पार्टी एकता भाँड्न ईश्वर पोखरेल गर्दैछन् बकबक

सफल खबर संवाददाता

मंगलबार, २८ जेठ २०७६, १४ : ५६
पार्टी एकता भाँड्न ईश्वर पोखरेल गर्दैछन् बकबक

काठमाडौं । सिंहदरबार वरपर चक्कर काट्ने भूमिकामा रहेको तत्कालीन नेकपा (एमाले) लाई तत्कालीन नेकपा (माओवादी केन्द्र) ले नै त्राण भरेको थियो । आज बनेको नेकपामा माओवादी आन्दोलनको हिस्सा पनि जोडिएको छ । विगतमा माओवादी केन्द्र र एमालेका बीचमा पार्टी एकताको क्रममा केही सम्झौता भएका छन् । यो आमरुपमा सार्वजनिक छ । त्यही सम्झौतालाई कथित भनेर पार्टी एकता भाँड्न ईश्वर पोखरेल बकबक गरिरहेका छन् ।
विगतमा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन माओवादी केन्द्रसँगको सहमति तथा सम्झौता कार्यान्वयन नगर्दाको परिणाम त्यो दलले भोगेकै थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै जोडबल गरेर दुई पार्टी मिलेर नेकपा बनेको हो । तर पछिल्ला दिनमा पार्टी हाम्रो हो, मेरो हो, एमालेको हो, ममात्रै हो भन्ने कुतर्क गर्ने जमात पूर्वएमाले पंक्तिबाट देखिन थालेको छ । 
पार्टी एकताको क्रममा भएका सम्झौता र सहमतिलाई लत्याएर पार्टी छाडेर गए हुन्छ, यो एमाले हो भन्ने शैलीमा केपी ओलीनिकट बताउने केही हुँडार प्रवृत्तिका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालको भित्तो फोहोर पार्न थालेका छन् ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल उक्त हँुडार प्रवृत्तिको प्रमुख मुखियाको रुपमा देखिएका छन् । विगतमा पार्टी एकता भाँड्न उनले ठूलै चलखेल गरेको कुरा कोही कसैबाट छिपेको छैन । उनले हदैसम्मको प्रयास गर्दा समेत पार्टी एकता अगाडि बढ्यो । उनलाई एकीकृत पार्टीको पनि महासचिव बन्नु थियो, त्यो उनले नै प्रष्ट बताइसकेका छन् । तर एकता प्रक्रियामा विशेष योगदान गरेको भन्दै बुटवलका विष्णु पौडेलले पोखेरेलको सपनामा तातोपानी खन्याइदिए । सधैँ शक्तिमा रहन ुपर्ने, पद र प्रतिष्ठाका लागि आफ्नै सहकर्मीको समेत गला रेट्न पछि नपर्ने स्वभावका धनी पोखरेल अझै पनि पार्टी एकता भाँड्न सकिन्छ कि भन्ने षडयन्त्रमा लागेका छन् । 
रक्षा मन्त्रालयलाई उनले पूर्वएमाले र त्यसमा पनि आफ्ना गुटको मुख्यालय बनाएका छन् । रक्षा मन्त्रालयको दैनिक खर्चमा भएको बढोत्तरी तथा उनले त्यहाँबाट गरेको धन्दाले पनि सोही कुराको पुष्टि गरेको छ । अनावश्यक व्यक्ति थुपारेर राज्यको साधन र स्रोतमाथि ब्रम्हलुट गर्ने मनसायका साथ पोखरेल प्रस्तुत भएको उनका निकटस्थहरु नै बताउँछन् । 
केही मिडियाका पत्रकारलाई सेनाको मिशनमा हैटी, दक्षिण सुडानजस्ता मुलुक पठाइदिने आश्वासन दिएर उनले नेकपा अध्यक्ष प्रचण्डविरुद्ध भए नभएको प्रचार गर्न, आफ्नो अन्तरवार्ता छपाउन, आफ्ना नजिक भनिएका केही नेतालाई प्रचण्डविरुद्ध छारस्ट गर्न लगाएको पाइएको छ । 
विगतमा ईश्वर पोखरेल आपूर्ति मन्त्री बन्दा नेपाल आयल निगमको पैसा हिनामिना गरेको र पानी ट्यांकीबाट पैसाको बिटोका बिटो फेला परेको तथ्य पनि सार्वजनिक नभएको होइन । एकता प्रक्रिया बाँकी नै रहेको बेला विशेषगरी पूर्वमाओवादी केन्द्रका नेता तथा कार्यकर्तालाई अपराधी नै जस्तो देखिने गरी पोखरेलले प्रचार प्रसार गराउन उद्यत देखिएका छन् । 
उनको चाहना छ, प्रचण्डहरु आएर मेरो पद खोसे । नेपालको कम्युनिस्ट आन्दोलनमा इश्वर पोखरेलहरु नकारात्मक प्रवृत्तिका उपज हुन् र छन् पनि । प्रतिगमन आधा सच्चिएको, महाकाली सन्धि जायज हो, माओवादीलाई बन्दुकले ठीक गर्नुपर्छ, यिनीहरु हत्यारा हुन् भन्दै नेपाली जनताको त्याग र बलिदानको खिसीट्युरी गर्ने प्रवृत्तिका मसिहा हुन् पोखरेल । 
माओवादीले लडेर ल्याइदिएको गणतन्त्रको व्याज खाएर माओवादीका नेतामाथि भए नभएको फत्तुर लगाउने अभियानमा उनी लागेका छन् । रक्षा मन्त्रालयको साधन र स्रोत दुरुपयोग गरेको भन्दै उनीमाथि कारबाहीको उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नपरेको होइन, तर ओलीले आफ्नै गुटका भएकाले उनीमाथि कुनै चेतावनी समेत दिएका छैनन् । 
पछिल्ला दिनमा नेकपा अध्यक्ष प्रचण्डमाथि पोखरेलले जुन तरिकाले सिंगौरी खेल्न खोजेका छन् त्यो अत्यन्तै गैरराजनीतिक चरित्र र चिन्तनले ग्रस्त व्यवहार हो । कार्यकर्ताको विश्वास जित्न नसकेका, सधै गुटको फेर समाएर फरक विचार राख्नेलाई पाखा लगाएर खान पल्केका पोखरेलहरु पूर्वमाओवादीका नेतालाई आँखाको कसिंगर जस्तो ठान्ने गरेका छन् । 
आफूहरुले विगतमा गरेको लुटपाटलाई नेपाली जनताले एक पटक क्षमा दिए भनेर मात्तिएका पोखरेलको शैलीलाई आगामी दिनमा नेपाली जनताले क्षमा गर्लान् भन्ने अवस्था छैन । नेपालको ऐतिहासिक आवश्यकताका आधारमा भएको एकता प्रक्रियालाई धमिल्याउन, भाँड्न तथा सेबोटेज गर्न पोखरेल लागिपरेका छन् । 
नेपाली सेनाभित्र अत्यन्तै तल्लो स्तरको राजनीति समेत गरिरहेका उनकै सचिवालयमा कार्यरतहरुले सिंहदरबार र भृकुटीमण्डपतिर बताउँदै हिँड्ने गरेका छन् । युवा संघमा रहेका एक नेताले त नेता जस्तो लागेको थियो पोखरेल होइन रहेछ, उनी त पूरापूर व्यापारी रहेछन् भन्दै हिँडेका छन् । 
सचिवालयको बैठकमा समेत पोखरेलले पूर्वमाओवादीका नेताहरुलाई होच्याएर बोल्ने गरेका छन् । कति पटक त ओलीले नै उनलाई हस्तक्षेप गर्नु परेको छ । ओलीपछिको नेता आफू भएको भन्ने भ्रम छ उनलाई । तर इतिहासले पोखरेललाई धेरै पर फालिदिएको छ । 
समाजवादको यात्रामा अगाडि बढ्ने समयमा कुनै सार नै नभएको जबजको केतुकी बोकेर हिँडेका छन् उनी । केतुकीको फूल देख्न त राम्रो हुन्छ, तर सिंउडी जत्ति पनि प्रभावकारी हुँदैन । सिँउडी त बरु बार बान्नै काम लाग्ला, केतुकी भने वर्षमा एकपटक मात्रै फूल फुल्छ । त्यसको कुनै काम लाग्दैन । 
पोखरेलले सचिवालयका बैठकमा प्रचण्ड विरुद्ध नै बिषवमन गर्ने गरेका छन् । उनी यति हदसम्मका गैरराजनीतिक व्यक्ति रहेछन् कि, त्यसको कल्पना पनि गर्न सकिँदैन, बैठकमा सहभागी हुने एक सचिवालय सदस्यको टिप्पणी छ । 
पोखरेलले प्रचण्डलाई मात्रै नभई झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलाई समेत तल्लो स्तरको व्यवहार गर्ने गरेका छन् । 
जसरी पनि पैसा कमाउनु पर्छ भन्ने ध्याउन्नमा लागेका पोखरेलले सचिवालयमा समेत आफ्ना गुटका विश्वासपात्र र हनुमानहरुलाई मात्रै भर्ना गरेका छन् । सेनाका उच्च अधिकारीसँग ठेक्कापट्टा मिलाउने र कसरी हुन्छ पैसा कमाउनु पर्छ भन्ने मान्यतामा नै उनीहरुलाई पोखरेलले परिचालन गरेका छन् । 
सेनाका एक अधिकारीले त पोखरेलका मान्छे भन्दै आए भने छिर्न नदिनु भन्नेसम्मको निर्देशन दिनु परेको छ । उनकै कारण नेपाली सेनामा माओवादीका तर्फबाट समायेजित भएका पूर्वलडाकुलाई पेल्ने काम भइरहेको जानकार स्रोतको भनाइ छ । गणतन्त्रका लागि लड्ने यमबहादुर अधिकारीहरुलाई पन्छाएर पोखरेलले राजाका एडीसीहरुलाई बढुवा गराउनुको पछाडि पनि सोही कारण रहेको छ । 
माओवादीका सबै नेता तथा कार्यकर्तालाई कुनै जिम्मेवारी दिनुहुन्छ, उनीहरु अपराधी हुन् भन्नेसम्मको व्यवहार समेत उनले देखाउने गरेको काठमाडौँ क्षेत्र नं ५ का नेता तथा कार्यकर्ता बताउँछन् । उनी प्रचण्डसँग जोरी खोजेर कुहिनो फुटाउने धन्दामा लागेको जानकारहरुको भनाइ छ । किनकी नेपालको राजनीतिमा प्रचण्ड एउटा पहाड नै हुन्, ईश्वर पोखरेलहरुले प्रचण्डसँग जोरी नै खौज्न सक्दैनन् । 
षड्यन्त्र गर्ने, जे जे मन लाग्छ, त्यही त्यही लेखाउने र प्रचण्डको तेजोबोध गर्न सकिन्छ कि भनेर लाग्ने उनको प्रवृत्तिलाई पूर्वएमालेका कार्यकर्ताले समेत मन पराएका छैनन् । उनको महात्वाकाक्षालाई धुलीसात बनाउने क्षमता आफूहरुसँग रहेको भन्दै पूर्व एमालेका कार्यकर्ताले समेत प्रचण्डलाई दरिलो साथ दिन र खुट्टा टेक्न आग्रह गरेका छन् । 
भ्रष्टाचारमा गन्हाएका, राजनीतिक रुपमा षडयन्त्र र छलछाम बाहेक जिन्दगीभर कुनै पनि काम नगरेका पोखरेललाई नेता कार्यकर्ताले आपराधिक मानसिकता भएको व्यक्तिको रुपमा चित्रण गर्छन् भने आमनेपाली जनताले ट्यांकीमा पैसा लुकाउने भ्रष्टाचारीको रुपमा चित्रण गर्छन् । उनको छवि कहीँ कतै पनि राम्रो नभएको सन्दर्भमा अरुको खुट्टा काटेर अग्लो बन्ने उनको महत्वाकांक्षा पूरा नहुने देखिन्छ । 
केही विदेशी शक्ति केन्द्रको उक्साहटमा पोरखेल प्रचण्डविरुद्ध लागेको बताउने पनि कम छैनन् । केही राजनीतिक विश्लेषकहरुका अनुसार उनी नेकपालाई भताभुंग बनाउन चाहने भारतीय संस्थापन पक्ष, पश्चिमा केही गैरसरकारी संस्थाको चंगुलमा फँसेका छन् । 
उनलाई केवल आफ्नो हितबाहेक देश, जनता, र पार्टीको समेत हित गर्नु नपर्ने भएकाले प्रचण्डविरुद्ध सिंगौरी खेल्न बल मिलेको बताइन्छ । उनले केही दिन पहिले एक दैनिक पत्रिकामा दिएको अन्तरवार्ता, उनका निकट भनिएकाहरुले सामाजिक सञ्जालको भित्तामा गरेको फोहोरेले उनीहरुकै हैसियत प्रष्ट पारिदिएको छ । त्यसले बरु प्रचण्डप्रति नै आममानिसको सहानुभूति बढ्दै गएको छ । 
देश र जनताको पक्षमा निरन्तर लड्ने प्रचण्ड नै योग्य र सक्षम व्यक्ति हुन सक्छन् आमजनताको नजरमा । भुइँफुट्टा प्रवृत्तिमा भ्रष्टाचारभन्दा अरु कुनै पनि चिन्तन नभएका पोखरेलहरु क्रमशः नेपाली जनताको नजरबाट ओझेल पर्ने कुुरामा कुनै दुईमत नरहेको जानकारहरुको भनाइ छ । 
ओली प्रवृत्तिविरुद्ध वामदेवको एक्सन 
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले अनावश्यक रुपमा हस्तक्षेप गरेको, जनपक्षीय काम गर्न नसकेको, पार्टीलाई कम्पनीको रुपमा चलाएको भन्दै नेकपाका सचिवालय सदस्य वामदेव गौतमले फायर खोलेका छन् । उनले एक व्यक्ति एक पदको अवधारणामा रहेर काम गर्नुपर्ने र पार्टीलाई पनि सोही आधारमा अगाडि बढाउनु पर्ने धारणा राखेका छन् । 
उनको यो धारणालाई वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले समेत साथ दिएका छन् । एक व्यक्ति एक पदको अवधारणा अनुसार पार्टी चलाई सबै नेता तथा कार्यकर्ताले काम पनि पाउने र सबैलाई मिलाएर लैजान पनि सकिने गौतमको भनाइ छ । 
गौतमविरुद्ध सधैं प्रस्तुत हुँदै आएका इश्वर पोखरेलहरुलाई भने गौतमको उक्त भनाई मन परेको छैन । पूर्वमहासचिव रहेका पोखरेल आफूलाई सधैं शक्तिमा नै रहनु पर्ने स्वभावका व्यक्ति भएकाले पनि गौतमको धारणा मन नपरेको हुन सक्छ । 

प्रतिक्रिया दिनुहोस