केसँग डराउँछन् बलिउड स्टार

विहीबार, ०२ जेठ २०७६, २१ : ५५
केसँग डराउँछन् बलिउड स्टार

सोनम कपुर
बोल्ड अभिव्यक्तिका कारण निडर अभिनेत्रीका रूपमा चिनिन्छिन्, सोनम कपुर। बलिउडमा फेसनको मामिलामा अब्बल मानिने उनी आफ्ना पहिरनकै कारण पनि बेला–बेलामा चर्चामा आइरहिन्छन्। चर्चा र विवादसँग नडराउने उनी लिफ्टसँग भने डराउँछिन्। एक अन्तर्वार्तामा उनले आफूलाई लिफ्टमा फस्छु कि भन्ने डरले सताउने बताएकी थिइन्। ‘लिफ्टमा एक्लै फस्ने डरले मलाई सधैँ सताइराख्छ,’ उनले भनेकी थिइन्, ‘यसबारे नराम्रा–नराम्रा सपना पनि देख्छु। कहिल्यै पनि त्यस्तो स्थितिमा फस्नु नपरोस् भनी भगवान्सँग बारम्बार प्रार्थना गर्छु।’

आमिर खान
बलिउडका ‘पर्फेक्सनिस्ट’ आमिर खान पारिवारिक व्यक्ति हुन्। उनी आफ्नो परिवारलाई असाध्यै माया गर्छन्। परिवारको हेरचाह गर्छन्। उनको ठूलो डर परिवारसँगै जोडिएको छ। ‘आफ्ना मान्छे गुमाउन डर लाग्छ,’ एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘परिवारबाट टाढिँदा मेरो मनमा अनेकन् कुरा खेल्छन्। कसैलाई केही हुन्छ कि भन्ने डरले सताउँछ। त्यसैले घरबाट टाढा हुँदा परिवारसँग फोन सम्पर्क गरिरहन्छु।’ 

परिणीति चोपडा
अभिनेत्री परिणीति चोपडालाई घुमघाम गर्न औधी मन पर्छ। आफूलाई घुम्न मन परे पनि उनी यात्रा गर्दिनन्। कारण, उनको डर। उनलाई हवाईजहाजमा यात्रा गर्दा डर लाग्छ। ‘मेरो मृत्यु विमान दुर्घटनामै हुन्छ कि जस्तो लाग्छ,’ उनले भनेकी थिइन्, ‘त्यसैले म खासै यात्रा गर्दिनँ। एक्लै त झन् यात्रा गर्दिनँ।’ हवाईजहाजले उडान भर्दा र अवतरण गर्दा आफ्नो मुटुले ठाउँ नै छाड्ने उनले बताएकी थिइन्। ‘हवाईजहाजले उडान भर्दा वा अवतरण गर्दा म आफ्नो छेउमा बसेको मान्छेको हात बेस्कन समात्छु,’ परिणीतिले भनेकी थिइन्।

दीपिका पादुकोण
फिल्म ‘पद्मावत’मा साहसी र निडर महारानीको भूमिका गरेकी अभिनेत्री दीपिका पादुकोण वास्तविक जीवनमा तनावसँग डराउँछिन्। उनलाई एकताका डिप्रेसनले सताएको थियो। बलिउडमा प्रवेश गरेपछि उनी अभिनेता रणवीर कपुरसँग गहिरो प्रेममा थिइन्। रणवीरसँग ब्रेकअप भएपछि आफू डिप्रेसनको रोगी भएको उनले अन्तर्वार्तामा बताएकी थिइन्। ‘त्यहाँदेखि मलाई तनावसँग डर लाग्छ,’ उनले भनेकी थिइन्, ‘त्यसैले तनावको शिकार हुनु नपरोस् र तनावका कारण काममा असर नपरोस् भन्ने कुरामा सचेत रहन्छु।’

सलमान खान
‘वान्टेड’, ‘दबंग’, ‘दबंग २’मा निडर प्रहरीको भूमिकामा देखिएका अभिनेता सलमान खान आफ्नै रिससँग डराउँछन्। ‘एक समय म एकदमै रिसाहा थिएँ,’ भारतीय मिडियासँग कुराकानी गर्दै उनले एकपल्ट भनेका थिए, ‘आफ्नो रिसदेखि म आफैँ हैरान थिएँ। बढी रिसाउने बानीकै कारण इन्डस्ट्रीका धेरै मानिससँग मेरो सम्बन्ध बिग्रियो। यस कुराले मलाई दुःखी बनायो।’ रिसकै कारण शाहरुख खान, कट्रिना कैफ आफूबाट टाढिएको सलमानले बताए। ‘त्यसपछि मैले आफ्नो बानी सुधार्ने प्रयास गरेँ,’ उनले भने, ‘रिस नियन्त्रण गर्न थालेँ। अहिले ममा धेरै सुधार आएको छ।’ 

अमिताभ बच्चन
बलिउडका ‘महानायक’ अमिताभ बच्चन आँखामा लेन्स लगाउन डराउँछन्। फिल्म ‘सत्ते पे सत्ता’को सुटिङका क्रममा उनको आँखामा लेन्स अड्किएको थियो। त्यहाँदेखि आफूलाई आँखामा लेन्स लगाउन डर लाग्ने उनले बताएका थिए।

आलिया भट्ट
डराउने कलाकारको सूचीमा अभिनेत्री आलिया भट्टको नाम पनि छ। उनी अँध्यारोदेखि डराउँछिन्। ‘म अँध्यारो कोठामा एक मिनेट पनि सुत्न सक्दिनँ,’ एक अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘सुत्ने कोठाको बत्ती मात्र बाल्दिनँ, झ्याल पनि खालेर सुत्छु।’ सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस