उम्दा बन्ने प्रयत्नमा आश्मा

आइतबार, ०५ जेठ २०७६, २१ : ३३
उम्दा बन्ने प्रयत्नमा आश्मा

प्लस टू सकेपछि आश्मा गिरीको जीवनले अर्कै मोड लियो। काठमाडौँ, सुकेधारास्थित न्यू मिलेनियम कलेजमा पढिरहेकी उनलाई प्लस टूपछि सर्ट मुभीको प्रस्ताव आयो। सानैदेखि कलाकारिताको रहर बोकेकी उनले आनाकानी नगरी प्रस्ताव स्विकारिन्। सर्ट मुभी बन्यो, ‘फेसबुक लभ’। यही छोटो फिल्म उनलाई अभिनयमा तान्ने कडी बन्यो। आश्मा स्वयं पनि यही छोटो फिल्मले आफ्नो जीवन बदलिदिएको बताउँछिन्। 

‘मेरो परिवारबाट कोही पनि यो क्षेत्रमा हुनुहुन्न,’ आश्माले भनिन्, ‘एकाएक अभिनयको अफर पाएँ। पहिलो अनुभव नै सुखद रह्यो। यसैले मेरो बाटो बदलियो।’ 

काठमाडौँ, कपनमा हुर्किएकी उनले घरनजिकैको ब्रेनल्यान्ड स्कुलमा कक्षा १० सम्म पढिन्। स्कुल पढ्दाताका आफूभित्रको कलाकारलाई नचिनेको उनी बताउँछिन्, ‘स्कुलमा हुँदा अभिनयमा लाग्छु भनेर सोचेकी पनि थिइनँ। म एकदम लज्जालु थिएँ,’ आफ्नो बाल्यकाल सम्झिँदै उनले भनिन् , ‘कसैसँग नबोल्ने, धेरै घुलमिल नहुने स्वभाव थियो।’ ’

प्लस टू सकिएपछि विभिन्न सुन्दरी प्रतियोगितामा सहभागी हुन थालिन्, उनी। सन् २०१६ मा ‘मिस टिन क्विन’ बनिन्। म्युजिक भिडियोमा उनको अनुहार देखिन थाल्यो। मोडलिङ हुँदै उनी अभिनय यात्रातिर लागिन्। केही व्यावसायिक विज्ञापनमा पनि काम गरिन्। ‘फेसबुक लभ’ले उनलाई राम्रो चर्चा दिलायो।

त्यसै सर्ट फिल्ममा भएका कुशल विष्टसँग उनले पछि वेब सिरिज गर्ने मौका पाइन्। कुरा दुई वर्षअघिको हो। सहिन प्रजापतिले निर्देशन गरेको सिरिज ‘रङ टाइम’ मा उनले काम गरिन्। वेब सिरिज युट्युबमा योर स्टाइल टीभी नेटवर्कबाट प्रसारण हुन थालेपछि आश्माको अभिनय यात्राले पनि गति लियो। ‘त्यसपछि अभिनय नै मेरा लागि सबथोक बन्यो,’ उनी भन्छिन्, ‘एक्टिङ छोडेर अन्त कतै हेर्नुपरेन। वेब सिरिज मेरो करिअरको टर्निङ प्वाइन्ट बनिदियो।’ पछि उनले ‘कुरिराख ल’ शीर्षकको छोटो फिल्ममा पनि काम गरिन्। 

‘‘रङ टाइम’ सर्ट मुभीजस्तै थियो,’ उनी थप्छिन्, ‘तर, पहिलो भागपछि दर्शकले दोस्रो भाग खोज्न थाले। दोस्रो पछि, तेस्रो। यसरी एकपछि अर्को भाग दर्शकले मन पराउँदै गएपछि यो सिरिज बन्यो।’ पहिलो सिजनको सफलतापछि दोस्रो सिजनमा पनि आश्माले काम गर्ने अवसर पाइन्। यी दुवै सिरिजमा आश्माले कुशलसँग जोडी बाँधेकी थिइन्, जसलाई दर्शकले खूब रुचाएका थिए। सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस