काठमाडौं । नेकपाको पोलिटव्युरो गठन पर धकेलिएको छ । कहिले हुन्छ भन्ने मिति पनि तय गरिएको छैन । नेकपाले सचिवालय बैठक बसेर पोलिटब्युरो, केन्द्रीय निकाय, विभागहरूलाई पूर्णता दिने र केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंग्याउने तयारी गरेको थियो, तर सफल हुन सकेन ।
पूर्व एमालेभन्दा पनि पूर्व माओवादी केन्द्रभित्र विवाद भएपछि पोलिटव्युरो गठन हुन नसकेको हो । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँले तत्काल नगरौँ भन्ने प्रस्ताव राखेका थिए ।
पोलिटव्युरो गठनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनिच्छुक देखिएका हुन् । स्रोतका अनुसार नेपाल कम्युनिस्ट पार्टी नेकपाको पोलिटब्युरो गठन तत्काल नहुने भएको छ ।
‘पूर्वमाओवादीभित्र प्रस्तावित नामका विषयमा विवाद भएपछि केही नेताहरू प्रचण्डकहाँ डेलिगेसन नै गएका थिए । तर, अध्यक्ष प्रचण्डले अहिले तत्काल गठन हुँदैन भनेर फिर्ता पठाएका स्रोत बताउँछ ।
पोलिटव्युरो गठन गर्न बस्ने भनिएको सचिवालयको बैठक नबसेर नेताहरू लाखापाखा लागेका छन् । प्रधानमन्त्री केपी ओली अप्टिकल फाइबर उद्घाटन गर्न धादिङमा छन् । माधव नेपाल नेत्रलाल ‘अभागी’ स्मृति दिवस कार्यक्रममा सहभागी हुन दाङ गएका छन् झलनाथ खनाल पार्टीकै काममा इलाम जाँदैछन् । जसका कारण पोलिटव्युरो गठन अन्यौलमा परेको छ ।
नेताहरूले प्राथमिकताका नराखेकाले पोलिटब्युरो गठनको सम्भावना तत्काल टरेको छ देखिन्छ । नेकपाले १४७ सदस्यीय पोलिटब्युरो गठनको तयारी गरेको छ । जसमध्ये पूर्वएमालेको भागमा ८२ र पूर्वमाओवादी केन्द्रको भागमा ६५ सदस्य परेको छ । नेकपा एमालेले पोलिटब्युरोमा पर्ने सदस्यको नाममा करिब सहमति जुटाएको छ ।
एमालेको आठौँ महाधिवेशनपछि पदेन र आमन्त्रितगरी ६६ सदस्यीय पोलिटब्युरो थियो । जसमध्ये ७ पद रिक्त छ । र, ५९ सदस्यीय पुरानै कमिटीबाट पर्नेछन् । पूर्व एमालेले २३ जना नयाँ अनुहार खोज्नुपर्नेछ ।
पाँचौ महाधिवेशनदेखि नै केन्द्रीय कमिटीमा रहेका, केन्द्रीय सदस्य दोहोरिएका, यसअघि पोलिटब्युरो सदस्य रहेर पनि पछिल्लो महाधिवेशनमा पराजित रहेकालाई पोलिटब्युरोमा लैजाने मापदण्ड पूर्वएमालेले बनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ जेठ २०७६, १४ : १४
लेखकबाट थप