मोटरसाइकलमा दुवै जनाले हेल्मेट लगाउनुपर्ने नियमबारे बहस सुरु

ट्राफिक महाशाखा भन्छ,– यो नियम तत्काल कार्यान्वयन हुँदैन

सफल खबर संवाददाता

सोमबार, ०६ जेठ २०७६, १४ : ५३
मोटरसाइकलमा दुवै जनाले  हेल्मेट लगाउनुपर्ने नियमबारे बहस सुरु

काठमाडौं । मोटरसाइकलमा यात्रा गर्ने दुवै जनाले हेल्मेट लगाउनुपर्ने नियम व्यवहारिक छ कि छैन भन्ने बहस भने सुरु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा मोटरसाइकलमा पछाडि बस्ने यात्रुलाई मध्यनजर गर्दै अनिवार्य रुपमा हेल्मेट लगाउनुपर्ने नियम फेरि लगाउने बताएपछि यसबारे पक्ष र विपक्षमा बहस शुरु भएको हो ।  महाशाखाले यातायात व्यवस्था ऐनमा संशोधन गरेर दुई पाग्रे सवारीमा पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याउने तयारी गरिरहेको छ । आइतबार महाशाखाका प्रमुख (एसएसपी) वसन्त पन्तले मोटरसाइकलमा पछाडि बस्ने व्यक्तिले पनि अनिवार्य रुपमा हेल्मेट लगाउनुपर्ने नियम पुनः लागु गर्ने तयारी थालेको जानकारी दिएका थिए ।

महाशाखाका अनुसार आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्र ११ हजार १०१ मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परेका छन् । उक्त दुर्घटनामा ३ हजार १ सय ८६ जना घाइते भएका छन भने १५७ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अधिकांशको मृत्युको कारण टाउकोमा लाग्ने चोटका कारण हुने महाशाखा प्रमुख एसएसपी पन्त बताउँछन् । प्रायः दुर्घटनास्थल पुग्दा मृतकको टाउको फुटेको देखिन्छ । पन्तका अनुसार दुर्घटना भएर लड्दा अधिकांश चालकको टाउकोबाट हेल्मेट फुत्किसकेको हुन्छ । हेल्मेटकै कारण नागरिकको मृत्युदर घटाउन यस्तो व्यवस्था ल्याउन सिफरिस गर्नु परेको पन्त बताउँछन् ।

तर ट्राफिक विज्ञहरु पनि ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणको साटो दुर्घटना भएपछिको समाधान गर्ने उल्टो बाटोमा लागेको बताउँछन् । ट्राफिक प्रहरीका पूर्व निरिक्षक सीताराम हाछेथु भन्छन्, ‘हेलमेटले गर्ने काम भनेको दुर्घटना हुँदा टाउको जोगाउने मात्र हो । हेलमेट लगाए पनि अन्य भागमा चोट लाग्ने जोखिम उत्तिकै हुन्छ । के अब जिउको सबैभागमा सुरक्षा कवच अनिवार्य गर्ने रु’ उनी भन्छन्, ‘हेलमेट अनिवार्य गर्नेभन्दा पनि दुर्घटना न्यूनीकरण कसरी गर्नेतिर ट्राफिक प्रहरीको ध्यान केन्द्रीत हुनुपर्छ ।’ 

महाशाखाले ल्याउन लागेको यो नियम आजभन्दा १७ वर्षअघि पनि लागु गरिएको थियो । तर, उक्त नियम हटेको १४ वर्षपछि ट्राफिक प्रहरीले पुनः पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने प्रस्ताव अगाडि सारेको छ ।

तत्कालीन सरकारले २०५९ सालमा दुई पाङ्ग्रे सवारी साधनमा पछाडि बस्ने यात्रुले हेल्मेट अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको थियो । त्यतिबेला पनि उक्त निर्णयको व्यापक विरोध भयो । जसोतसो ३ वर्षसम्म टिक्यो । अन्ततः व्यापक विरोध भएपछि सुरक्षाको कारण भन्दै २०६१ सालमा पछाडि बस्नेले हेलमेट लगाउनु नपर्ने निर्णय ल्यायो ।

यता महाशाखा प्रमुख एसएसपी पन्तले उच्च गुणस्तरको हेल्मेट प्रयोग गरेमा केही हदसम्म सवारी दुर्घटनामा कमी आउने बताए । उनले भने, ‘यो नियम तत्काल कार्यान्वयन भने हुँदैन ।’
 

प्रतिक्रिया दिनुहोस