दुःख लाग्छ हामीसँग खेलको लागि केही छैन : सन्दीप लामिछाने

सफल खबर संवाददाता

शनिबार, ०४ जेठ २०७६, १६ : ५८
दुःख लाग्छ हामीसँग खेलको लागि केही छैन : सन्दीप लामिछाने

चितवन । क्रिकेटका अन्तर्राष्ट्रिय खेलाडी सन्दीप लामिछानेले देशमा खेल र खेलाडीको लागि केही हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

आज लामिछाने आफ्नो गृहजिल्ला चितवनको भरतपुरमा भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ गठन गरिएको खेलकुद जिल्ला सहयोग समिति घोषणा कार्यक्रममा उहाँले देशमा केही नभए पनि बनाउन हामी आफैँले सक्ने बताउनुभयो ।

 

उहाँले नेपाल र नेपालीको चिनाउनको लागि खेल्न सबै खेलाडीहरुलाई आहन गर्नुभयो । उहाँले चितवनमा क्रिकेट स्टेडियम बन्न लागेकोमा खुसी प्रकट गर्नुभयो । उहाँले छिटो बनाउने वा ढिलो बनाउने हाम्रै हातमा भएको बताउनुभयो । सबै मिलेर अगाडि बढौँ र खेल क्षेत्रलाई अगाडि बढाउन लामिछानेले जोड दिनुभएको थियो ।

धेरै सन्दीप जन्माउनुर्छ : रेनु दाहाल 
भरतपुर महानगर प्रमुख रेनु दाहालले धेरै सन्दीप जन्माउनुपर्ने बताउनुभएको छ । घोषणा कार्यक्रममा प्रमुख अतिथि रहनुभएको महानगर प्रमुख दाहालले नेपाली क्रिकेटका चम्किलो तारा सन्दीप लामिछानेलाई पहिलो पटक भेट्न पाउँदा आफू अत्यन्तै खुसी लागेको बताउनुभयो । 

कार्यक्रममा महानगर प्रमुख दाहालले भरतपुर महानगरले खेललाई अत्यन्तै प्राथमिकता दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको डीपीआरको लागि कन्सलटेष्टसँग सम्झौता हुँदैछ ।’

उहाँले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला जसरी पनि बन्नेछ, तर चाँडो वा ढिलो त्यो हाम्रै हातमा रहेको बताउनुभयो । अब केही महिनाभित्रै अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा क्रिकेट खेल्न सकिने महानगर प्रमुख दाहालको भनाइ छ । 

राष्ट्रिय क्रिकेट टोलीको पूर्वकप्तान राजु खड्काको संयोजकत्वमा १२ सदस्यीय सहयोग समिति गठन गरिएको हो । भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न आर्थिक एवं अन्य आवश्यक सहयोग गर्न समिति बनाइएको हो । 

प्रतिक्रिया दिनुहोस