Safal Khabar - सबै ज्वरो औलो होइन, तर ज्वरो बिना औलो देखिदैन
बिहिबार, ०५ मङि्सर २०७६ (Thursday, 21 November, 2019)
सबै ज्वरो औलो होइन, तर ज्वरो बिना औलो देखिदैन
सोमबार, २७ जेठ २०७६, १६ : ५४
सबै ज्वरो औलो होइन, तर ज्वरो बिना औलो देखिदैन

चितवन । जुनसुकै रोगको पहिलो लक्षण भनेको ज्वरो हो । ज्वरोलाई हलुका रुपमा लिनुहुँदैन । अझ औलो (मलेरिया) रोगकको लागि त ज्वरो पहिलो लक्षण हो । चिकित्सकहरुका अनुसार सबै ज्वरो आउनेलाई औलो लागेकै हुन्छ भन्ने होइन, तर ज्वरो नआई औलो देखिदैन । 
जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख कामेश्वर चौरासियाले ज्वरोलाई सामान्य रुपमा नलिन आग्रह गर्नुभयो । आज स्वास्थ्य कार्यालय चितवनमा भएको औलो रोग निवारणको लागि संस्थागत बैठकमा प्रमुख चौरासियाले औलोको पहिलो लक्षण नै ज्वरो हो, ज्वरो आउनसाथ औलो परीक्षण गर्नुपर्ने बताए । कार्यक्रम उनले भने, ‘औलो, डेंगु, चिकेनगुनियाजस्ता रोगबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु नै एकमात्र उपाय हो ।’

नेपालको औलोको अवस्था बढ्दो
नेपालमा २ लाख भन्दा बढी मानिस औलो रोगको जोखिममा रहेको सरकारी तथ्यांकले देखाएको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको औलो सुक्ष्मस्तरीकरण अध्ययन २०१८ को तथ्यांक अनुसार नेपालमा २ लाख १६ हजार ७ सय ६ जना नेपाली औलो रोगको उच्च जोखिममा छन् ।  यस्तै ९ लाख २७ हजार ४ सय १४ जना औलो रोगको मध्यम जोखिममा रहेका छन् ।

विश्व औलो दिवसमा महाशाखाले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा देशभरका २० वटा जिल्लाहरु औलो रोगको उच्च तथा मध्यम जोखिममा रहेका छन् । नेपालभर आर्थिक वर्ष २०७४\७५ मा मात्रै १ हजार १ सय ८७ मानिसमा औलो रोग लागेको थियो ।  जसमा पी भाइभेक्स औलो १ हजार १ सय ५ जनामा देखिएको थियो भने, पी फाल्सिपारम औलो ८२ जनामादे देखिएको थियो ।

Yeti Diistillery
nic asia

सरकारले सन् २०२५ सम्ममा औलो शुन्यमा झार्ने लक्ष्य लिएको छ । तर, पछिल्लो दुई वर्षको तथ्यांकअनुसार भने नेपालमा औलाका बिरामी झन् बढ्दै गएको देखाएको छ । महाशाखाका अनुसार आर्थिक वर्ष आर्थिक वर्ष  २०७२\७३ मा नेपालमा ९ सय ९१ जना औलोका बिरामी भेटिएका थिए ।  त्यस्तै २०७३\७४ मा १ हजार १ सय २८ जना बिरामी भेटिएका  थिए । अघिल्लो आर्थिक वर्ष ०७४÷७५ मा यो संख्या बढेर १ हजार १ सय ८७ मा पुगेको हो । 
गत वर्ष सूदुरपश्चिम प्रदेशको कैलालीमा सबैभन्दा धेरै २ सय ५७ जना र कर्णाली प्रदेशको मुगुमा २ सय २९ जना औलोका बिरामी देखिएका थिए । यो वर्ष सुदुरपश्चिम प्रदेशमा  ५ सय ८६ मा औलो भेटिएको छ भने कर्णाली प्रदेशका २ सय १० जनामा भेटिएको छ ।

केके हुन्छन् लक्षण ?
औलोलाई अंग्रेजीमा मलेरिया भनिन्छ । यो लामखुट्टेको टोकाइका कारणले लाग्ने रोग हो । मानिस तथा अन्य केही जनावरहरूलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीहरूका कारण लाग्ने गर्दछ । औलो लागेका बेलामा ज्वरो आउने, थकान महसुस हुने, बान्ता हुने र टाउको दुख्ने जस्ता सामान्य लक्षणहरू देखिन्छन् । 

यो रोगले गम्भीर रूप लिएमा छाला पहेँलो हुने, सिजरहरू आउने, कोमामा जाने वा मृत्यु हुने सम्भावना हुन्छ । लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश गर्यो भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन सुरु हुन्छ । औलोको राम्रोसँग उपचार गरिएन भने केही महिनापछि दोहोरिन पनि सक्छ । एक पटक औलो लागेको केही समयपछि पुन दोहोरियो भने दोस्रो पटकमा केही हल्का लक्षणहरू देखिन्छन् । यदि निरन्तर रूपमा औलोका कीटाणुहरूको सम्पर्कमा नरहने हो भने यो रोग लागेपछि मानव शरीरले प्राप्त गर्ने प्रतिरोध क्षमता केही महिना वा वर्षमा हराएर जान्छ । 

प्रायजसो यो रोग संक्रमित पोथी एनफिलिज लामखुट्टेका कारणले सर्ने गर्दछ । लामखुट्टेले टोकेपछि औलोको परजीवी त्यसको ¥याल हुँदै मानिसको रगतमा पुग्छ । त्यसपछि यो परजीवी कलेजोमा पुग्छ र वयस्क हुँदै सन्तान उत्पादन गर्छ । प्लाज्मोडियम समूहका पाँच प्रजातिहरूले मानिसमा रोगको सङ्क्रमण गराउँछन् भने तिनीहरू एक मानिस हुँदै अन्य मानिसहरूमा पनि सर्न सक्छन्। विश्वभर प्लाज्मोडियम फाल्सिपारमका कारणले सबैभन्दा बढी मानिसको मृत्यु भएको पाइन्छ ।  

प्लाज्मोडियम भाइभ्याक्स, प्लाज्मोडियम ओभल र प्लाज्मोडियम मलेरिआईले साधारणतया मन्द खालको औलोको सङ्क्रमण गराउँछन । यस्तै अर्को प्रजाति प्लाज्मोडियम नोलेसीले मानिसमा बिरलै रोगको सङ्क्रमण गराउने गरेको पाइन्छ । औलोको पहिचान गर्न रगतको नमुनालाई सुक्ष्मदर्शक यन्त्रले हेर्ने वा एन्टिजेनमा आधारित र्या्पिड डाइग्नोस्टिक परीक्षण गर्ने गरिन्छ । पलिमराज चेन रियाक्सनको प्रयोग गरेर परजीवीको डिएनए पत्तालगाउने विधि पनि विकसित गरिएको छ तर मूल्य तथा जटिलताका कारण यो विधि औलो बारम्बार फैलिने स्थानहरूमा उल्लेख्य मात्रामा प्रयोग गरिँदैन । 

कसरी बच्ने ?
औलोबाट बच्नको लागि सबैभन्दा पहिला लामखुट्टको टोकाइबाट बच्नु नै हो । औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गरेर लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधिहरू छर्कने तथा घर वरपर पानी जमेका खाल्टाखुल्टी पुर्ने गर्नु पर्छ । औलो लाग्ने क्षेत्रमा भ्रमण गर्ने पर्यटकहरूका लागि यसबाट बचाउने धेरै प्रकारका औषधिहरू उपलब्ध छन् । 
औलोको उच्च जोखिममा रहेका ठाउँहरूमा शिशुहरू तथा गर्भावस्थाको पहिलो चरण पार गरेका गर्भवती महिलाहरूलाई सल्फाडोक्सिन वा पाइरिमेथामाइन जस्ता औषधि सिफारिस गरिएको छ । 

त्यस्तै दोस्रो औषधिको रूपमा मेफ्लोक्विन, ल्युम्फ्यान्ट्राइन वा सल्फाडोक्सिनरपाइरिमेथामाइन जस्ता औषधिहरूको प्रयोग गरिन्छ ।  आटेमिसिनिन उपलब्ध नभएको अवस्थामा क्विनिनलाई डोक्सिसाइक्लिनसँग मिलाएर दिन सकिन्छ । औलोको परजीवीमा औषधि प्रतिरोध बढ्दै गएको हुनाले बारम्बार औलो फैलिने स्थानहरूमा सकेसम्म रोगको पहिचान भएपछि मात्र औषधि दिन सिफारिस गरिएको छ । 

औलोका परजीवीहरूमा हालसम्म धेरै औलोविरुद्धका औषधिहरूको प्रतिरोध क्षमता विकसित भइसकेको छ । बारम्बार औलो फैलिने स्थानहरूमा क्लोरोक्विन नामको औषधिको प्रतिरोध क्षमता भएको प्लाज्मोडियम फाल्सिपारम नामको परजीवी फैलिने गरेको पाइन्छ । त्यस्तै दक्षिणपूर्वी एसियाका केही स्थानहरूमा आटेमिसिनिन नामको औषधिको प्रतिरोध क्षमता भएका परजीवीहरू समस्याका रूपमा देखा परेका छन् । सबै स्वास्थ्य संस्थाहरुमा औलोको निःशुल्क रगत परीक्षण हुन्छ । 

चितवनका औलोको अवस्था  
स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले २०७४\७५ मा झरेर १५ जनामा औलो देखिएको बताउनुभयो । उहाँले ०७५\७६ को हालसम्म चितवनमा ९ जनामा मात्र औलो देखिएको बताउनुभयो ।

औलो उन्मुलनमा प्रतिबद्धता 
चितवनका विभिन्न स्वास्थ्यसँग सरोकार राख्नेहरुले चितवनमा औलो उन्मुलनमा प्रतिबद्धता गरेका छन् । स्वास्थ्य निर्देशनालय हेटौंडाका डाइरेक्टर चन्द्रेश्वर यादवले २०२५ सम्ममा औलोलाई देशबाट उन्मूलन गर्ने सरकारको लक्ष्यलाई पूरा गर्न लाग्ने प्रतिबद्धता गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘कतिपय जिल्लामा बढेको छ, कतिपय जिल्लामा घटेको छ, हामीले जसरी पनि २०२५ सम्ममा औलोलाई उन्मूलन गर्न लाग्नुपर्ने अवस्था छ ।’

कार्यक्रममा उहाँले रोजगारमा भारत गएर आएकाहरुको चेकपोष्ट औलो परीक्षण गर्ने योजना सरकारलाई ल्याउन आग्रह गर्नुभयो । कार्यक्रममा निजी अस्पताल समन्वय समितिका सचिव विक्रम अधिकारीले औलोलाई नियन्त्रणमा ल्याउन निजी अस्पताल पनि लाग्ने प्रतिबद्धता जनाउनुभएको थियो । भरतपुर महानगर स्वास्थ्य शाखा प्रमुख जीवनकुमार श्रेष्ठले औलो नियन्त्रणमा भरतपुर महानगरको सचेतनाका कार्यक्रमहरु गरिरहेको बताउनुभयो । 
 

प्रतिक्रिया दिनुहोस