व्यापारमा सेलिब्रेटी : रहर कि बाध्यता ?

बुधबार, १५ जेठ २०७६, २१ : ४३
व्यापारमा सेलिब्रेटी : रहर कि बाध्यता ?

काठमाडौँ । नायिका ऋचा शर्मालाई भेट्न इच्छुकहरुलाई उनी सहभागी हुने सार्वजनिक कार्यक्रम या फिल्मसम्बन्धी कुनै कार्यक्रमतिर धाइरहनुपर्दैन । दरबारमार्गतिर गए उनी सहजै भेटिन्छिन् । भेटिने मात्रै हैन जुर्यो भने उनी चियाको अफर गर्न आउन पनि सक्छिन् किनभने अहिले उनी नायिकासँगै चिया पसलकी साहुनीसमेत भएकी छन् । 

उनको चिया पसलको नाम हो ‘पाङ्ग्रा एक्सप्रेस’ ।

ऋचा मात्रै हैन, श्वेता खड्का, वर्षा राउत, दीपाश्री निरौलालाई भेट्न मन लागे उनीहरुको चिया पसल खोज्दै गए पुग्छ । कोही नयाँ बानेश्वरतिर चिया पसल खोलेर बसेका छन्, कोही दरबारमार्गतिरै छन् ।
पछिल्लो समय फिल्मका कलाकारदेखि मोडल, गायक–गायिकासम्म साइड बिजनेसमा सक्रिय छन् । अधिकांशको रोजाई फुड बिजनेसमा देखिन्छ । कोही कफी सप खोलेर बसेका छन् त कोही रेस्टुराँ ।
यो रहर कि बाध्यता त ?
सबैभन्दा बढी आम्दानी गर्ने फिल्म ‘६क्कापञ्जा’ सिरिजका निर्माता दीपकराज गिरी हाक्काहाक्की भन्छन्, ‘कलाकारिता मात्रै गरेर बाँच्न मुस्किल छ । भविष्य सुनिश्चित गर्न साइड बिजनेस गर्नैपर्छ ।’
ऋचा रहरले व्यापारमा आएको बताउँछिन् । भनिन्, ‘फुड बिजेनसमा मेरो रहर छ, राम्रो टिम पनि छ ।’
संजोग कोइराला फिल्म क्षेत्रमा आउनु अगाडि नै बिजनेसमा रुचि राख्थे । नायिका श्वेता पनि रहरले व्यापारमा आएको बताउँछिन् । कलाकार र गायक–गायिकाको बिजनेस कस्तो छ त ?

ऋचाको  ‘पाङ्ग्रा एक्सप्रेस’ 
अभिनेत्री ऋचाले २०१९ को फेब्रुअरी १४ देखि ‘पाङ्ग्रा’ सञ्चालनमा ल्याएकी हुन् । आफ्ना विद्यालयका दुई साथी (श्रीयान्त, अन्यत) सँग मिलेर यो व्यापार सुरु गरेकी हुन् । पाङ्ग्राको अवतार नयाँ छ, यहाँ ट्रकमै किचन छ । विशेषतः स्ट्रिट फुड पाङ्ग्राको विशेषता रहेको ऋचा बताउँछिन् । यस्तो व्यापारमा दुबईबाट फर्केका उनका एक साथीले अनुभव बटुलिसकेका थिए । त्यसैले ती साथीहरुसँग एकदिन गफगाफ गर्नेक्रममा पाङ्ग्रा खोल्ने योजना बनेको ऋचा बताउँछिन् । 

दरबारमार्गको शेर्पा मलमा ‘पाङ्ग्रा एक्सप्रेस’ छ । ऋचा यसको नयाँ शाखा पनि खोल्ने तयारीमा छिन् । ‘पाङ्ग्रा’को लगानीबारे उनी खुल्न चाहिनन् । उनी हप्ताको एक चोटी पाङ्ग्रा भिजिट गर्न जान्छिन् । 
व्यापारमा आफू रहरले आएको ऋचाको दाबी छ । भनिन्, ‘फुड बिजेनसमा मेरो रहर छ, राम्रो टिम पनि छ । बाध्यता त होइन । नयाँ कन्सेप्ट पनि छ । त्यसैले म यसमा अडिएँ ।’ 

कलाकारको साइड बिजनेस हुनुपर्ने तर्क पनि राख्छिन् ऋचा । ‘बलिउडदेखि हलिउडका कलाकारको साइड बिजिनेस हुन्छ,’ उनले सुनाइन्, ‘नेपालमा त झनै हुनुपर्छ नि, होइन ?’ शुक्रबार बाट 

प्रतिक्रिया दिनुहोस