'प्रेमगीत-३' मा नायिकाका लागि २७ सय बढी आवेदन, २५ जना छनाैट

सोमबार, १३ जेठ २०७६, १३ : ३१
'प्रेमगीत-३' मा नायिकाका लागि २७ सय बढी आवेदन, २५ जना छनाैट

काठमाडौं । छनाेटमा परेका मध्ये अञ्जली अधिकारी, श्रद्दा क्षेत्री, करुणा श्रेष्ठ, पूजा तिवारी र रितु पौडेल यसअघिनै फिल्म खेलेर चर्चित भइसकेका छन् ।

आसुसेन फिल्मसबाट निर्माण हुन लागेकाे प्रेमगीत-३ मा चर्चित नायिकाहरूले समेत अडिशन दिएका छन् । ती नायिकाहरू शीर्ष २५ मा छनाेट भएका छन् । जसमा अञ्जली अधिकारी, श्रद्दा क्षेत्री, करुणा श्रेष्ठ, पूजा तिवारी र रितु पौडेलले गीतको भूमिकामा अडिशन दिएका थिए ।  

करुणले 'सय कडा दश', श्रद्धा क्षेत्रीले 'हृदयभरि', पूजा तिवारी 'लव यू वेवी' र रितु पौडेलले 'यो माया कस्तो माया'मा लिड भूमिका गरेकी थिइन् । यस्तै, अञ्जली अधिकारीले प्रकाश सुपूतको 'बोल माया'को चर्चित म्युजिक भिडियोमा अभिनय गरेकी थिइन ।  

आसुसेन फिल्मस प्रोडक्सनको ब्यानरमा निर्मित २०७२ सालमा चर्चित बनेकाे फिल्म 'प्रेमगीत' र यसका मुख्य पात्र 'प्रेम र गीत'ले दर्शक माझ राम्राे छाप बनाएकाे थियाे । साेही चलचित्र प्रेमगीतले दर्शकको मन जित्न सफल भएको थियो ।  
अब बन्न लागेको चलचित्रको तेश्रो संस्करणमा निर्माण पक्षले गीतको लागि सुहाउँदो अनुहार र पात्रको खोजी गर्दै केही समयअघि अडिसनको आह्वान गरेको थियो । यो नेपाली दर्शकहरु माझ चलचित्र 'प्रेमगीत' र त्यसमा गीतको पात्रको लोकप्रियता नै हो । विश्वभरबाट गीतमा अभिनय गर्न इच्छुक दुई हजार ७ सय १४ जना युवतीले आवेदन भरेका थिए । आसुसेनको अफिसियल वेबसाइटमा उक्त आवेदन सङ्कलन भएकाे थियो । 

निर्माण पक्षले आवेदनबाट विभिन्न आधारमा अब्बल २५ जनालाई छनौट गरेको छ । आशुसेन फिल्मसले यसअघि चलचित्र 'प्रेमगीत'मा नायक प्रदीप खड्कालाई पनि अडिसनमार्फत नै रोजेको हो । 

२८ चैत्रमा प्रदर्शनका लागि आफ्नो मिति तोकेको चलचित्रका मेकरहरुले छानेका उत्कृष्ट २५ सहभागीमध्ये पात्रमा पर्फेक्ट गीतलाई निर्देशक, क्यामराम्यान र कोरियोग्राफरलगायत टिमले छान्नेछन् । 

कलाकार छनाैटपछि निर्माण पक्षले भनेकाे छ, 'छनौट भएका सबै नायिका बन्न सक्ने सम्भावना बोक्दछन् । सबै उत्कृष्ट छन् । यी २५ जनामध्ये एक जना छनाैट भए पनि सबैले यस क्षेत्रमा आफ्नो स्थान पक्का गर्नेछ ।' 

चलचित्र 'प्रेमगीत-३'लाई यस पटक निर्देशक छेतन गुरुङ्गको साथमा यसअघिका 'प्रेमगीत' चलचित्रको निर्माता सन्तोष सेनले निर्देशन गर्ने भएका छन् । - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस