गडुवाका श्रेष्ठको मृत्यु रहस्यमय, अनुसन्धान जारी

सफल खबर संवाददाता

आइतबार, १२ जेठ २०७६, १५ : ५५
गडुवाका श्रेष्ठको मृत्यु रहस्यमय, अनुसन्धान जारी

चितवन । कालिका नगरपालिका १ गडुवाका कुमारसिं श्रेष्ठको मृत्यु रहस्यमय बनेको छ । ४८ वर्षीय श्रेष्ठ आफ्नै घरमा सुतेको अवस्थामा आज बिहान मृत भेटिएका थिए । 
कुकुरसहितको प्रहरीको टोलीले ठोस प्रमाण फेला नपारेपछि श्रेष्ठको मृत्यु रहस्यमय बनेको हो । घटनाबारे अहिले नै केही भन्ने अवस्था नरहे पनि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताए । मृतकको शरीरमा चोटपटक नदेखिए पनि केही स्थानमा रगत देखिएको छ । श्रेष्ठ मृत फेला परेको कोठाभित्र फुटेको इँटा भेटिएको छ । 
श्रेष्ठ परिवारले घटनामा दोस्रो व्यक्तिको हात रहेको दाबी गरेको छ । मृतकका छोरा सुमनले बुबाले घाँटीमा लगाएको सुनको सिक्री र औंठी हराएको छ । घटना शंकास्पद मानी हेटौँडाबाट तालिमप्राप्त कुकुर झिकाई अनुसन्धान गरे पनि कुनै प्रमाण फेला नपरेको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ । श्रेष्ठको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । स्थानीयका अनुसार मृतक श्रेष्ठ घर नजिकै रहेको एक होटलमा छिमेकी साथीहरुसँग राति अबेरसम्म मादक पदार्थ सेवन गरी बसेका थिए । घटनाको सुक्ष्म अनुसन्धान गरी कोही दोषी देखिए कारबाही गर्न स्थानीयले माग गरेका छन् । गरगहना चोरीका लागि घटना भएको हुनसक्ने उनीहरुको आशंका छ । मृतक श्रेष्ठ श्रीमती, ३ छोरा, २ बुहारी, २ जना नातिसँग घरमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस