ओली र प्रचण्डबीच एक्कासी किन भयो तीन घण्टा लामो वान टु वान वार्ता ?

सफल खबर संवाददाता

बुधबार, ०८ जेठ २०७६, १६ : ३१
ओली र प्रचण्डबीच एक्कासी किन भयो तीन घण्टा लामो वान टु वान वार्ता ?

फाईल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा तीन घण्टा लामो वान टु वान वार्ता भएको छ ।

बुधबार बिहान प्रधानमन्त्री ओलीको सरकारी निवासमा भएको दुई नेताबीचको छलफल करिव ३ घण्टा चलेको बालुवाटार स्रोतले जनाएको छ । बिहान ९ बजे बालुवाटार पुगेका प्रचण्ड र ओलीबीचको तीन घण्टा गोप्य छलफलपछि उनीहरुले पार्टीका माहासचिव विष्णु पौडेललाई पनि बालुवाटार डाकेका थिए ।

त्यसपछि ओली प्रचण्ड र महासचिव पौडेलबीच त्रिपक्षीय छलफल भएको छ । ओली र प्रचण्डबीच भएको उक्त छलफलमा सरकारका काम कारवाहीप्रति बाहिर भएका आलोचना, नेकपाको एकता प्रक्रियामा भएको ढिलाइ, सरकारले ल्याएको विधेयक तथा जेठ १५ मा सार्वजनिक गर्न लागिएको बजेटलगायतका विषयमा कुराकानी भएको छ ।

पछिल्लो समय सरकारले संसदमा पेश गरेका मिडिया काउन्सिललगायतका विधेयकमा प्रमुख प्रतिपक्ष दल तथा सञ्चारकर्मीहरुले चर्को विरोध गर्दै आएका छन् । नेताहरुबीच छलफलपछि चाँडै नै सचिवालय बैठक बोलाउने विषयमा पनि कुराकानी भएको छ । 

सार्वजनिक खरिद ऐन संशोधन गर्न बनेको विधेयकका बारेमा निर्माण व्यवसायीहरुले जनाएको आपत्तिका विषयमा समेत दुई नेताबीच कुराकानी भएको छ ।

प्रतिक्रिया दिनुहोस