लोक सेवा आयोगको विज्ञापन खारेजीको माग

सफल खबर संवाददाता

सोमबार, ०२ असार २०७६, १८ : ४५
लोक सेवा आयोगको विज्ञापन खारेजीको माग

चितवन । लोक सेवा आयोगले जारी गरेको विज्ञापन खारेजीको माग गदै चितवनका दलित समुदाय आन्दोलित बनेका छन् । उनीहरु समावेशी समानुपातिक सिद्धान्त विपरीत आयोगले विज्ञापन खुलाएको भन्दै विज्ञापन खारेजीको मागसहित आन्दोलित बनेका हुन् । 
चितवनका दलितहरू सडकमा उत्रिएर शान्तिपूर्ण विरोध र्याली गरेका हुन् । विरोध र्यालीमा लोकसेवा आयोगद्वारा जारी गरिएको विज्ञापन खारेज गर, समतामूलक सहभागीता आजको आवश्यकता, जातिय विभेद अन्त्य होस लगायतको नारा सहितको प्ले कार्ड समेत प्रदर्शन गरेका थिए । 
नेपाल उत्पीडित जातीय मुक्ति समाज चितवन, नेपाल दलित मुक्ति मोर्चा चितवन, विश्वकर्मा सेवा समाज चितवन, परियार सेवा समाज चितवन, नेपाल मिजार गुठी समाज चितवन, दलित समाज सेवा क्लब चितवन, संयुक्त दलित युवा समाज चितवको संयुक्त आयोजनामा वृहद विरोध र्याली निकालिएको थियो । विरोध र्याली हाकिमचोकहुँदै जिल्ला प्रशासन कार्यालय पुगेर सभामा परिणत भएको थियो । 
उनीहरुले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ४ बुँदे ज्ञापनपत्र बुझाएका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य चक्र रुचाल र नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय नेता खेम दर्जीले प्रजिअ बस्नेतलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै प्रजिअ बस्नेतले यथाशीघ्र दलित समुदायहरूको माग सम्बोधनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने बताए ।

प्रतिक्रिया दिनुहोस