Safal Khabar - नेकपाले जनवर्गीय संगठनको भागबण्डा टुङ्ग्यायो
आइतबार, १२ जेठ २०७६ (Sunday, 26 May, 2019)
नेकपाले जनवर्गीय संगठनको भागबण्डा टुङ्ग्यायो
बिहिबार, ०२ जेठ २०७६, १८ : २४
नेकपाले जनवर्गीय संगठनको भागबण्डा टुङ्ग्यायो

काठमाडौं । बालुवाटारमा बिहीबार बसेको नेकपा सचिवालय बैठकले जनवर्गीय संगठनको भागबण्डा टुङ्ग्याएको छ । बैठकले नेकपामा २२ जनवर्गीय संगठन मध्ये धेरैजसोको भागबन्डा टुंग्याएको हो । 

अनेरास्ववियूको संयोजकमा पूर्व एमालेबाट ऐन महर, सहसंयोजकमा पूर्व माओवादीबाट रञ्जित तामाङ वा सुरेन्द्र बस्नेत (तामाङले नमानेमा), युवाको संयोजकमा पूर्व माओवादीबाट रामप्रसाद सापकोटा दीपशीखा र सहसंयोजकमा पूर्व एमालेबाट रमेश पौडेल वा किरण (रमेशले नमानेमा), महिलाको संयोजकमा पूर्वमाओवादीबाट अमृता थापामगर र सहसंयोजकमा पूर्व एमालेबाट सीता पौडेलको टुंगो लागेको छ ।

यसबाहेक प्रेस संगठनमा महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक रहने गरी सहमति जुटाइएको छ । दाहाल तत्कालीन माओवादी र बस्नेत तत्कालीन माओवादी निकट संगठन मिडिया संगठनका नेता हुन् । त्यसैगरी बुद्धिजीविमा दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी उपसंयोजक रहने सहमति बनेको स्रोतको भनाई छ । देवकोटा तत्कालीन एमाले निकट र केसी तत्कालीन माओवादी निकट बुद्धिजिवी संगठनका नेता हुन् । 
त्यस्तै मजदुर विनोदमा श्रेष्ठ संयोजक र जगत सिम्खडा सहसंयोजक रहने सहमति छ । श्रेष्ठ तत्कालीन एमाले निकट र सिम्खडा तत्कालीन माओवादी निकट मजदुर संगठनका नेता हुन् । 

नेकपामा किसान महासंघ, कर्मचारी संगठन, खेलकुद संगठन, सुकुमबासी संगठन, उद्योग व्यवसायी संगठन, भूतपूर्व सैनिक संगठन, जनजाति महासंघ, जनसांस्कृतिक महासंघ, दलित संगठन, उद्योग व्यवसायी संगठन, मुस्लिम संगठन र मधेसी संगठनको पनि नेतृत्व टुंगाउने गरी छलफल भएको छ ।

जनवर्गीय संगठनका सबै नाम टुंगाएर भोलि पार्टी एकताको एक बर्षको अवसरमा आयोेजित कार्यक्रममा घोषणा गर्ने तयारी रहेको स्रोतको भनाई छ । 

बैठकले पोलिटव्यूरो र केन्द्रीय सदस्यको कार्यविभाजन भने टुङ्ग्याउन सकेन । जेठ ५ गते अर्को बैठक बसेर यी काम सक्ने नेकपाको तयारी छ ।  ‘मिडियामा पोलिटब्यूरोको नाम भनेर पहिला नै बाहिर आयो, त्यो अपुरो थियो ।

अन्तिम रुप अब ५ गते बस्ने बैठकले दिन्छ । त्यसै गरी केन्द्रीय सदस्यका कार्यविभाजनको विषयमा पनि त्यसैदिन निर्णय हुन्छ ।’ सचिवालयका एक सदस्यले भने ।  

प्रतिक्रिया दिनुहोस