँके १८, बर्दिया आठ र दाङको चार वटा रहेका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत रहेका कार्यालयहरुको बाँकेमा १० र दाङको उजुरी एक वटा अख्तियारमा रहेको छ । 

अख्तियारले प्राप्त उजुरीहरु अनुसन्धानका लागि कागजात मगाउने, सोधपुछ गर्ने, निर्देशन दिने र थप कारवाही आवश्यक परे केन्द्रमा लेखी पठाउने गरेको छ । भ्रष्टाचारको गुनासोपछि अख्तियारले ‘स्टिङ अपरेशन’मार्फत पनि भ्रष्ट कर्मचारीलाई ट्र्यापमा पार्ने गरेको छ । 

चालू आवमा अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जले १२ वटा स्टिङ अपरेशन गरेको सूचना अधिकारी पौडेल बताउँछन् । अख्तियारले सात बाँकेमा, तीन बर्दियामा र दाङमा दुई वटा स्टिङ अपरेशन गरेको हो । “नागरिकबाट भ्रष्टाचारको गुनासो आइरहने कार्यालयमा हाम्रो टिमले निगरानी गरिरहेको हुन्छ”, पौडेलले भन्नुभयो ।(रासस)

 

प्रतिक्रिया दिनुहोस