देशमा नयाँ प्रयोग गरेर 'माथि जाने' मन छ : प्रचण्ड

सफल खबर संवाददाता

बुधबार, ०१ जेठ २०७६, १७ : ४५
देशमा नयाँ प्रयोग गरेर 'माथि जाने' मन छ : प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही नयाँ प्रयोग गरेरमात्र ‘माथि जान’ मन भएको बताउनुभएको छ । 
तत्कालीन एमालेको युवा संगठन युवा संघ नेपालको २९ औं स्थापना दिवसमा प्रमुख अतिथि बन्नुभएका पूर्वप्रधानमन्त्री प्रचण्डले एमालेका तीन नेताहरुलाई प्रधानमन्त्री बनाउने साहस आफूले नै बटुलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘माधव नेपाल, झलनाथ खनाल र अहिले केपी शर्मा ओलीलाई लाइन लगाएर प्रधानमन्त्री बनाउने साहस मैले गरेकै हो ।’ उहाँले युवाहरुको साथ पाए अझै नयाँ काम गर्ने इच्छा भएको बताउनुभयो । 
उहाँले भन्नुभयो, ‘अब तपाईहरुले मलाई के भन्नुहुन्छ अस्थिर भन्नुहुन्छ कि क्या गज्जबको भन्नुहुन्छ ?’ कार्यक्रममा उहाँले आफूले गरेको योगदानलाई अवमूल्यन नगर्न आग्रह गर्नुभएको थियो । उहाँले आफूलाई साथ दिन युवाहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा उहाँले आफू समयअनुसार चल्ने नेता भएको समेत दावी गर्नुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘माधव नेपाल कम्युनिस्ट आन्दोलनको नेता हो, उहाँ संसदमा चाहिन्छ भनेर चिठी लेख्ने र प्रधानमन्त्री बन्ने अवस्था ल्याएको मैले हो ।’ सबैभन्दा ठूलो पार्टीको नेता हुँदा हुँदै मैले नै झलनाथजीलाई बनाउँदा राष्ट्रिय स्वाधीनता बाँच्छ भनेर छापामार शैलीमा प्रधानमन्त्री बनाएको उहाँको दावी थियो । 


‘केपी ओलीलाई संविधान बनाउँ तपाई प्रधानमन्त्री भनेको हुँ । यो पटक पनि चुनावअघिनै तपाई प्रधानमन्त्री भनेको हुँ’ उहाँले भन्नुभयो, ‘मैले अझ धेरै गर्न बाँकी छ, यसमा युवाहरुले साथ दिनुपर्छ ।’ 
उहाँले पार्टी एकीकरणको बाँकी काम तत्कालै टुंगो लाग्नेसमेत बताउनुभयो । जनवर्गीय संगठनको एकीकरण जेठ ३ मै सम्पन्न गर्न आफूले अर्का अध्यक्ष केपी ओलीसँग छलफल गरिरहेको उहाँको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस